‘सहकारीलाई पवित्र व्यवसाय बनाउनुपर्छ’

सुमेरू सेभिङबारे केही बताइदिनु कुन्छ कि ?
१३औँ वर्षदेखि सफलतापूर्वक आफ्ना सदस्यमाझ सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुरूप विविध कार्यक्रमसहित सक्रिय छौँँ । संस्थाले विशेषत: सहकारीले गर्नसक्ने सामाजिक चेतना अभिवृद्धि, रोजगारी प्रदान, सीपमूलक कार्य र उच्च सेवा प्रदान गर्ने काम गर्दै आएको छ ।
संस्थागत संरचना कस्तो छ ?
सुरुदेखि नै विवादरहित ढंगले क्रियाशील छौँ । स्थापनाकालदेखि हालसम्म सामूहिक सहभागिता र प्रयासमा सक्रिय रूपले आफ्ना योजना सम्पूर्ण सदस्यमाझ लैजान सफल भएका छौँ । संस्थाले ललितपुर जिल्लाभरि नै आफ्नो कार्यक्षेत्र बनाई सहकारी गतिविधिमा सक्रिय छ । हाल एउटा सदस्य सुविधा काउन्टर धापाखेलमा सञ्चालन गरेका छौँँ । अन्तरसहकारी कार्यक्रमअन्तर्गत कालीमाटीमा पनि सेवाको पहुँच पुर्‍याउने कोसिस गर्दै छौँँ र सहकारीको सेयर पुँजी करिब सात करोड पुर्‍याएका छौँँ । संस्थामा सञ्चालक समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, लेखा समितिलगायत विभिन्न उपसमिति बनाई विज्ञ साथीहरूको टिम बनाएका छौँँ । प्रयासस्वरूप हामी आफ्ना सदस्यलाई बिहान ८ बजेदेखि बेलुकी ८ बजे सम्म ३६५ दिनै सेवा र मोबाइल सेवा दिन पनि सफल भएका छौँँ ।
संस्थाले सामाजिक क्षेत्रमा कस्तो योगदान पुर्‍याएको छ ?
संस्थाले आफ्नो तर्फबाट सामाजिक क्षेत्रमा सकेको योगदान दिँदै आइरहेको छ । वार्षिकोत्सवका उपलक्ष्यमा हरेक वर्षको ४ साउनमा रक्तदान कार्यक्रम नियमित गर्दै आएका छौँँ । एकल महिला तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई जनही पाँच सयका दरले वृद्धा भत्ता वितरण गरेका छौँ । जिल्लाभरबाट एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई थप हौसला दिने विविध कार्यक्रम गरेका छौँ । हाम्रा सदस्यहरूका सन्तानमध्येबाट पाँच जनालाई छात्रवृत्तिको र अन्य शैक्षिक सहयोगको अवसर दिएका छौँँ । संस्था आफंैले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवाबाट सदस्यलाई उपत्यकाभित्रका लागि नि:शुल्क एम्बुलेन्स सेवा पुर्‍याएका छौँँ । अन्तर्राष्ट्रिय स्तरको लायन्स क्लब र एलाइन्स क्लबसँग आबद्ध भई विभिन्न सामाजिक गतिविधिमा सक्रिए भएका छौँँ ।
त्यस्तै, धापाखेल गाविसको साँघुरो सडकबाटोलाई ध्यानमा राखी निजी जग्गा खरिद गरी सुमेरु यात्रु प्रतीक्षालय निर्माण गरेका छौँँ । भर्खरै मात्र सुमेरु ग्रुपकै साथीहरूको पहलमा सञ्चालित आधुनिक र सुविधासम्पन्न सुमेरु अस्पतालसँग समन्वय गरी दुई सयजनालाई नि:शुल्क जटिल अप्रेसन र अन्य सम्पूर्ण सदस्यलाई विशेष सहुलियत कार्डको वितरणसमेत गरेका छौँँ । अन्य थप सामाजिक क्षेत्रमा पनि सहभागी हुने योजना बनाएका छौँँ ।
सहकारीले आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानलाई कसरी लिनुहुन्छ ?
