काठमाडौं, १८ साउन । मुख्यसचिव नियुक्तिको विषयमा विवाद नझिक्न चेतावनी दिने उद्देश्यले सचिवहरूलाई डाकेका प्रधानमन्त्रीले उल्टै सचिवहरूबाट खप्की खानुपरेको छ । पद्धति तोडेर मुख्यसचिवको नियुक्ति भएको विषयमा सचिवहरूले प्रधानमन्त्रीसित कडा आक्रोश पोखेका छन् ।
‘सचिवहरूको नियुक्ति नै पद्धतिबाहिरबाट गरिने मुलुकमा मुख्यसचिवको नियुक्ति गलत तरिकाबाट भयो भनेर कराउनुको के अर्थ ?’ बुधबार प्रधानमन्त्रीले सचिवहरूसँग गरेको सामूहिक छलफलमा सामान्य प्रशासन मन्त्रालयका सचिव धरणिधर खतिवडाले कड्किँदै भने । ‘तलबाटै मर्यादा र ज्येष्ठताविपरीत काम हँुदै आएको
भन्दै उनले माथि पुगेपछि मर्यादाअनुसार काम नहुनु स्वाभाविकै भएको बताए । के अहिले मुलुकमा कानुन र पद्धतिअनुसारको काम भएको छ ? भन्दै उनले प्रधानमन्त्रीसित प्रश्न तेस्र्याएका थिए ।
‘यहाँ सचिवज्यूहरू मुख्यसचिव नियुक्ति वरिष्ठताका आधारमा भएन भनेर कराउँदै आउनुभएको छ,’ सचिव खतिवडाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर वरिष्ठता र नीतिका कुरा यो मुलुकमा उहिल्यै हराइसके ।’
‘तपाईंहरूले उदाहरणका लागि मलाई नै लिँदा हुन्छ,’ खतिवडाले कड्किँदै भने, ‘सहसचिव भएको १५ वर्षपछि मात्र म सचिवमा बढुवा भएको व्यक्ति हुँ, अनि के त्यसलाई वरिष्ठताका आधारमा भन्न मिल्छ ?’ उनले थपे, ‘मभन्दा निकै जुनियर साथीहरू निकै पहिले सचिव भएका थिए, तैपनि चुप लागेर बस्नुको विकल्प रहेन ।’
सरकारको निर्देशन सर्कुलर गर्न भनेर प्रधानमन्त्रीले आयोजना गरेको सामूहिक छलफलमा खतिवडाले मात्र होइन, अन्य सचिवले पनि दिल खोलेर गुनासो पोखे । उनीहरूले नेपालको निजामती प्रशासन नियम र कानुनभन्दा पनि सरकारमा रहेका व्यक्ति र पार्टीका नेताहरूको निगाहमा चल्नुपर्ने बाध्यता रहेको बताएका थिए । ‘निजामती प्रशासनका हरेक निकायमा राजनीतीकरण भएको छ, राजनीति घुसाइएको छ,’ सचिवहरूको सामूहिक भनाइ थियो, ‘कर्मचारीतन्त्रमा माकुराको जालोजस्तै फैलिएको राजनीतिक हस्तक्षेप सधैँका लागि अन्त्य नभएसम्म निजामती कर्मचारीतन्त्रमा कुनै सुधार आउँदैन र यो काम सरकारमा रहेकै पार्टीबाट गरिनुपर्छ ।’
छलफलमा सहभागी एक सचिवका अनुसार सरकारमै रहेको पार्टीबाट हुने अनावश्यक हस्तक्षेपले पनि कर्मचारीले काम गर्न नसकेको उनीहरूले बताएका थिए । उनीहरूको सामूहिक भनाइ थियो, ‘सरकारको नेतृत्वमा रहेको व्यक्तिले पनि राजनीतिक आस्थाका आधारमा कर्मचारीको मूल्यांकन गर्न थालेपछि के हुन्छ निजामती प्रशासनको अवस्था ? सरकारको नेतृत्वमा रहेको व्यक्तिले नै कुनै पनि निर्णय पद्धतिभन्दा बाहिर गएर गर्छ भने अरूले किन गर्दैन ?’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले मुलुक सिस्टमबाट चल्नुपर्नेमा व्यक्तिबाट चलेकाले समाधान गर्न नसकिने समस्या उत्पन्न भएको बताएका थिए । ‘सिस्टमलाई बिर्सेर व्यक्तिबाट मुलुक चलाउन खोजेपछि थेग्न नसक्ने खालका समस्या आएका छन्, यसको जिम्मेवारी सरकार प्रमुखले लिनुपर्छ,’ सचिव मिश्रको भनाइ थियो । मुख्यसचिव नियुक्तिको प्रसंग उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘सरकारको नेतृत्वबाटै सिस्टमबाहिरको काम हुन थालेपछि अरूले के गर्लान्, यसबारे सोचिएको छ कि छैन ? पारदर्शी मापदण्डबाट मात्र काम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘हरेक काम अपारदर्शी ढंगबाट हुन थालेपछि कसरी मुलुक चल्छ ?’
