बिक्री भएनन् पुराना जहाज

काठमाडौं, १५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि ग्राउन्डेड अवस्थामा रहेका पुराना जहाज व्यवस्थापनले लिलामी गरे पनि बिक्री भएका छैनन् । गत आर्थिक वर्षभित्रै सबै पुराना जहाज बिक्री गरी बाँकी बक्यौता उठाउने योजना व्यवस्थापनले बनाएको थियो ।

विमानस्थल परिसरमा वर्षांैदेखि थन्किएका विभिन्न वायुसेवा कम्पनीका करिब दर्जन जहाज लिलामीका लागी सूचना सार्वजनिक गरिए पनि एउटा मात्र जहाज बिक्री भएको विमानस्थल व्यवस्थापनले जनाएको छ । लिलामीबाट यती एयरलाइन्सको एउटा वाई १२ जहाज बिक्री भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतीशचन्द्र लाल सुमनले जानकारी दिए ।
यतीका दुईवटा, कस्मिक एयरका पाँचवटा, नेपाल एयरवेजका दुईवटा र नेपाल वायुसेवा निगम तथा नेकोन एयरको एक/एक गरी ११ वटा साना ठूला ग्राउन्डेड जहाज अझै पनि विमानस्थल परिसरमा अलपत्र अवस्थामा छन् । विमानस्थल परिसरमा चारवटा डोर्नियर, दुईवटा वाई, १२ वटा फोकर जहाज र एउटा हेलिकोप्टर थन्किएका छन् । जहाजबाहेक विभिन्न कम्पनीले छोडेर गएका मिनीबस, हाइड्रोलिक ज्याक, भर्‍याङ, ब्यागेज ट्रलीलगायतका पुराना सामान तथा उपकरण समेत अव्यवस्थित रूपमा छरिएर रहेका छन् ।
व्यवस्थापनका अनुसार कस्मिक एयरका नाइन एन एजिवाई, नाइन एन एइपी, नाइन एन एसिई र नाइन एन एसिजी जहाज लिलामीमा छन् । यसमध्ये एउटा जहाज कस्मिकको स्वामित्वमा छ भने जहाज निर्माता जर्मनी कम्पनी डोर्नियरकै स्वामित्वमा छन् । नेपाल एयरवेजको नाइन एन एडिजे एएस ३५० बी जहाज पनि हटाउनुपर्ने सूचीमा परेको छ । कस्मिक र नेपाल एयरवेज दुवै कम्पनी बन्द भइसकेका छन् । नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपाल एयरवेजको एयर अपरेसन एओसी नम्बर ००६/९६ हो । उसको एओसी रद्द भइसकेको छ । त्यस्तै कस्मिक एयरको एओसी नम्बर ०१८/३ हो । यसले २००३ मा एओसी पाएर केही वर्ष सेवा सञ्चालन गरेको थियो ।
पहिलो लिलामीबाट पुराना जहाज बिक्री नभएपछि व्यवस्थापनले लिलामीको अर्को सूचना निकालेको छ । दोश्रो लिलामीबाट सबै जहाज बिक्री हुने व्यवस्थापनको विश्वास छ । विमानस्थल महाप्रबन्धक सुमनले जहाज बिक्रीका लागि गत साता सार्वजनिक सूचना जारि गरिएको जानकारी दिंदै तीन साताभित्र इच्छुक खरिदकर्ताले दरखास्त दिइसक्नुपर्ने बताए । उनका अनुसार जहाजहरू काम नलाग्ने अवस्थामा रहेकाले बिक्रीबाट विमानस्थलको सबै बक्यौता चुक्ता हुने स्थिति छैन ।
कम्पनी बन्द भएपछि अन्तर्राष्ट्रिय तथा आन्तरिक जहाज कम्पनीका ग्राउन्डेड जहाज विगत एक दशकदेखि बेवारिसे अवस्थामा छन् । जहाज ग्राउन्डेड भएमध्ये यती एयरलाइन्स मात्र सञ्चालनमा छ । उसका तीनवटा जहाज ग्राउन्डेड भएर विमानस्थलमा थन्किएका छन् ।
यसअघि विमानस्थल व्यवस्थापनले गत चैतमा नै अन्तिमपटक भन्दै पुराना जहाज हटाउन सम्बन्धित कम्पनीलाई १५ दिनको समय दिएको थियो । तिर्नुपर्ने सबै बक्यौतासमेत तिर्न व्यवस्थापनले सम्बन्धित कम्पनीलाई भनेको भए पनि कसैले रकम तिरेका छैनन् ।
‘कवाडी’ अवस्थामा पुगिसकेका जहाज विमानस्थल रनवेको पूर्वपट्टि आगो निभाउने मेसिन नजिक राखिएको छ । यसका कारण सुरक्षा बढेको जहाजस्थल प्रहरीले बताउँदै आएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि थोत्रा जहाजले विमानस्थलको सुन्दरतामा असर पारेको भन्दै जहाज हटाउन निर्देशन दिएको छ ।
व्यवस्थापनका अनुसार कुनै पनि कम्पनीले जहाजको पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क तिरेका छैनन् । सबै कम्पनीको गरी एक करोड ५० लाख रुपियाँ बक्यौता नाघिसकेको र यो रकम दिनदिनै बढिरेको व्यवस्थापनले जनाएको छ । जहाजको तौल र आकारको आधारमा पार्किङ शुल्क लिने गरिन्छ ।

प्रतिक्रिया