एफएमहरूको जगजगी बढिनसकेको अवस्थामा रेडियो नेपालको आकर्षण अहिलेभन्दा कयौ गुणा बढी थियो अनि श्रोताहरूको आकर्षणकी केन्द्र थिइन्, लक्ष्मी भुसाल । बहुप्रसिद्ध कृषि कार्यक्रममा ‘बूढीआमै’ को भूमिकामार्फत क्रेज बटुलेकी लक्ष्मी करिब आधा दशक छेउछाउको रेडियो यात्रामा अझै पनि थाकेकी छैनन् । आज उनै लक्ष्मी रेडियो यात्राका प्रारम्भिक दिन, पारिवारिक चुनौती, भोग्नुपरेका समस्या र अनुभूतिहरू सौर्यसाग बाड्दै छिन् :
रेडियोमा बोल्न थालेको ४६ वर्ष पुगेछ अनि यसकै कारण घरबाट निकाला गरिएको क्षण अझै ताजा छ हृदयमा । जति बेला म बालखै थिएँ । सम्झन्छु, २०२३ साल भदौको त्यो झिसमिसे साँझ । झमझम पानी परिरहेको थियो । रेडियो नेपालको कृषि कार्यक्रममा आवाज दिएर फर्कंदै थिएँ । पूरै देशलाई आफ्नो आवाज सुनाउन पाउँदाको खुसी बा–आमा र परिवारका अन्य सदस्यलाई बाँड्न हतारिँदै आँगनमा पाइलो मात्र के टेकेकी थिएँ, नसोचेको वज्रपात मलाई हान्न ठिक्क परेर बसिरहेको रहेछ । परिवारले मलाई सामूहिक रूपमा बहिष्कार गर्ने तयारी गरेको रहेछ । त्यसपछि कहिल्यै घर छिर्न नपाएकी म आज ६१ वर्षको प्रौढ अवस्थासम्म पनि बाहिरै छु ।
कृषि कार्यक्रममा बूढीआमाको आवाज निकालेर अभिनय सुरु गरेँ, उमेर जम्मा १५ वर्ष थियो । आमाको अँगालोमा झुन्डिएर लाडप्यारमा हुर्किने किशोरावस्था । सानै उमेरमा पाएको अवसरले मलाई गौरवबोध गराएको थियो तर मेरो परिवारको नजरमा त्यो अक्षम्य अपराध पो साबित भयो । आमा हुँदाहुँदै पनि सानै उमेरमा मातृस्नेहबाट टाढिनुपर्यो । बुबा भएर पनि टुहुरीको जस्तो जिन्दगी बाँच्नुपर्यो । अहँ, भुल्न सक्दिनँ, आमाको त्यो बिरानो वचन । आँगन टेक्नासाथ भन्नुभयो– ‘तँ आजबाट यो घरमा बस्नुपर्दैन ।’ आमा त स्नेहकी खानी हुन् । उनको बोली एक छिन् कर्कश लागे पनि आफ्नी छोरीमाथि कठोरै त कसरी बन्न सक्लिन् र ? त्यसैले त्यति वास्ता गरिनँ । बुबा भएतिर गएँ । उहाँले पनि चेतावनी दिनुभयो– ‘घरको दैलो मात्र टेकिस् भने …†’
सोचेँ– केटाकेटीलाई बाबुआमाले घुक्र्याउनु सामान्य नै हो नि † एकछिनका लागि न होला घरनिकाला † अर्को आशा के पनि थियो भने बुबाआमा पुरानो धारणाका भए पनि दाजुभाइले त आधुनिक जमानालाई बुझेकै छन् । केही नलागे उनीहरूले सम्झाउलान् । तर, उनीहरू आपैँmले पनि मलाई घरबाट निकाल्ने योजना बनाइसकेका रहेछन् । पक्षीहरू गुँड फर्केर बचेरालाई चारा खुवाउन लाग्दै गर्दा मचाहिँ गुँडबाट झरेको बचेरीभैँm हुन पुगेँ एकै छिनमा । त्यसयताका ४६ वर्षमा परिवारका कसैको मन मतिर फर्केन । म पनि घर फर्केकी छैन ।
