खेल हार्न प्रयास गरेपछि निष्कासन

लन्डन, १८ साउन । आफूले इच्छाएको ड्र पार्न हार्न प्रयास गरेको भन्दै जारी लन्डन ओलम्पिक खेलकुदको ब्याडमिन्टनतर्फ महिला युगलमा चीनको साविक विजेता जोडीसहित तीन देशका आठ खेलाडीलाई निष्कासन गरिएको छ । निष्कासन हुनेमा दक्षिण कोरियाका दुई जोडी र इन्डोनेसियाका एक जोडी छन् ।
विश्व ब्याडमिन्टन महासंघले खेल जित्न मनदेखि नखेलेको भन्दै ती सबै चार जोडीलाई प्रतियोगिताबाटै निष्कासन गरेको हो । आरोपलगत्तै अनुसन्धान गर्ने जिम्मा पाएको महासंघले ती चारै जोडी खेलाडी र तिनका अफिसियलसँग कुरा गरेर यस्तो निर्णय लिएको हो । छानबिनअघि आरोपित खेलाडीलाई कुनै कारबाही गरिएको थिएन । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) ले ब्याडमिन्टन महासंघ यस विषयमा जानकार रहेकाले उसको निर्णय नै अन्तिम हुने बताएको थियो ।
फाइनलमा आफ्ना दुवै टोली पुर्‍याउन ‘हारिदिएको’ अभियोगमा शीर्ष वरीयताप्राप्त चिनियाँ शीर्ष ब्याडमिन्टन खेलाडी विवादमा तानिएका थिए ।
‘हामीलाई पूर्ण विश्वास छ, ब्याडमिन्टन महासंघले आवश्यक कदम चाल्नेछ,’ आइओसी प्रवक्ता मार्क एडम्सले भने, ‘उनीहरूसँग यस विषयमा राम्रो अनुभव छ ।’
विवाद त्यतिबेला सुरु भयो जतिबेला दक्षिण कोरिया र चीनबीचको खेलमा दुवै टोलीले हार्ने प्रयास गरेका थिए । साविक विजेता तथा शीर्ष वरीयताप्राप्त चिनियाँ जोडी वाङ जिआवली र यु याङको जोडी तथा दक्षिण कोरियाली जङ–क्युन इउन र किम हा नाबीच प्रतिस्पर्धा भइरहेको थियो । दुवै टोलीले सामान्यभन्दा सामान्य गल्ती गरे । यस भिडन्तअघि नै दुवै टोलीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए ।
तर दक्षिण कोरियाविरुद्ध हार व्यहोरे चिनियाँ वाङ जिआवली र यु याङको जोडीले दोस्रो वरीयताप्राप्त आफ्नै देशको जोडीसँग फाइनलअघि भेट नगर्ने निश्चित हुने थियो । यता दक्षिण कोरियाले पनि हारको स्थितिमा आफ्नै देशको बलियो जोडीसँग सम्भावित भिडन्त टार्ने स्थिति थियो । तर यस दौडमा चिनियाँ जोडी सफल भयो र उक्त खेल दक्षिण कोरियाली जोडीले २१–१४ र २१–११ ले गुमायो ।
अपेक्षा नै नगरिएको गल्ती लगातार भएपछि उक्त खेलमा दर्शकले होहल्ला र विरोध गरेका थिए । रेफ्रीले समेत चारैजना खेलाडीसँग कुरा गरेर उनीहरूलाई चेतावनी दिएका थिए । यसमा मात्र होइन अर्को एक खेलमा पनि इन्डोनेसियाको जोडी र दक्षिण कोरियाको जोडीबीचको खेलमा यस्तै स्थिति देखिएको थियो ।
‘यदि चीनले आफ्नो सही खेल खेलेको थियो भने यस्तो हुने थिएन,’ दक्षिण कोरियाली जोडीका प्रशिक्षक सुङ हान कुकले भने, ‘हामीेले पनि चीनले जस्तै गर्‍यौँ, ‘किनभने हामी पनि कोरियाजस्तो बलियो जोडीविरुद्ध भिडन्त टार्न चाहन्थ्यौँ ।’ चीनले नराम्रो खेलेको भन्दै दक्षिण कोरियाले प्रोटेस्ट हालेको थियो । ‘विश्वको नम्बर–१ टोलीे कसरी यस्तो खेल्छ ? उनीहरूले गल्ती खेल्न सुरुआत गरे जुन ओलम्पिक स्पिरिटभन्दा बाहिरको विषय हो,’ कुकले भने ।
अस्ट्रेलियन प्रशिक्षक लास बन्डगार्डले ग्रुप फम्र्याटका कारण विवाद आएको भन्दै यसविरुद्ध प्रोटेस्ट हालेका छन् । ‘यदि हारेर पदक जितिन्छ भने त्यस्तो स्थिति किन सृजना गर्ने ?’ ग्रुप फम्र्याटको विरोध जनाउँदै वन्डगार्डले भने । बेइजिङ ओलम्पिकका रजतपदक विजेता गैल एम्सले आफू उक्त खेल हेर्दा छक्क परेको बताए । ‘साँच्ची भन्ने हो भने म त आश्चर्यमा परेँ,’ एम्सले भने, ‘दर्शकहरू बन्द गर… बन्द गर… भन्दै चिच्याइरहेका थिए ।’

प्रतिक्रिया