नेपालगन्ज, १६ साउन । मध्यपश्चिमका तराईसँग सीमा जोडिएका भारतीय क्षेत्रमा प्रत्येक पाँच किलोमिटर क्षेत्रमा भारतीय सीमा सुरक्षा बलका पोस्ट छन् । तर, त्यही क्षेत्रमा नेपालतर्फ भने ३० किलोमिटरमा मुस्किलले एउटा पोस्ट राखिएको छ ।
‘गस्ती होइन, पोस्ट कुर्दैमा ठिक्क छ,’ एक सशस्त्र प्रहरी अधिकृतले भने, जनशक्ति अभावले सीमा सुरक्षामा समस्या परेको छ ।’
भारतसँग सीमा जोडिएका बाँके, बर्दिया र दाङमा नेपालतर्फ सशस्त्र प्रहरी बलको पातलो गस्तीले प्रभावकारी रूपमा अवैध सरसामानको चोरीपैठारी रोक्न तथा सीमा अपराध नियन्त्रण गर्न समस्या भइरहेको ती अधिकृतले बताए ।
बाँकेको ६०, बर्दियाको ८० र दाङको ७५ किलोमिटर क्षेत्रफल भारतसँग जोडिएको छ । प्रत्येक जिल्लामा सशस्त्र प्रहरी बलका सीमा सुरक्षा कार्यालय रहे पनि पर्याप्त जनशक्ति नहुँदा समस्या भइरहेको हो । तर, उपलब्ध जनशक्तिले सीमा क्षेत्रको गस्ती, सीमा सुरक्षाका साथै सीमावर्ती अपराध नियन्त्रणमा भूमिका निर्वाह गर्दै आइरहेको मध्यपश्चिम सशस्त्र प्रहरी बलका डिआइजी भीष्मकान्त अर्यालको दाबी छ । ‘जिल्लामा शान्तिसुरक्षा कायम राख्ने कार्यमा समेत सशस्त्र दिनरात खटिएको छ,’ उनले भने ।
भारततर्फका सीमावर्ती जिल्लामा झन्डै पाँच हजार दुई सयभन्दा बढी एसएसबी जनशक्ति तैनाथ छ । ३ दशमलव ५ देखि ५ किलोमिटर दूरीमा उनीहरूको एउटा पोस्ट छ । दुई सय १५ किलोमिटर इलाकामा प्रतिकिलोमिटर औसत २५ सुरक्षाकर्मी तैनाथ छन् । तर नेपालतर्फ दुई सय १५ किलोमिटर लामो खुला सिमामा नौ सय ९६ जनशक्ति मात्र परिचालन भएको सशस्त्रले जनाएको छ ।
सीमित मात्रामा पोस्ट रहेको र औसत ३० किलोमिटर दूरीमा एउटा पोस्ट र प्रतिकिलोमिटर चारजना जनशक्ति परिचालन भएको सशस्त्रले जनाएको छ । सीमानजिक स्थापना गर्नुपर्ने सीमा सुरक्षा कार्यालय र बोर्डर पोस्ट पनि केही ठाउँमा सीमाभन्दा निकै टाढा भएकाले सशस्त्र प्रहरी परिचालनमा समस्या भइरहेको सशस्त्र प्रहरी अधिकृतहरूले बताए । दाङमा सीमाबाट झन्डै २५ किलोमिटरको दूरीमा सीमा कार्यालय छ । कतिपय ठाउँमा जग्गा र उपयुक्त ठाउँको अभावमा टाढा हुँदा गस्तीमा कठिनाइ भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रका भन्सार कार्यालयमा अवैध चोरीपैठारी नियन्त्रण गरी राजस्व संकलन बढाउन सशस्त्र प्रहरी खटिएको छ । तर, जनशक्ति अभावमा उनीहरू मुख्य नाकामा रहेका भन्सारमा मात्र सीमित छन् ।
प्रतिक्रिया