अन्तरक्याम्पस चेसमा हिमाललाई अग्रता

काठमाडौं, १७ साउन । स्ववियु काउन्सिल नेपालको आयोजनामा सञ्चालन भइरहेको पुष्पलालस्मृति अन्तरक्याम्पस बुद्धिचाल प्रतियोगितामा अन्नपूर्ण उच्च माविका हिमाल लामा शीर्ष स्थानमा रहेका छन् । सातौँ चरणको समाप्तिमा हिमालले शतप्रतिशत विजय हात पारेका छन् । आठौँ चरणमा उनले टाइम्स कलेजका विवेक लामासँग खेल्ने छन् । उनले पाँचौँ खेलमा पाटन संयुक्त क्याम्पसका सजिन महर्जन, छैटौँ खेलमा महेन्द्ररत्न क्याम्पसका श्यामबाबु शाह र सातौँ खेलमा केन्द्रीय क्याम्पस कीर्तिपुरका गोविन्दप्रसाद पौडेललाई हराए । सजिनलाई रोमाञ्चक खेलमा पराजित गर्ने क्रममा हिमालले नाइट इन्डिङमा खेललाई आफ्नो पक्षमा पारेका थिए । हिमाल श्यामबाबुसँगको खेलमा भने ठूलो दबाबमा थिए । खेलको बीचमा दुई हात्तीको साटो मन्त्री खुवाउँदै अर्को एक पावरको फाइदा लिएपछि हिमालको अवस्था सुदृढ भएको थियो ।
त्यसैगरी, टाइम्स कलेजका विवेक लामा र एडभान्स इन्जिनियरिङ कलेजका सुरज कर्माचार्य ६ अंकका साथ संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् । विवेक पाँचौँ खेलमा श्यामबाबुसित हारे भने छैटौँमा शेरहाङ ओख्रबु र सातौँमा कान्तिपुर इन्जिनियरिङका सन्दीप पौडेलमाथि जित निकालेका थिए । श्यामबाबुसँगको खेलमा राम्रो अवस्थमा रहे पनि अन्त्यमा गल्ती गरेका विवेकले शेरहाङसँगको खेलमा सुरुआतमा ‘रुक एक्सचेन्ज’ खाए पनि दबाबमा थिए । पोजिसनलभन्दा ट्याक्टिकल खेलमा राम्रो मानिने यु–१९ उपविजेता विवेकले ‘बिसप’ खुवाउँदै खेललाई आफ्नो पक्षमा पारेका थिए । त्यस्तै, सुरजले तीनै खेल जित्ने क्रममा त्रिचन्द्रका विक्रमध्वज श्रेष्ठ, मकवानपुर बहुमुखी क्याम्पसका देवेन्द्र सन्जेल र शंकरदेवका डम्बर चौहानलाई पराजित गरे ।
नेपाल कमर्स क्याम्पस, मीनभवनमा सञ्चालित प्रतियोगितामा श्यामबाबु, सजिन, नेपाल ल क्याम्पसका कुन्दन मिश्र, कान्तिपुर इन्जिनियरिङ कलेजका सुसन मुनिकार र जनमैत्री क्याम्पसका रूपेश शिवाकोटीको पाँच दशमलव पाँच अंकका साथ संयुक्तरूपमा चौथो स्थानमा रहेका छन् ।
यसैगरी, पाँच अंक प्राप्त गर्नेमा त्रिविका गोविन्दप्रसाद पौडेल, नेपाल ल क्याम्पसका रत्नसुन्दर खुजू, क्याथफोर्ड कलेजका सूर्यसन प्रजापति, सिबिएम कलेजका सुशील चौधरी, केइसी कालिमाटीका क्षितिज भण्डारी र सन्दीप पौडेल, मकवानपुरका देवेन्द्र सन्जेल, आरआर क्याम्पसका शेरहाङ ओख्रबु र त्रिचन्द्रका विक्रमध्वज श्रेष्ठ रहेका छन् ।
स्विस लिग नौ चरणको खेल हुने यस प्रतियोगितामा ४६ क्याम्पस/कलेजका ९५ जना खेलाडी सहभागी थिए । जसमा विजेताले नगद १८ हजार, उपविजेताले १२ हजार तथा तेस्रो हुनेले ७ हजार रुपियाँ पाउनेछन् ।

प्रतिक्रिया