पहिलो चरणमा छयालीस खेलाडी

काठमाडौ, १९ साउन । श्रीलंकामा आगामी महिना हुने दोस्रो साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको पहिलो चरणको छनोट बिहीबार भएको छ । ४६ सदस्यीय टोलीमा १४औँ एनेसेल राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप विजेता एपिएफका १६ खेलाडी छन् । उपविजयी नेपाल पुलिस क्लबका नौ खेलाडी समावेश छन् । त्यसैगरी सेमिफाइनलमा प्रवेश गरेको नेपाल आर्मी क्लबका पाँच खेलाडी तथा कैलालीका तीन खेलाडी समावेश छन् भने बाँके, बारा, ताप्लेजुङ, मोरङ र रौतटहका दुई तथा धनुषा, कास्की र रौतहटका एक–एक खेलाडी रहेका छन् ।
पछिल्लो साग खेल तथा साफ च्याम्पियनसिपको उपविजयी टोलीका प्रभावकारी सदस्य जमुना गुरुङ, अनु लामा, प्रमिला राई, सजना राई, लक्ष्मी पौडेल, तुलसा सिंह र भगवती थापा टोलीमा यथावत् रहेका छन् । पछिल्लो समय सानदार फर्ममा रहेकी पुलिस क्लबकी फरवार्ड निरु थापा र चन्द्रा भण्डारी पनि टोलीमा परेका छन् ।
यसपटक अन्तिम टोलीमा समावेश भए जमुना र चन्द्राको अन्तर्राष्ट्रिय खेलयात्रा १४औँ वर्षमा प्रवेश गर्नेछ । मोरङकी जमुना र कैलालीकी चन्द्रा एक दशकअगाडिका नेपाली फुटबलका परिचित फरवार्ड हुन् । दुवै गोडाले खेल्ने खुवी र छरितोपनका कारण पछिल्लो समयमा चन्द्रा नेपाली महिला फुटबलरमध्ये सबैभन्दा लोकप्रिय थिइन् ।
पछिल्लो समय रौतहटकी अनु लामा र जमुना एपिएफको जोडी बनेर नेपाली फुटबलमा उदाउँदा घरेलु फुटबलमा चन्द्रा छायामा परेकी थिइन् । ढाका सागको समयमा प्रशिक्षक ध्रुव केसीले जमुना र अनुलाई फरवार्डको रूपमा तथा चन्द्रालाई बायाँ रक्षकको रूपमा खेलाउने निर्णय गरेका थिए । उनले प्रशिक्षक केसीले विश्वासका साथ सुम्पिएको नयाँ जिम्मेवारीलाई सार्थक तुल्याउँदै आएकी छन् । नेपाल पुलिस क्लबको कप्तानको रूपमा रहेकी चन्द्रा घरेलु फुटबलमा फरवार्डकै रूपमा खेल्ने गर्छिन् । उनको नेतृत्वमा पुलिस क्लब दुईपटक राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरिसकेको छ ।
पछिल्लो राष्ट्रिय च्याम्पियनसिपमा १४ गोल गरेकी उनी उत्कृष्ट फरवार्ड घोषित भएकी थिइन् । यसबीचमा जमुनाले साग खेल र साफ च्याम्पियनसिपमा गोलको वर्षा गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने नेपाली महिला फुटबलरको रूपमा कीर्तिमान कायम गर्न सफल भएकी छन् ।
छनोटको आधार १४औँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप भनिए पनि यो नै अन्तिम आधार भने देखिँदैन । साइनिङ सन फुटबल एकडेमीको स्थापनाका कारण राष्ट्रिय फुटबलमा छाएका च्याम्पियनसिपमा उदाएको कैलालीका तीन खेलाडी मात्र ४६ जनामा अटाएका छन् । कैलाली सेमिफाइनल पुग्ने एक्लो गैरविभागीय टोली हो ।

प्रतिक्रिया