उपभोक्ता ठग्दै व्यापारी

चितवन, १९ साउन । नारायणगढ–मुग्लिङ सडकखण्ड आसपासका होटल व्यवसायी, होलसेल तथा किराना पसलका व्यापारीले नापतौल तथा खाद्यवस्तुमा कम तौलको ढकतराजु राखेर ठगी गरिरहेका छन् ।

मुग्लिङ बजारमा दर्ता नै नगरी सञ्चालनमा रहेका होटलले नापतौल प्रमाणपत्र नलिइकन ढक तराजु प्रयोग गरिएको अनुगमनमा पाइएको हो । उनीहरूले म्याद नाघेका सामान पनि बेचिरहेको पाइएको छ । होटल तथा पसलमा फोहोर भेटिएको, म्याद सकिएका सामान बिक्री गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाले बताए ।
अनुगमनका क्रममा मुग्लिङ बजारस्थित भागिरथ होटलले जेरीमा अखाद्य पदार्थ प्रयोग गरेको, स्टोर दुर्गन्धित भएको र मूल्यसूची नराखेर कारोबार गरेको पाइएको हो । यस्तै, सोही ठाउँमा टेकबहादुर गुरुङले सञ्चालन गरेको प्रकाश किराना पसलसँग नापतौलको कागजपत्र नभएको ढकतराजु प्रयोग गरेको र तराजुमा घटबढ रहेको तथा सात महिनाअघि म्याद सकिएको भुजा बिक्री भएको पाइएको थियो । श्रीकृष्ण दालमोठ उद्योगले उत्पादन गरेको भुजिया किराना पसलले बिक्री गरिरहेको थियो ।
मुग्लिङमै सञ्चालनमा रहेको आमा होटल, दारेचोक–४ स्थित पुनदेव गल्ला किराना स्टोर्स, रामनगरस्थित पूजा होटल र सञ्जय एन्ड विजय प्रोभिजनल स्टोर्समा पनि म्याद नाघेको खाद्यसामग्री बिक्री भइरहेको अनुगमनका क्रममा भेटिएको थियो ।
उपभोक्ता हितविरीत सञ्चालनमा रहेका होटल बन्द गर्नुका साथै तीनवटा पसलको ढकतराजु अनुगमन टोलीले जफत गरेको थियो । टोलीले बन्द गरिएको होटललाई सात दिनभित्र कार्यालयबाट दर्ता लिन म्याद दिएको छ ।

प्रतिक्रिया