सुत्केरीले भत्ता पाएनन्

बाजुरा, १९ साउन । ब्रह्मतोलाका सुत्केरीले भत्ता नपाएको बताएका छन् । ब्रह्मतोला स्वास्थ्य चौकीमा सुत्केरी गराएबापत पाइने भत्ता नपाएको उनीहरूले बताए । सुत्केरीको भत्ता स्वास्थ्यकर्मीले नै हिनामिना गरेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले मंसिर महिनामा ८७ हजार पाँच सय रुपियाँ निकासा दिए पनि स्वास्थ्य संस्थाले सुत्केरीलाई भत्ता दिएको छैन । सुत्केरीका लागि आएको भत्तामा अनियमितता भएको स्वास्थ्य चौकीका इन्चार्ज सुधा हमालले बताइन् ।
स्वास्थ्य संस्थामा ३३ महिलाले प्रसूती सेवा लिएका छन् । तीमध्ये २१ लाई मात्र सुत्केरी भत्ता दिइएको छ । १२ जनालाई दिन बाँकी रहेको इन्चार्ज सुधा हमालले बताइन् । १२ जनाको रकम निकासाका लागि बैंकमा जाँदा रकम सकिएको पाइएपछि अनियमितताको रहस्य खुलेको हमालले बताइन् । २१ जनालाई दुई हजार पाँच सय रुपियाँका दरले दिएको भए पनि ५२ हजार पाँच सय रुपियाँ वितरण गरेको पाइन्छ । सुत्केरी भत्तामा ३५ हजार रुपियाँ अनियमितता भएको छ ।

 

प्रतिक्रिया