प्रशासनमा सही पद्धति बसाले मात्र मुलुक सही रूपमा सञ्चालन हुन सक्ने सचिव मिश्रले सौर्यसँग बताए । ‘प्रधानमन्त्रीसँगको सचिवहरूको सामूहिक छलफलमा मैले यही कुरा राखेँ,’ उनले भने । प्रधानमन्त्रीले पनि आफूले भनेको कुरामा सहमति जनाएको उनले जानकारी दिए । मिश्रले भने, ‘सुरुमा प्रधानमन्त्रीज्यूले मुख्यसचिव नियुक्तिको विषयमा आºनो कुरा राखेर तपार्इंलाई मनमा लागेको कुरा कुनै डर नमानी भन्नुस् भन्नुभयो, हामीले जे भइरहेको छ त्यो भनिदियौँ ।’
वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले पनि निजामती प्रशासनभित्रकै विकृतिबारे बढी चर्चा गरेका थिए । उनले राम्रो भन्दा हाम्रोलाई बढी महत्त्व दिने गर्नाले धेरै योग्यता र क्षमतावान व्यक्तिहरू पछि परेको गुनासो पोखे । ‘यस्तै स्थिति रहिरहे हामी योग्यता र क्षमता रहे पनि मुख्यसचिव हुन कहिल्यै पाउने छैनौँ,’ उनको भनाइ थियो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव यज्ञप्रसाद गौतमले भने आफूले मन्त्रालय नपाएकामा गुनासो गरेका थिए । उनको भनाइ थियो, ‘म सचिवमा नियुक्त भएको धेरै समय भइसक्यो तर अझै मन्त्रालयको जिम्मेवारी सम्हाल्नबाट वञ्चित गरिएको छ, के यही हो त न्याय ?’
सचिवहरूको सामूहिक छलफलको प्रारम्भमा प्रधानमन्त्री भट्टराईले सरकारले उत्कृष्ट व्यक्तिलाई मुख्यसचिवमा नियुक्ति गरेको जिकिर गरेका थिए । उनले सबैको राय–सल्लाहमा मुख्यसचिव नियुक्त गरेको भन्दै त्यसमा विवाद नगर्न अन्य सचिवलाई आग्रह गरे । ‘मुख्यसचिवको प्रतिस्पर्धामा रहेका १३ जना सचिवज्यू हुनुहुन्थ्यो, त्यसमध्ये एकजनालाई मात्र मुख्यसचिव बनाउन सकिन्थ्यो,’ उनले थपे, ‘त्यसमध्ये सरकारले खोजेको सबैखाले गुण पौडेलमा पाएकाले सरकारले उहाँलाई छान्यो ।’
प्रधानमन्त्री भट्टराईले लोकसेवा आयोगका सचिव श्याम मैनालीलाई लक्ष्य गर्दै मुख्यसचिव नियुक्तिका विषयमा असन्तुष्टि जनाउन सकिने तर मिडियामा अनावश्यक प्रचारबाजी गर्नु नहुने बताएका थिए । ‘यसले तपार्इं–हाम्रो छवि नै बिगार्ने हो,’ उनले भने । अवकाश पाउन १८/२० दिन मात्र बाँकी रहेका व्यक्तिले राजीनामा दिँदा नेपालको प्रशासन क्षेत्रमा कुनै असर नपर्ने उनले दाबी गरे । ‘सबैलाई एउटै कुरा मन नपर्न सक्छ । तर, आफूलाई मन परेन भन्नेबित्तिकै मिडियाबाजी गरेर हिँड्न मिल्छ ?’ सचिवहरूलाई प्रधानमन्त्रीको प्रश्न थियो । मैनालीले मंगलबार पत्रकार सम्मेलन गरी मुख्यसचिव नियुक्तिमा सरकारबाट भएका निर्णयको कडा आलोचना गर्दै पदबार राजीनामा दिएको घोषणा गरेका थिए ।
प्रधानमन्त्री भट्टराईले मुख्यसचिव नियुक्तिका विषयमा अनावश्यक विवाद ननिकाली सरकारले अघि सारेको योजनाअनुसार चल्न सहभागी सचिवहरूलाई निर्देशन दिए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवले भने, ‘राजनीतिक अस्थिरता रहेका बेला अनावश्यक कुरा गरेर हिँड्दा निजामती प्रशासनभित्र धेरै खाले समस्या आउँछ, त्यसैले नीतिभन्दा बाहिर गएर बोल्ने र काम गर्ने नगर्नुस्, त्यसले तपाईंहरूलाई पनि हानि पुर्याउँछ ।’
‘अरूको आलोचना गर्न सजिलो हुन्छ, त्यसैले धेरै मानिस आलोचना गरेरै समय बिताउँछन्,’ प्रधानमन्त्रीले अगाडि भने, ‘यहाँ आलोचना गर्नेभन्दा पनि काम गर्नेको खाँचो छ, मैले तपार्इंहरूबाट मेरो आलोचना होइन, राम्रो कामको अपेक्षा गरेको छु ।’
सरकारले पूर्ण बजेट ल्याउन नसकेको अवस्थामा काम गर्न अप्ठ्यारो हुनु स्वाभाविकै भएको प्रधानमन्त्री भट्टराईले उल्लेख गरे । ‘थोरै बजेटलाई पनि सही रूपमा म्यानेज गर्न सकियो भने राम्रो काम गर्न सकिन्छ, तपार्इंहरू त्यता लाग्नुस्,’ उनले भने ।
प्रधानमन्त्रीसँगको छलफलमा मुख्यसचिवको दौडमा रहेका उद्योगसचिव उमाकन्त झा, राष्ट्रपति कार्यालयका वामनप्रसाद न्यौपाने तथा मुख्यसचिव नियुक्तिको विरोध गर्दै राजीनामा दिएका निर्वाचन आयोगका शंकरप्रसाद कोइराला, लोकसेवा आयोगका श्यामप्रसाद मैनाली, सञ्चारका अवनिन्द्रकुमार श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका त्रिलोचन उप्रेती, गृहका सुशील जबरा उपस्थित थिएनन् । बैठकमा प्रधानमन्त्रीको निर्देशन नोट गरिरहेका कामु मुख्यसचिव पौडेलले केही पनि बोलेनन् ।
प्रतिक्रिया