राष्ट्रमा सहकारी क्षेत्रले पुर्‍याएको योगदानलाई कदर गरेर नै सरकारले पनि यो क्षेत्रलाई आर्थिक विकासको तीनखम्बे नीतिअन्तर्गत राखेको हो । अरूले गर्न नसक्ने आर्थिक संकलनको काम सहकारीको माध्यमबाट गर्न सकिने भएकाले पनि यस क्षेत्रले राष्ट्रको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान रहन्छ र रहँदै आएको छ ।
सहकारी व्यवसायको सकारात्मक पक्ष के–के हुन् ?
सहकारी व्यवसाय आफंैमा पवित्र व्यवसाय हो । मूल्य र मान्यतालाई टेकेर अगाडि बढ्दा यो क्षेत्रले गर्ने जुनसुकै कार्यले पनि सकारात्मक पहिचान बनाउन सक्छ । देशको आर्थिक विकास रोजगारीको वातावरण, विभिन्न योजनाबाट जनतालाई प्रत्यक्ष लाभ हुने कार्य, सामाजिक जनचेतना र अभिवृद्धि कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, सञ्चारलगायत विभिन्न क्षेत्रमा सहकारीले उल्लेखनीय योगदान पुर्‍याउँदै आइरहेकाले पनि म यो क्षेत्रलाई अत्यधिक सम्भावना भएको सकारात्मक व्यवसाय हो भन्छु ।
सरकारले सहकारी सुधारमा के गर्नुपर्ला ?
मुख्यत: सहकारीले राष्ट्रको निम्ति के–कस्तो योगदान पुर्‍याइरहेको छ भन्ने मूल्यांकनको कमी छ । सहकारीको माध्यबाट हुने विभिन्न सकारात्मक कार्यमा सरकारी स्तरबाट चासो र सहभागिताको अभाव छ ।
सहकारीलाई घरघरमा पुर्‍याउन जरुरी छ । विभिन्न सहकारीले जम्मा गरेको पुँजीलाई एकीकृत गरी मुलुकका महत्त्वपूर्ण योजनामा परिचालन गर्नुपर्ने नीतिको अभाव छ । सहकारीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रमको अभाव छ । सहकारीलाई साँघुरो घेरामा राखेर महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिँदैन भन्ने मान्यता बुझ्न जरुरी छ । त्यसैले यस्ता कार्यहरूमा सरकारी स्तरबाट अझ धेरै स्पष्ट नीति र कार्यक्रम लागू गरी सहकारीमुखी वातावरणको आवश्यकता छ ।
सहकारीको संख्या बडदो छ, यसलाई कसरी लिनुहुन्छ ?
सहकारी धेरै संख्यामा स्थापना हुनुलाई म सकारात्मक रूपमै लिन्छु । विकृति विसंगतिलाई निरुत्साहित गर्दै स्वच्छ, स्वतन्त्र र इमान्दारीपूर्वक सहकारी सञ्चालित भएमा जति धेरै सहकारी भयो त्यति धेरै जनता नै लाभान्वित हुन्छन् । म त घरघरमा सहकारीको पहुँच पुग्नुपर्छ भन्ने मान्यता राख्दछु । यस क्षेत्रका कमीकमजोरी र विकृतिलाई निवारण गरी सकारात्मक दिशामा सहकारीलाई अगाडि बढाउनुपर्छ । राष्ट्र सम्पन्न बनाउने दिशातर्फ उन्मुख हुनु पर्छ ।
सहकारी सहर केन्द्रित भयो नि होइन ?
सहकारी मात्र होइन, सहरमा हरेक व्यवसाय र गतिविधि गाउँका तुलनामा बढी नै केन्द्रित छन् । सहरबाहेकका क्षेत्रमा आवश्यक मात्रामा चेतना, सुविधा र अन्य साधन स्रोत र पूर्वाधारको अभावले गर्दा नै सहकारी पनि सहर केन्द्रित भएका हुन् । तर, यस्तो प्रवृत्ति विस्तारै विकेन्द्रित हुँदै जान्छ र सबै तहमा सहकारी पुग्छ भन्ने विश्वास लिएको छु ।
सहकारीको गुणात्मक विकास भएको छैन हो ?