कृषि, सूचना तथा सञ्चार केन्द्रमार्फत सुरु गरिएको ‘तपाईंको जेटिए, तपाईंकी बूढीआमा’ कार्यक्रममा मैले हजुरआमा बन्ने अवसर पाएकी थिएँ । १५ वर्षको कलिलै उमेरमा हजुरआमाको जस्तो पाको आवाज निकाल्न सक्ने खुबी देखाएकी थिएँ । कुखुरापालनको पूर्वतयारीका कुरा रेडियोमार्फत श्रोतालाई जानकारी गराएकी थिएँ । अहिले पनि त्यो प्रारम्भिक रेडियो संवाद मलाई याद छ– ‘खोइ, घरमा कोही पनि छैनन्, माछा, मासु खान मन लागेको थियो । घरमा कुखुरा पाल्न पनि मान्दैनन् ।’ यही संवादबाट सुरु भएको रेडियो यात्राले मलाई अहिलेको सफलतासम्म ल्याइपुर्याएको हो ।
सोच्छु– परिवारसँग बिताउने समय नै छोटो रहेछ र त बाल्यकालमै म बूढी भएछु, बूढी मान्छेको आवाज निकाल्न सकेछु । आमाबुबा, दाजुभाइबीच बित्ने युवावस्था कस्तो हुन्छ, त्यसको अनुभूति मलाई छैन । अनि, श्रोताहरूका श्रुतिमा पनि म सधैँ वयष्क मात्रै छु,
२४–२५ वर्षको जवान अवस्थामा पनि बूढी नै सुनिएँ । पेसागत भूमिकामा कहिल्यै युवती बनिनँ । न त आफ्नो आवाजमा यौवनावस्थाको अनुभूति नै हुन दिएँ । हेर्दाहेर्दै ६१ वर्ष पुगेछु, अबचाहिँ साँच्चैकी बूढी †’
किसानका भान्छा, गोठ अनि कान्लामा झुन्डिएका रेडियोहरूमा अहिले पनि गुन्जिरहेकै छु, हजुरआमा बनेर । कृषिक्षेत्रका समस्या र समाधानबारे किसानलाई सिकाउँदै केही राम्रो काम गरेकी छु भन्ने लाग्छ । गाउँबेँसीतिर किसानको घरमा पुग्दा आफ्नो आवाजको प्रभाव मैले मापन गरेकी छु । मेरो आवाजबारेका ती धारणा प्रिय छन्, आनन्ददायी छन् । ती प्रतिक्रियाले मलाई अनौठो तृप्ति दिन्छन् । किसानहरूको माया पाएकी छु, व्यावसायिक जीवनमा । श्रोताहरूको त्यही मायाको आवरणले पारिवारिक माया र ओत गुमाएको जिन्दगीका पीडादायी अनुभूतिलाई ढाक्ने प्रयास गरेँ । तैपनि, एक किसिमको शून्यता त रही नै रह्यो । यही नमीठो शून्यताबीच मलाई बिहे गर्ने चाह भएन, व्यक्तिगत जीवनको जगसमेत बसालिनँ ।
घरबाट निकालिएपछि सहाराविहीन भएँ । बसाइको ठेगान थिएन । आफन्त पर्ने छिमेकीकहाँ बास बसेकी थिएँ । भाइले त्यहाँबाट पनि निकाल्न खोजेको थाहा पाएँ, आफैँ हटिदिएँ । उनीहरूको बुझाइमा रेडियोमा बोलेर मैले परिवारको इज्जत फालेकी थिएँ ।
दैनिक ज्यालादारीमा प्रतिभाग ४२ रुपियाँ आउँथ्यो रेडियोबाट । त्यही नै जीवन गुजार्ने आधार थियो । त्यति सानो उमेरमा पनि परिवारभन्दा पेसालाई महत्त्वपूर्ण ठान्न मलाई केले बाध्य गरायो, अहिलेसम्म ठम्याउन सकेकी छैन । तर, कामप्रति लगाव थियो । मैले गरेका हरेक कार्यक्रम उत्कृष्ट हुँदै गएझैँ लाग्थ्यो । गुरुहरू पनि राम्रो भनेर प्रोत्साहन गरिरहनुहुन्थ्यो । काठमाडौंमै घर भए पनि एक्लै भाडामा बसेँ । कसैले जन्मघर सोधे ठट्यौली पारामा जवाफ दिन्छु– ‘नेपाल’ भनेर । कारण– निकाला गरिएको, कहिल्यै ममता नफर्केको त्यो घरको सम्झनै नआओस् भन्ने लाग्छ अब ।
