चीनले लियो अग्रता

लन्डन, १५ साउन । यसपटकको ओलम्पिकमा पनि चीनले राम्रो सुरुआत गरेको छ । पौडीमा दुई अस्वाभाविक स्वर्ण पदक पाएको चीन यो समाचार तयार पार्दासम्म पाँच स्वर्णसहित अग्रस्थानमा रहेको छ । चीनले एक रजत र दुई कास्यसहित आठ पदक जितेको छ । अमेरिकाले दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको छ । तेस्रो स्थानमा रहेको इटालीले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक जितेको छ ।
यसैगरी, ब्राजिलले एक स्वर्ण, एक रजत र एक कास्यपदक जितेको छ । दक्षिण कोरियाले पनि ब्राजिलकै बराबर पदक जितेको छ । अस्ट्रेलिया, काजकास्तान र रुसले पनि स्वर्णपदक जितेका छन् । ओलम्पिक फुटबलको समूह ‘सी’को खेलमा इजिप्ट र न्युजिल्यान्डबीच १–१ गोलको बराबरी भएको छ । म्यानचेस्टरमा भएको समूह ‘सी’को खेलमा न्युजिल्यान्डलाई क्रिस उडले १७औँ मिनेटमा अग्रता दिलाएका थिए । इजिप्टका मोहम्मद सलाहले ४०औँ मिनेटमा बराबरी गोल गरे । महिला जुडोमा भने अप्रत्यासित नतिजाको क्रम जारी नै रह्यो । ६६ किलो समूहमा शीर्ष वरीयताका खेलाडी रुसका मुसाखोभ र महिलाको ५२ किलो तौल समूहमा जापानका मिसातो नाकामुरा पराजित भएका छन् ।
टेनिसमा भने जर्मनीकी जुलिया जर्जोसले महिलातर्फ दोस्रो वरीयताकी अग्निएस्का राडवान्स्कालाई ७–५,६–७, ६–४ ले पराजित गरिन् ।
ओलम्पिकमा केही अस्वाभाविक घटना पनि देखिए । भारतीय अधिकारी यतिखेर कोही अपरिचित महिला आफ्नो टोलीसँगै मार्च गर्न इच्छुक देखिएपछि अचम्ममा परे । ह्यान्डबलमा क्रोएसियाले दक्षिण कोरियालाई ३१–२१ ले पराजित गर्‍यो । दुईपटकको स्वर्ण पदक विजेता क्रोएसिया बेइजिङ ओलम्पिकमा चौथो स्थानमा सीमित भएको थियो ।
पुरुष बास्केटबलमा ल्यान्ड्रो बारबोसाको १६ स्कोरको सहयोगमा ब्राजिलले अस्ट्रेलियालाई ७५–७१ ले पराजित गर्‍यो । अमेरिकाकी किम्बर्ली रोडले महिला स्किट सुटिङमा स्वर्ण पदक जितेकी छन् । उनी लगातार ओलम्पिक संस्करणमा पदक जित्ने पहिलो अमेरिकी खेलाडी भएर राष्ट्रिय कीर्तिमान रचिन् । १०० पूर्णांकमा ९९ अंक जोडेर उनले ओलम्पिक कीर्तिमान पनि बनाइन् । ओलम्पिकमा ३३ वर्षीया रोडले सन् १९९६ र २००४ मा स्वर्णपदक जितेकी थिइन् भने २००० मा काँस्य र २००८ मा रजतपदक जितेकी थिइन । एजेन्सी

प्रतिक्रिया