अस्पताल परिसरमै धामीद्वारा उपचार

इलाम, १९ साउन । दरबन्दीका डाक्टरले अस्पतालमा पाइला नटेकेपछि जिल्ला अस्पताल इलाममा बिहीबार धामीले बिरामीको उपचार गरेका छन् ।

अस्पतालमा आएका बिरामीको सामान्य उपचारसमेत गराउन अन्य अस्पतालसम्म लैजानुपर्ने बाध्यता भएपछि स्थानीय युवाले स्वत:स्फूर्तरूपमा विरोधस्वरूप अस्पतालमा धामीद्वारा उपचार गराएका हुन् ।
हातमा ढयाङ्ग्रोलगायत सामासर्दामसहित घाँटीमा स्टेथेस्कोप भिरेका धामीले अस्पतालको मूलगेटमै झारफुक विधिबाट बिरामीको उपचार गरेका थिए । विरोधस्वरूप गरिएको उपचारमा चंखबहादुर शिवाले डाक्टरको भूमिका निर्वाह गर्दै बिरामीको उपचार गरेका हुन् ।
स्थानीय युवासमूहले आयोजना गरेको सांकेतिक विरोध कार्यक्रममा नगर तथा आसपासका सर्वसाधारणको भिड लागेको थियो । धामीले दुई घन्टा लगाएर ५० भन्दा बढी बिरामीको झारफुक गरेका थिए ।
प्रसूतिलगायत संवेदनशील अवस्थाका बिरामीले उपचार सेवा लिन धरानसम्म पुग्नुपर्ने बाध्यता हट्ने छाँट नदेखिएपछि अस्पतालमा तत्काल डाक्टरको माग गर्दै अस्पताल विकास समितिलाई दबाब दिन यस्तो कार्यक्रमको आयोजना गरिएको स्थानीय सुदीप श्रेष्ठले बताए ।
अस्पताल विकास समितिका अध्यक्ष नरेन्द्र भट्टराईले अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउन मन्त्रालय र स्वास्थ्य सेवा विभागमा पहल भइरहेको बताए । डाक्टर तारानाथ पोखरेल सरुवा भएर काठमाडौं गएपछि चार महिनादेखि अस्पतालमा विशेषज्ञ डाक्टर आएका छैनन् ।

प्रतिक्रिया