अनारमा अत्मनिर्भर बनाउने घोषणा


काठमाडौं, १९ साउन । नेपाल अनार संघले अनार खेतीलाई व्यावसायिकीकरण गर्दै गाउँ–गाउँसम्म पुर्‍याएर नेपाललाई अनारको उत्पादनमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । विदेशी अनारमा नेपाली उपभोक्ता निर्भर हुनुपरेको अवस्था लज्जास्पद भएको भन्दै संघले अनार खेतीलाई अभियानका रूपमा सञ्चालन गरेर स्वदेशकै अनारबाट आत्मनिर्भर बनाई अनार खेतीलाई व्यपकता दिने जनाएको छ ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा संघले अनार खेतीका लागि राज्यले स्पष्ट नीति बनाई १० देखि ५० लाख रुपियाँसम्म निब्र्याजी ऋण उपलब्ध गराए आगामी १० वर्षभित्र आत्मनिर्भर बनाई छिमेकी देशलगायत युरोपसम्म अनारको बजार विस्तार गर्न विस्तृत अध्ययन गरेर निकासीसमेत गर्नसक्ने दाबी गर्‍यो ।
नेपाल अनार संघका अध्यक्ष हीरालाल आचार्य (अनार बाजे) ले आफू नेपाललाई अनार खेतीको देशका रूपमा परिचित गराउने अभियानमा लागेको बताउँदै सरकारले सहयोग गरे यो लक्ष्य पूरा गर्न धेरै समय नलाग्ने दाबी गरे ।
अनार बाजेले भने– नेपालमा अनार खेती सम्भावानायुक्त नगदे बाली भएकाले यसको प्रवद्र्धनमा सरकारले सहयोग गर्नुपर्छ । सरकारले अनार खेती गर्ने किसानलाई तीन वर्षसम्म कृषि विकास बैंकमार्फत निब्र्याजी सहुलियत ऋण उपलब्ध गराए यो लक्ष्य पूरा हुन्छ ।
उनले अनार खेती गर्न इच्छुक कृषकलाई प्रविधिक ज्ञान सीप तथा उन्नत जातका बिउविजन उत्पादन र प्राविधिक सीप प्रदान गर्न संघ तयार रहेको स्पष्ट पारे । उनले अनार खेतीसँगै साहयक बालीका रूपमा तरकारी खेती मसलाजन्य वनस्पती खेती पनि गर्न सकिने भएकाले यसबाट किसानले दोहोरो आम्दामी गर्नसक्ने बताए ।
हाल नेपालको रामेछाप, दोलखा, सिन्धुपाल्चोक, इलाम, कास्की र धादिङमा अनारको व्यावसायिक खेती सुरु गरिएको छ । नेपालमा अहिले विशेष गरी भारत, पाकिस्तान अफगानिस्तान र खाडी मुलुकबाट अनार आयात हुने गरेको छ । (सुशिल अधिकारी/प्रशिक्षार्थी)

प्रतिक्रिया