पत्नीसँगै ओछ्यानमा भेटिएपछि हत्या

वीरगन्ज, १७ साउन । पत्नीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा बारा सिसवा महेशपुर–८ का एक युवकले गाउँकै युवकको हत्या गरेका छन् । महेशपुरका लक्ष्मी सहनीले स्थानीय विनोद चौधरीलाई खुँडा प्रहार गरेर हत्या गरेका हुन् । खुँडा प्रहारबाट विनोदसँगै रहेका उमाशंकर चौधरी पनि गम्भीर घाइते भएका छन् ।

उनको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ । लक्ष्मी घरमा नभएको मौका छोपी सोमबार राति विनोद उनको घरमा गएका थिए । पत्नी चिन्तादेवीसँग शारीरिक सम्बन्ध राखिरहेकै बेला लक्ष्मी र उनका भाइ विन्देश्वरले विनोदलाई रंगेहात फेला पारेका थिए । पत्नीसँग शारीरिक सम्बन्ध राखिरहेका बेला भेटिएपछि आक्रोशित लक्ष्मी र उनका भाइ विन्देश्वरले खुँडा प्रहार गरेर विनोदको हत्या गरेका हुन् ।
प्रहरीले हत्यामा संलग्न लक्ष्मी, भाइ विन्देश्वर र पत्नी चिन्तादेवीलाई हिरासतमा लिएको छ । लक्ष्मीले पत्नीसँग दुई युवालाई राति १ बजे आपत्तिजनक अवस्थामा भेटेको बयान दिएको इन्स्पेक्टर रामनाथ घिमिरेले बताए  । चिन्तादेवीले पनि विनोदसँग चार वर्षपहिलेदेखि सम्बन्ध रहेको स्विकारेकी छन् ।
एक सातापहिले बोलबम गएका लक्ष्मी सोमबार साँझ गाउँ फर्किएका थिए । तर, उनी गाउँ फर्किएको कुरा पत्नी चिन्तादेवीले थाहा पाएकी थिएनन् । बोलबमबाट फर्किएका लक्ष्मी घर नगई गाउँकै साथीको घरमा खानपान गरेर बसेका थिए । उनी नभएको मौका छोपी चिन्तादेवीले सोमबार राति विनोदलाई फोन गरेर नै बोलाएको अनुसन्धानमा खुलेको छ । विनोद र चिन्ताबीच भएको टेलिफोन संवादसँगैको अर्को कोठामा सुतेका लक्ष्मीका भाइ विन्देश्वरले सुनेका थिए । भाउजूले परपुरुषलाई कोठामा बोलाएको थाहा पाएपछि विन्देश्वरले फोनबाट दाजु लक्ष्मीलाई बोलाएका थिए ।

प्रतिक्रिया