सहकर्मीहरूलाई कहिल्यै आफ्नो एक्लो जीवन अनि दु:खबारे सुनाइनँ । नजिकका एक–दुईलाई मात्र थाहा थियो । कसैलाई आफ्नो कोठा देखाइनँ । छोरी भएका कारण जुन किसिमको आशंका र आक्षेपको अनुमान गरेर मलाई घरबाट निकालिएको थियो, त्यसको छेकछन्द पनि जीवनमा आउन दिन नहुने चुनौती थियो ममाथि । परिवारसँग एक किसिमको इख पनि थियो । सायद मेरो आत्मा प्रमाणित गर्न चाहन्थ्यो– एक्लै बसे पनि र रेडियोमा बोले पनि तिमीहरूले आक्षेप लगाउन खोजेजस्तो ‘बेइज्जत’ हुने काम गर्नेछैन जीवनभर । त्यसैले पनि कसैसँग सम्बन्ध जोड्न वा नजिक्याउने चाहना भएन मलाई ।
जन्म दिने बाबुआमाले त पराइ बनाए भने झन् पराइलाई कसरी आफन्त ठान्न सक्थेँ † वैवाहिक सम्बन्धबारे सोच्दै सोचिएन । खोइ, रहर पनि पलाएन † बरु, खाली कोखकी हजुरआमा बन्नमै आनन्द लाग्यो । लाग्छ– मैले नहुर्काएका थुप्रै नातिनातिना देशका गरागरामा परिश्रम पोखेर मुलुकको अर्थतन्त्रलाई टेवा दिइरहेका छन् । रहर र चाहनालाई त्यही लक्ष्यमा गाँसेर जीवनको माला उनेँ । त्यही मालामा साझा हजुरआमा बनेर निजी जिन्दगीका सुखदु:ख पनि सजाएँ ।
काठमाडौंमै जन्मिए पनि हरेक गाउँका भाषासँग परिचित छु । अधिकांश भेगका किसानले बुझ्ने भाषासँग मेरो मितेरी छ । घर पुग्दा मिजासले बोलिदिने कोही छैन । न त मनभित्र गुम्सिएका दुु:खसुख बाँड्ने साथी नै । त्यसैले पनि होला, आलिसान बैठक कोठामा सजिएका टेलिफोनका लहराले दिने सूचनाभन्दा खरको छानोमाथि लहराउने फर्सीले दिने तागत बढी हुने सूचना किसानमाझ बाँडिरहन मन लाग्छ ।
वि.सं. २०६६ मै निजामती सेवाबाट अवकाश पाइसके पनि रेडियो कार्यक्रममार्फत श्रोतासँग भलाकुसारी गर्दै मनका कुरा साट्ने रहर मेटिएको छैन । अझै पनि कृषि कार्यक्रमकी हजुरआमा बनिरहेकै छु । ४६ वर्षदेखिको यो समर्पण सम्झँदा कहिलेकाहीँ आत्ममूल्यांकन गर्न मन लाग्छ– के म मानिसहरूले भनेजस्तै कृषिको लोगो नै बनिसकेकी हुँ त ? केही त पक्कै हुँ । नत्र त रेडियोमा आवाज सुनेकै भरमा मलाई यत्तिको आत्मीयता किन दिँदा हुन् त श्रोताले † पशुपतिनाथ भाकेर मलाई देख्न पाए हुन्थ्यो भनेर कामना गर्ने किसानसमेत भेटेकी छु । तिनीहरूसँग कहिल्यै नटुट्ने भावनात्मक साइनो छ मेरो ।
एक दिन हामी किसानको प्रतिक्रिया बुझ्न गाउँतिर गएका थियौँ । धादिङमा एक दम्पती भुइँकटहर रोपिरहेका थिए । अघिल्लो शुक्रबार नै भुइँकटहर लगाउने तरिकाबारे कार्यक्रममा जानकारी गराएकी थिएँ । टोलीमा रहेका माथिल्लो तहका सरले उनीहरूलाई सोध्नुभयो– भुइँकटहर नै रोप्नुको उद्देश्य के ? उनीहरूको जवाफ आयो– ‘अस्ति कृषि कार्यक्रममा बूढीआमैले सिकाएकाले हामीले रोप्न आँटेका ।’ सरले फेरि सोध्नुभयो– ‘ती बूढीआमा कस्ती लाग्छिन् ?’ उनीहरूले त एकाएक हात जोडे र भन्न थाले– ‘ती आमैले हामीलाई धेरै सिकाएकी छिन्, पशुपतिनाथले भेटाइदिए पनि कस्तो हुन्थ्यो †’
