नेसनल गणेशमान स्मृति बास्केटबल च्याम्पियन

काठमाडौं, १८  साउन । नेसनल क्याम्पसले प्रथम वीर गणेशमान स्मृति अन्तरकलेज (प्लस २) बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा नेसनलले गोल्डेनगेट इन्टरनेसनल कलेजको ‘ए’ टिमलाई ६४–४७ ले पराजित गर्‍यो । नेसनल प्रतियोगिताभर अपराजित रहयो । नेसनलको जितमा शाश्वतविक्रम सिंहले १६ अंक योगदान गरे । गोल्डेनगेटका अजय नेपालीले सर्वाधिक २३ अंक जोडे पनि त्यो जितका लागि पर्याप्त भएन ।
पहिलो क्वार्टरमा १२–६ को अग्रता लिएको नेसनलले अन्तिमसम्म त्यसलाई कायमै राख्यो । नेसनलले दोस्रोमा
९–८, तेस्रोमा १९–११ तथा चौथोमा २४–२२ स्कोर गर्‍यो । उपाधिसँगै नेसनलले २० हजार रुपियाँ नगद पुरस्कार हात पार्‍यो । उपविजेतामा सीमित गोल्डेनगेटले १० हजार रुपियाँ नगद पुरस्कारमा चित्त बुझायो ।
नेपाल विद्यार्थी संघ, काठमाडौं जिल्ला क्षेत्र नं. ४ द्वारा आयोजित प्रतियोगितामा नेसनलका छिरिङ शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । त्यसबापत उनले ५ हजार रुपियाँ नगद पुरस्कार पाए । युनाइटेड एकेडेमी अनुशासित टिम ठहरियो ।
विसं ०४६ सालको आन्दोलनका कमान्डर गणेशमान सिंहको स्मृतिमा आयोजित १३ दिने प्रतियोगितामा गोल्डेनगेटका २ सहित जम्मा २४ टिम सहभागी थिए । विजेतालाई नेपाली कांग्रेसका महामन्त्री एवं स्व.गणेशमानका छोरा प्रकाशमान सिंह, युवा नेता गगन थापालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । प्रतियोगितामा छात्रतर्फ मात्र प्रतिस्पर्धा भएको थियो ।
उक्त अवसरमा वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार तथा राखेपमा लामो समयसम्म कार्यरत सानुकाजी महर्जनलाई दोसल्ला ओढाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया