मनमाया र बेलबारी, झापा एघार र मिसन युनाइटेड फाइनलमा

ताप्लेजुङ, १८ साउन । ताप्लेजुङमा जारी कञ्चनजंघा च्यालेन्ज रनिङकप फुटबल प्रतियोगितामा पुरुषतर्फ मनमाया स्पोर्टिङ क्लब थुकिमा र बेलबारी स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेका छन् ।
द राइजिङ स्पोर्टिङ क्लब धरानसँगको पहिलो सेमिफाइनलमा
१–० गोलको झिनो गोलअन्तरले पाखा लगाउँदै मनमाया फाइनलमा प्रवेश गरेको हो । विजयी टिमका लागि दिलेन लिम्बुले ३२आँै मिनेटमा हेडिङमार्फत गरेको गोल नै निर्णायक गोल बन्यो ।
निर्धारित र थपिएको समयमा गोलरहित बराबरी खेलेका श्रीबक्स गुल्म ताप्लेजुङ र बेलबारी फुटबल क्लब मोरङले फाइनलको यात्रा जीवितै राख्न अन्तत: टाइब्रेकरलाई कुर्नुपर्‍यो । टाइब्रेकरमा बेलबारीका विक्रम धिमाल, विशाल तामाङ र राजु लिम्बु तीनैजनाले प्रहार गरेको गोलले जाली चुम्न सफल भयो भने श्रीबक्स गुल्मका लागि रोशन राई, विमल तामाङ र गोकुल राईको गोल गर्ने प्रयास निरर्थक बन्यो । बेलबारीले बिहीबार मनमायाको सामना गर्नेछ ।
महिलातर्फ झापा–११ फाइनलमा प्रवेश गरेको छ । स्वीकृति स्पोर्टिङ क्लब झापा–११ ले ताप्लेजुङको जिमीपोखरी स्र्पोटिङ क्लब फुङलिङलाई ७–० गोलको फराकिलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । विजेताले मिसन युनाइटेड युवा क्लब फुरुम्बुसँग बिहीबार खेल्नेछ ।
सदरमुकाम फुङलिङको भानुजन उच्च माविको खेलमैदानमा भएको खेलमा झापा–११ को तर्फबाट खेलको सातौँ मिनेटमा लक्ष्मी मगरले खाता खोलेकी थिइन् । त्यस्तै ११आँै मिनेटमा सुनिता काम्वाङ र २०आँै मिनेटमा संगीता मगरले अर्को गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफको ४ मिनेटमा झापाका सुनिता काम्वाङले थप १ गोल गरिन् भने ६ मिनेटमा कृष्णा राईले अर्को गोल थपिन् । खेल अवधिभर आफ्नो दबाब कायम राखेको झापाले दोस्रो हाफको ११औँ र २४औँ मिनेटमा क्रमश: संगीता मगर र मनमाया लिम्बुको एक–एक गोलको सहायताले फाइनलको यात्रा सुनिश्चित गर्‍यो । प्रतियोगिताअन्तर्गत बिहीबार उपाधि भिडन्त हुनेछ ।
लाखेजात्राको अवसरमा जारी प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद ५० हजार रुपियाँसहित रनिङकप, मेडल र प्रमाणपत्र पाउनेछ भने द्वितीय हुनेले नगद ३० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै महिलातर्फको विजेताले नगद २५ हजार रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पार्नेछ भने द्वितीयले नगद १५ हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया