काठमाडौं, १८ साउन । लाखौँ रकम खर्च गरेर पूर्वाञ्चल विश्वविद्यालयमा पढ्ने धेरै विद्यार्थी असफल हुने गरेका छन् । प्राविधिक विषयमा समेत न्यून उत्तीर्ण मात्र होइन कि केही कलेजको त नतिजा नै शून्य रहेको पाइएको छ ।
केही दिनअघि मात्र सार्वजनिक भएको स्नातक तहको विज्ञान प्रविधि (आइटी) अध्ययन गर्ने विद्यार्थीको नतिजाले स्थिति नाजुक देखाएको छ । आइटीको दोस्रो सेमेस्टरमा नियमिततर्फ एक सय ३४ जनाले परीक्षा दिएकामा जम्मा सातजना उत्तीर्ण भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर काठमाडौं उपत्यकामा सञ्चालित पाँचवटा कलेजमध्ये ठूला कहलिएका दुइटाको नतिजा शून्य छ । आइटी विषयको दोस्रो सेमेस्टरको परीक्षामा काठमाडौंबाट दुईजना मात्र उत्तीर्ण भएका छन् । किस्ट कलेजमा आइटी पढ्ने दोस्रो सेमेस्टरका ३५ जनामध्ये दुईजना मात्र उत्तीर्ण भएका हुन् । अरू कलेजको नतिजा भने शून्य छ ।
आइटी पढाइ हुने कलेजमा कान्तिपुर सिटी कलेज (केसिसी), किस्ट, सिआइटी, पुसेट र ह्वाइटहाउस इन्टरनेसनल छन् । स्रोतका अनुसार पुसेट पूर्वाञ्चल विश्वविद्यालयको आंगिक कलेज हो । सो कलेजबाट समेत जम्मा एकजना मात्र उत्तीर्ण भएका छन् । ललितपुरस्थित ह्वाइटहाउसबाट चारजना उत्तीर्ण भएका छन् । काठमाडौंका केसिसी र सिआइटीको उत्तीर्ण संख्या शून्य छ ।
सो विश्वविद्यालयले आइटीमा बढीमा ४० जनाको कोटा तोकेको छ । दोस्रो सेमेस्टरमा नियमिततर्फ एक सय ३४ जनाले परीक्षा दिएकामा जम्मा सातजना मात्र उत्तीर्ण भएका हुन् । आंशिकतर्फ एक सय १६ जनामा जम्मा १८ जना उत्तीर्ण भएका छन् । नियमित र आंशिक गरी दुई सय ५४ जनामा जम्मा २५ विद्यार्थी उत्तीर्ण छन् । सो विश्वविद्यालयमा बिआइटी अध्ययन गर्ने विद्यार्थीको संख्या एक हजारको हाराहारीमा छ ।
विश्वविद्यालयका पदाधिकारीका अनुसार अघिल्लो वर्षभन्दा यो वर्ष नतिजा धेरै खस्कँदो अवस्थामा छ । ‘रिजल्ट धेरै खस्किएपछि यो वर्ष प्रवेश परीक्षामा कडाइ गर्ने तयारी गरेका छौँ,’ एक पदाधिकारीले भने ।
विद्यार्थीको तारो बन्दै
विभिन्न विद्यार्थी संगठनले धेरै विकृति रहेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयलाई तारो बनाउँदै आएका छन् । नेपाल विद्यार्थी संघले नौ सूत्रीय माग राखेर केन्द्रीय कार्यालयमा बुझाइसकेको छ । संघको विश्वविद्यालय समितिको विभिन्न पदमा रहेर काम गरिसकेका नितेन्द्र धितालले विश्वविद्यालयमा धेरै विकृति रहेको बताए । संघको केन्द्रीय सदस्यसमेत रहेका धितालले विश्वविद्यालयले शैक्षिक क्यालेन्डर लागू नगरेको, पुनर्योगमा गम्भीरतापूर्वक उत्तरपुस्तिका हेर्ने नगरेको लगायत धेरै लापरबाही गरेको आरोप लगाए ।
त्यसैगरी, विश्वविद्यालयले गुणस्तर सुधारभन्दा पनि सम्बन्धन बाँड्ने काम मात्र गरेको छ । ‘पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन बाँड्ने काम मात्र गरेको छ, त्यसमा पनि अधिकांश काठमाडौंकेन्द्रित छन्,’ धितालले भने । आर्थिक चलखेलका लागि पनि धेरै सम्बन्धन दिने र काठमाडौंकेन्द्रित हुने गरेको विद्यार्थी नेताहरूको आरोप छ ।
सो विश्वविद्यालयका जम्मा तीनवटा मात्र आंगिक क्याम्पस छन् । एक सय ४७ सम्बन्धनप्राप्त कलेजमध्ये एक सय १७ वटा मात्र सञ्चालनमा छन् ।
प्रतिक्रिया