आइसिसी डिभिजन फोर टोली घोषणा

काठमाडौं, १८ साउन । आसन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) वल्र्ड क्रिकेट लिग डिभिजन फोरका लागि नेपालले बुधबार राष्ट्रिय टोली घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट घोषणा गरिएको अन्तिम १४ सदस्यीय राष्ट्रिय टोलीमा महेश क्षत्रीले स्थान बनाउन सकेनन् । विनोद भण्डारी, सागर पुन र यज्ञमान कुमाल वैकल्पिक सदस्यमा राखिएका अन्य खेलाडी रहे ।
पारस खड्कालाई कप्तानमा निरन्तरता दिइएको टोलीमा ज्ञानेन्द्र मल्ललाई उपकप्तानको जिम्मेवारी दिइएको छ । राष्ट्रिय टोलीमा स्थान बनाउने अन्य खेलाडीमा शरद भेषवाकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, सन्जम रेग्मी, राहुल विक, प्रदीप ऐरी, अनिल मण्डल, पृथु बाँस्कोटा, चन्द्र सावद, विनोद दास र सुवास खकुरेल रहे ।
१ देखि १० सेप्टेम्बरसम्म मलेसियामा सञ्चालन हुने उक्त प्रतियोगिता सन् २०१५ को आइसिसी एकदिवसीय विश्वकपको छनोटका रूपमा रहेको छ । नेपालले घरेलु टोली मलेसिया, तान्जानिया, डेनमार्क, सिंगापुर र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । दुई वर्षअघि इटालीमा आयोजित डिभिजन फोरमा तेस्रो हुँदै नेपाल अघिल्लो डिभिजन प्रवेश गर्न असफल भएको थियो भने डिभिजन घटुवा हुनबाट सुरक्षित भएको थियो ।
सन् २०१० को अगस्टमा सम्पन्न डिभिजन फोर खेलेयता विकेटकिपर महेशलाई टोलीमा राखिएको छैन । खासगरी यु–१९ का सुवास खकुरेलको उपस्थितिपछि नेपालगन्जका महेशको राष्ट्रिय टोलीमा स्थान कठिन बन्दै आएको छ । गत आइसिसी
टि–२० विश्वकप छनोटमा नराखिएका सुभाषले भने सिनियर टोलीमा पुनरागमन गरे ।
त्यसैगरी, सुभाष जसरी नै राहुलकुमार विश्वकर्मा पनि सिनियर टोलीमा फर्किए । गत वर्ष नेपालमा आयोजित एसिसी टी–२० प्रतियोगिता खेलेयता यी दुवैले सिनियर टोलीमा स्थान बनाउन सकेका थिएनन् । विनोद भण्डारीले भने लगातार दोस्रोपटक टोलीमा ठाउँ बनाएनन् । उनले अन्तिमपटक एसिसी टी–२० प्रतियोगिता खेलेका थिए । उक्त प्रतियोगितामा स्थान नबनाए पनि गत आइसिसी टी–२० विश्वकप छनोटमा खेलेका शक्ति भने निराश बन्नुपरेन । नेपाली टोलीमा पाँचजना नियमित स्पिनर राखिएको छ । यसअघि राहुल र शक्तिलाई एकअर्काको विकल्पका रूपमा राखिने गरिएको थियो । एक्कासि बन्द प्रशिक्षणमा बोलाइएका कुमालबारे भने थप अप्रत्याशित निर्णय भएन ।

प्रतिक्रिया