गल्तीका बाबजुद फेल्प्सको कीर्तिमान

लन्डन : विश्व कीर्तिमानधारी पौडीवाज माइकल फेल्प्सले अन्तिम स्ट्रोकमा ‘ब्लन्डर’ गरेपछि उनी आफ्नो सबैभन्दा महत्त्वपूर्ण स्पर्धा २ सय मिटर बटरफ्लाइमा लन्डन ओलम्पिकमा स्वर्णपदक जित्न असफल भएका छन् । सुरुदेखि अग्रता कायम गरेका फेल्प्सले फिनिसिङ स्ट्रोकमा गल्ती गरेपछि दक्षिण अफ्रिकी पौडीवाज चाड डेकोसले स्वर्णपदक जिते । फेल्प्सभन्दा पछि रहेका जापानका ताकेसु माकुदाले कांस्यपदक जिते । स्वर्ण गुम्नुका बाबजुद फेल्प्स ओलम्पिकमा १९ पदक जित्ने खेलाडी बनेका छन् । उनीसहितको अमेरिकी टोलीले मंगबलार राति भएको चारगुणा २ सय फ्रिस्टाइल रिलेमा स्वर्ण जित्यो । चारगुणा एक सय मिटर फ्रिस्टाइल तथा व्यक्तिगत दुई सय मिटरमा कमजोर रहेका र्‍यान लोक्टले अमेरिकालाई फराकिलो अग्रता दिलाएका थिए । यसअघि रुसकी जिम्न्यास्ट लारिसा लात्यानिनाले ओलम्पिकमा १८ पदक जित्दै कीर्तिमान कायम गरेकी थिइन् ।
चारगुणा २ सय मिटर फ्रिस्टाइलमा फ्रान्स दोस्रो तथा चीन तेस्रो भए । महिला २ सय मिटर फ्रिस्टाइलमा अमेरिकी खेलाडी एलिसन स्मिटले स्वर्णपदक जितिन् । ४ सय मिटर फ्रिस्टाइलकी स्वर्णविजेता फ्रान्सकी क्यामेली मुफाट दोस्रो भइन् । अस्ट्रेलियाकी ब्रुनजाट बोनाटले कांस्यपदक जितिन् । महिलाकै २ सय मिटर मेड्लेमा चीनकी ये सुयानले स्वर्ण जितिन् । उनले ४ सय मिटर मेड्लेमा पनि स्वर्ण जितेकी थिइन् । उक्त स्पर्धामा अस्ट्रेलियाकी एलिसिया काउटले रजत तथा अमरिकाकी काट्रिन लेभरेन्जले कांस्यपदक जितिन् । (रोयटर्स)

प्रतिक्रिया