म त्यहीँ थिएँ । जीवनका दुई फरक रंगहरू आँखाअघि नाच्न थाले । कुनै बेला रेडियोमै बोलेर घरबाट निकालिएँ । आज यही कामका कारण मानिसहरू मेरा लागि भगवान् पुकारिरहेका थिए । मनमा एक किसिमको तृप्ति अनुभव गरेँ । केही छिन् त बोल्नै सकिनँ । उनीहरूकी बूढीआमै म तन्नेरी थिएँ, त्यति बेला । चिनाउनु कि नचिनाउनु † चिनाउँदा ‘बूढीआमा’ प्रतिको उनीहरूको आस्था खस्कने हो कि भन्ने पनि लाग्यो । तर, मैले उनीहरूलाई त्यहीँ बूढीआमाको अभिनय गरेर असली परिचय दिएँ । उनीहरू त पैसा चढाएर मलाई ढोग्न पो थाले । त्यो पैसा मसँग अझै सुरक्षित छ, यो आत्मीय चिनोलाई बाँचुन्जेल सम्हालेरै राख्नेछु । उनीहरूसँग छुट्टिनै मन थिएन । बुबाआमाको माया छुटेर निरासिएको मन उनीहरूको माया देखेर
एक्कासि भक्कानियो ।
०००
रेडियो प्रवेशका सुरुआती दिन सम्झिँदा रमाइलो लाग्छ । काठमाडौंमै जन्मिए पनि घरबाहिर पटक्कै निस्किन पाउँदिनथेँ । कुनै ठाउँ चिनेकी थिइनँ । नजिकैकी दिदीको सिंहदरबारभित्र टाइपिङको परीक्षा रहेछ । मलाई ‘साथी जान्छेस् ?’ भन्नुभयो । कहिल्यै सिंहदरबार नदेखेकी म फुरुक्क भइहालेँ । पार्किङ गरिराखिएका राम्रा–राम्रा कार देखेर दंग परेँ । दिदी परीक्षा दिन जानुभयो, मचाहिँ गाडीहरूसँग खेल्दै थिएँ । निकै बेर भयो, दिदी आउनुभएन । खोज्दै भित्र छिरेँ ।
कृषि सूचना तथा सञ्चार केन्द्रको कोठामा पुगेछु । किरणमणि दीक्षित सर त्यहाँको प्रमुख हुनुहुँदो रहेछ । त्यही पुगेर दिदीलाई कुर्दै थिएँ । किरण सरलाई के लागेछ कुन्नि, ‘तिमी जागिर खाने हो’ भनेर सोध्नु पो भयो । मैले पनि ‘खान्छु’ भनेँ । नौ कक्षामा पढ्थेँ उति बेला । अंग्रेजीमा पानाभरि लेखेर टाइप गर्न पठाउनुभयो । मलाई कहाँबाट आउनु, तर उहाँलाई चाहिँ आउँछ भनेँ । अर्को कोठामा गएर एउटा दाइलाई अनुरोध गरेँ, उहाँले फरर टाइप गरिदिनुभयो । एकैछिनमा टाइप गरेको कागज लिएर किरण सरका अगाडि पुगेँ । उहाँ दंग पर्नुभयो– ‘वा उ कस्तो राम्रो, आफैँले गरेको हो ?’ मलाई ढाँट्न मन लागेन, ‘होइन’ भनेँ ।
मेरो स्पष्ट बोल्ने बानीले उहाँलाई प्रभाव पारेछ । भोलिपल्टदेखि बिहानबिहान सधैँ अफिस आउनू भन्नुभयो । २०२३ भदौ २९ गते त्यहाँ पुगेकी थिएँ पहिलोचोटि । भदौदेखि मंसिर २५ गतेसम्म रेडियो स्क्रिप्ट लेख्न, बोल्न सिकेँ । मंसिर २५ बाट औपचारिक रूपमा आवाजमार्फत हजुरआमा बनेकी हुँ ।
प्रस्तुति : प्रतिमा सिलवाल
प्रतिक्रिया