लन्डन : बेलायतस्थित म्यान्चेस्टर विश्वविद्यालयमा पिएचडी अध्ययन गर्दै गरेकी अबिर हेल्मीको दिनचर्या प्राचीन इजिप्टका ममीसम्बन्धी अध्ययन गर्दैमा बित्ने गरेको छ । बेलायतको राजधानी लन्डनमा रहेको ‘ब्रिटिस म्युजियम’ले अनुसन्धानका लागि अबिरलाई तीन हजार वर्ष पुरानो ममी उपलब्ध गराएपछि उनको उत्साह थपिएको छ ।
म्युजियमले उनलाई सातवटा ममीमाथि अनुसन्धान गर्ने अनुमति दिएको हो । म्युजियमका निरीक्षकले अनुसन्धानका लागि दुर्लभ मानिएका ती ममीलाई नजिकैबाट अध्ययन गर्न मात्रै नभई अस्पतालमा लगेर ममीको सिटी स्क्यान गर्नसमेत दिएको छ । म्युजियमबाट दुई सय माइल पर रहेको अस्पतालमा ममीको सिटी स्क्यान गरिएको छ । ममीको बाहिरी आवरणमा कुनै दखल नपुग्नेगरी अध्ययन कार्य भइरहेको छ । सिटी स्क्यान गरिएका ममी १२ देखि ५५ वर्ष हारहारीका व्यक्तिको रहेको जनाइएको छ । म्युजियमका कर्मचारीको कडा निगरानीमा ममीलाई अस्पतालसम्म पुर्याइएको थियो । ४२ वर्षीया अनुसन्धानकर्ता अबिरले यसअघि कायरो म्युजियममा काम गरेकी थिइन् । ममी तयार हुँदाताकाको थप जानकारी पाउन आफूले अनुसन्धान सुरु गरेको
उनले बताइन् ।
प्राचीन इजिप्टमा मृतशरीरलाई युगौँसम्म जोगाएर राख्न यसलाई ममीमा परिणत गरिन्थ्यो । शवबाट अंग झिकी यसलाई सुकाएर शरीरमा अन्य सामग्री भरेर यसलाई ममीमा परिणत गरिन्थ्यो । यस्ता कैयौँ ममी अहिलेसम्म बेलायतलगायत
विश्वका विभिन्न संग्रहालयमा सुरक्षित छन् । (डेलिमेल)
प्रतिक्रिया