संस्थात्मकतालाई गुणात्मक रूपमा रूपान्तरण गर्दै जान जरुरी छ । सहकारीको सिद्धान्त र मर्मअनुरूप सबै प्रारम्भिक संस्थाले आफ्ना सदस्यलाई बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी विभिन्न क्षेत्रमा सकारात्मक रूपले कार्य गरेमा गुणात्मक पक्ष उजागर हुँदै जानेछन् र अझ धेरै विषयगत सहकारीको आवश्यकता बोध हुँदै जानेछ ।
सहकारी वर्षमा के–कस्ता कार्यक्रम गर्नुभयो ?
संयुक्त राष्ट्र संघले घोषण गरेको सहकारी वर्षलाई हामीले गौरवका साथ मनाइरहेको छौँ । विभिन्न विषयगत संघहरूले आयोजना गरेका कार्यक्रममा हाम्रो संस्था पनि सहभागी हुँदै आइरहेको छ । यस संस्थाले गरेका विभिन्न सामाजिक, आर्थिक, सामुदायिक कार्य सहकारी वर्ष घोषण भएका मितिदेखि पनि झन् उल्लेखनीय रूपमा हुँदै आइरहेको छ । यस सहकारी वर्षको पूर्ण सफलताका लागि म र हाम्रो संस्था प्रतिबद्ध छ ।
सहकारी वर्ष सफल बनाउन के गर्नुपर्ला ?
सहकारीबाट धेरैभन्दा धेरै जनतालाई राष्ट्रको आर्थिक, सामाजिक र अन्य विकासको पूर्वाधारका क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिन्छ भन्ने यथार्थतालाई सबै सामु पुर्‍याउन जरुरी छ । सहकारी मूल्यमान्यता र आदर्शको पालाना गरी सहकारीलाई स्वच्छ, पारदर्शी, इमानदारिता र स्वतन्त्र रूपले देशको कुनाकुनामा पुर्‍याई सहकारीको सुदृढीकरणमा सबैलाई राज्यस्तरबाट सम्बोधन हुने गरी कार्यक्रम ल्याउनु पर्छ ।
राष्ट्रको आर्थिक विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने सत्यतालाई सबैको सामु लैजान सबै सहकारी कर्मी एवं विभिन्न तह र तप्काका समुदायलाई एकीकृत गरी संयुक्त राष्ट्र संघले घोषणा गरेअनुरूप सहभागी भई कार्यक्रम सफल बनाउनुपर्छ ।
संस्थाका भावी कार्यक्रम के छन् ?
संस्थाले आगामी दिनमा आफ्ना सदस्यलाई स्वास्थ्य, शिक्षा र रोजगारीमा सहज पहुँच पुर्‍याउने विभिन्न कार्यक्रम राखेको छ । ग्रामीण भेगका सदस्यलाई सीपमूलक तालिमको व्यवस्था गरी व्यवसाय सञ्चालन गर्ने योजना बनाएका छौँँ । संस्थाको व्यवस्थापनलाई अझै सुदृढ गर्न अन्तर्राष्ट्रिय सहकारी सञ्जालमा सहभागी गराउने कार्य थालेका छौँ र नेपालमै एक नमुना संस्थाका रूपमा पहिचान स्थापित गराउनेतर्फ उन्मख हुने कार्यक्रम ल्याउँदै छौँँ ।
सहकारीको भविष्य कस्तो छ ?
सहकारीको भविष्य भन्ने हो भने एकदम राम्रो, सुरक्षित र सुनिश्चित छ । मर्यादित सहकारीको आवश्यकताको बोध गरेका छौँँ ।
प्रस्तुति : काजी श्रेष्ठ

प्रतिक्रिया