वर्षा र पहिरोले खाद्यान्न ढुवानी ठप्प

बाग्लुङ, १६ साउन । अविरल वर्षापछि आएको बाढीका कारण बाग्लुङको पश्चिम क्षेत्रमा खाद्यान्न ढुवानीमा कठिनाइ भएको छ ।
बाढी–पहिरोसँगै खोलामा पानीको मात्रा बढेकाले बुर्तिबाङ–वुटवल र बाग्लुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै आयातीत खाद्यान्नमा निर्भर रहेका बुर्तिबाङ र त्यस आसपासका दर्जनौँ गाविसका बासिन्दा खाद्यान्नको मारमा परेका छन् ।
सडक अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन नसक्दा स्थानीय बजारमा दैनिक उपभोग्य तरकारी, दाल, चामलजस्ता सामग्री चर्को मूल्य तिरेर खानुपर्ने बाध्यता रहेको बोगाङ दोभानका गंगाबहादुर छन्त्यालले बताए । तर, अहिले चर्को मूल्य तिरेर पनि दैनिक उपभोग्य सामग्री पाउन छोडेको स्थानीय उपभोक्ता बताउँछन् । ठाउँठाउँमा ठुल्ठूला पहिरो खसेकाले सवारी साधन सञ्चालन नभए पनि घोडा खच्चडसमेत हिँड्न नसक्ने अवस्थाले थप समस्या भएको छन्त्याल बताउँछन् । वर्षायामसँगै सडक अवरुद्ध हुने र सवारी सञ्चालन नहुने भएकाले केहीले वर्षायामका लागि आवश्यक खाद्यान्न संकलन गरे पनि अधिकांशले आर्थिक अभावका कारण जोहो गर्न नसक्दा भोकमरीको अवस्था आउनसक्ने संकेत देखिएको छ ।
जिल्लाको पश्चिम क्षेत्रको बुर्तिबाङबाहेक आसपासका अन्य गाविस खाद्यसुरक्षाका हिसाबले जोखिमपूर्ण रहेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले बताए । ‘चामल भए मात्र सुरक्षित हुने भन्ने सोच सर्वत्र हाबी छ,’ विष्टले भने, ‘त्यसैले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर उत्पादन गर्न र त्यही खाद्यान्नको रूपमा प्रयोग गर्न प्रेरित गर्ने अभियान चलाउने तयारी गरेका छौँ,’ कृषि कार्यालयका अनुसार सो क्षेत्रमा आलु, मकै, कोदो र फापर मात्र उत्पादन हुने गर्दछ । वर्षायाममा बाग्लुङ र बुटवलतर्फका दुवै सडक करिब चारमहिना अवरुद्ध हुन्छन् । असारदेखि असोज महिनाको अन्तिम सातासम्म वर्षा भइरहने भएकाले सडक मर्मत हुने सम्भावना कम रहेको यातायात व्यवसायी बताउँछन् ।

प्रतिक्रिया