ठगी गर्ने पत्रकार चौधरी पक्राउ

काठमाडौं, १५ साउन । विभिन्न बहानामा सर्वसाधारण ठगी गर्ने मेट्रो पोष्ट दैनिकका पत्रकार राम एकवाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो चिनजान र पहुँच ठूला ओहदाका मानिसहरुसँग रहेको भन्दै ठगी गर्ने पत्रकार चौधरीलाई ठमेलस्थित ‘लागोस भिट्टा’ रेष्टुरेन्टबाट साउन–१२ गते केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।
‘पत्रकार राम एकवाल चौधरीले कानूनी हैसियत र अधिकार विना नै सर्वसाधारणलाई प्रलोभनमा पारी प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सेनामा जागिर लगाइदिने तथा विभिन्न देशहरुमा पठाइदिने भनी झुठो आश्वासन दिएका छन्,’ प्रहरीद्वारा आज जारी बुलेटिनमा भनिएको छ, ‘हालसम्म ४७ जना व्यक्तिहरुबाट ६७ लाख ७७ हजार रुपियाँ ठगी गरेको पुष्टि भएको छ ।’
काठमाडौंको बसुन्धारा बस्ने पत्रकार चौधरीको स्थायी घर बारा जिल्ला अमरपट्टी–४ रहेको प्रहरीले जनाएको छ ।
चौधरीसँगै प्रहरीले अन्य ४ जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला जिल्ला गोकुलेश्वर–४ घर भएका रामदत्त बिष्ट, दार्चुला खलंगा–४ घर भई ललितपुर नख्खिपोट डेरा गरी बस्ने दिलराज निरौला, प्रवीण भन्ने अनिष निरौला र बारा जिल्ला निजगढ–३ शहीदचोक घर भई काठमाडौं कमलपोखरी बस्ने संयोज खतिवडालाई पक्राउ गरेको छ ।
अंग्रेजी साहित्यमा आफू स्नातकोत्तर भएको बताउने पत्रकार चौधरीले महामन्जुश्री विद्यालय स्वयम्भुमा अध्यापन गराउँदै आएका छन् ।
चौधरीले विभिन्न समयमा ‘द हिमालयन टाइम्स’ र ‘मेट्रो पोष्ट दैनिक’ लगायतका पत्रिकामा काम गरेको प्रहरीलाई बयान दिएका छन् । उनीसँग आईएफजेको सदस्यता कार्ड समेत बरामद भएको प्रहरी भनाई छ ।

प्रतिक्रिया