कांग्रेसबाट प्रधानमन्त्रीको उमेदवार कोइराला

काठमाडौं, १८ साउन । कांग्रेसका जिल्ला सभापतिहरुले अब बन्ने सहमतीय सरकारको नेतृत्व सभापति सुशील कोइरालाले गर्ने दाबी गरेका छन् । उनीहरुले कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउदा पार्टीमा विवाद नहुने समेत बताए ।
राजधानीमा आज आयोजित साक्षात्कारमा नुवाकोट सभापति जगदीश्वर नरसिह केसीले पार्टी कसैको अंश बण्डाको विषय नभएको बताए । उनले सभापति कोइरालाले गरेको निर्णयलाई सबैले मान्नु पर्ने उल्लेख गरे ।
उनले सभापति कोइरालाले गरेको विभाग गठन विधानसम्मत भएको भन्दै त्यसमा चित्त नबुझ्नेले पद छाड्दा कुनै असर नपर्ने बताए ।
काठमाडौं सभापति भीमसेनदास प्रधानले संसद समेत नरहेको अवस्थामा पार्टीले प्रधानमन्त्रीको उम्मेदवार कोइरालालाई बनाउने बताए । उनले भने, ‘सहमतीय सरकारको नेतृत्व गर्ने सर्वोत्कृष्ट व्यक्ति कोइराला नै हुनु हुन्छ ।’
गुल्मी कांग्रेसका सभापति चन्द्र केसीले पनि कोइरालले चाहेकै व्यक्ति पार्टीका तर्फबाट भावी सरकारको प्रधानमन्त्री बन्ने बताए । उनले आगामी १० दिनभित्रमा कांग्रेसले प्रधानमन्त्रीको उमेदवार तय गरेर सार्वजनिक गर्ने दावी गरे ।
दोलखा कांग्रेसका सभापति ताराबहादुर कोइरालाले पार्टीमा शीर्ष नेताहरु सर्वोत्कृष्ट उमेदवार रहेको बताए । उनले सभापतिले ईच्छा नगरे रामचन्द्र पौडेल र शेरबहादुर देउवा मध्येबाट एक जना प्रधानमन्त्रीको उमदेवार बन्ने बताए ।
सप्तरी कांग्रेसका सभापति दिनेशकुमार यादवले कांग्रेसमा सामूहिक नेतृत्व गर्ने पद्धति अनुसार तीन जना नेताले नेतृत्व लिएकाले उनीहरु मध्येबाटै भावी प्रधानमन्त्री बन्ने बताए ।
रामेछाप कांग्रेसका सभापति रामचन्द्र खड्काले नेतृत्वले आफूहरुलाई भावी प्रधानमन्त्रीका विषयमा विवाद गर्न नहुने बताए ।
काभ्रे कांग्रेसका सभापति शिवप्रसाद हुमागाईले नेतृत्वले आदेश दिए २४ घण्टा भित्रमा मुलुक ठप्प पार्ने गरेर कामचलाउ सरकारका प्रधानमन्त्री विरुद्ध आन्दोलन सृजना गर्ने बताए ।

प्रतिक्रिया