तेहरान : सिरियाली विदेशमन्त्री वालिद अल मुअल्लेमले अलेप्पो सहरमा विद्रोही र सरकारी सैनिकबीच भिडन्त भएको पुष्टि गर्दै विद्रोही पक्षको पराजय अवश्यम्भावी रहेको दाबी गरेका छन् । इरानी अधिकारीहरूसँग छलफल गर्न तेहरान पुगेका उनले आइतबार यस्तो दाबी गरेका हुन् । सिरियाको दोस्रो ठूलो सहर अलेप्पोमा भिडन्त जारी रहेको भनिएका बेला उनी इरान पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
‘सिरियाविरोधी सबै शक्ति सरकारविरुद्ध लड्न अलेप्पो सहरमा भेला भएका छन् । उनीहरूलाई धुलो चटाइने निश्चित छ,’ तेहरानमा आइतबार भएको पत्रकार सम्मेलनमा इरानी समकक्षी अली अक्बर सालेहीसँग उपस्थित भएका उनले भने । विद्रोहीहरू अलेप्पो सहरमा भेला भएको जानकारी पाएपछि सरकारी सेनाले शक्तिशाली हतियारमार्फत सो क्षेत्रमा कारबाही तीव्र पारेको बताइन्छ । हवाई शक्ति र ट्यांकसहित सरकारी सैनिकले कारबाही थालेपछि सो क्षेत्रमा ठूलो हताहती हुने
आशंका गरिएको छ ।
अलेप्पो सहरमा केही दिनदेखि सरकारी सैनिकले आक्रमण जारी राखेको मानवअधिकारवादीले बताएका छन् । सो क्षेत्रमा पत्रकार र अधिकारवादीलाई जान नदिइएकाले हताहतीसम्बन्धी सही तथ्यांक पत्ता लगाउन नसकिएको मानवअधिकारवादीहरूको भनाइ छ । आक्रमणमा सरकारी सेनाले घातक हतियारको प्रयोग गरेको समाचार प्रकाशित भएका छन् तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
मुलुकमा द्वन्द्व चर्किरहेका बेला इरानबाट राजनीतिक तथा फौजी सहयोग जुटाउने उद्देश्यले सिरियाली विदेशमन्त्री इरान पुगेको आशंका गरिएको छ । ‘सिरिया अहिले विभिन्न देशसँग युद्धको अवस्थामा छ । केही राष्ट्रको आततायी आक्रमणको लडेर सामना गर्ने महान् देशको नागरिकका हैसियतले तपाईंहरूसामु आफ्ना कुरा राख्न पाउँदा गर्वले मेरो छाती ढक्क फुलेको छ,’ पत्रकार सम्मेलनमा उनले भने । सिरियामा रासायनिक हतियार भएको गलत प्रचारवादीमा अमेरिकालगायत राष्ट्र लागिपरेको भन्दै उनले यसको खण्डनसमेत गरे ।
सिरियाविरुद्ध अरब लिग, युरोपेली संघ, अमेरिकासहितका अन्तर्राष्ट्रिय समुदाय खनिएका बेला इरानले भने सिरियाली सरकारको समर्थन गर्दै आएको छ । केही साताअघि इरानी राष्ट्रपति महमुद अहमदिनेजादले मध्यपूर्वमा प्रभुत्व कायम गर्न र इजरायललाई सहारा प्रदान गर्न अमेरिका र उसका साझेदार राष्ट्रले सिरियाली राष्ट्रपति बासर अल असदलाई सत्ताबाट हटाउन खोजेको आरोप लगाएका छन् । साथै, उनले सिरियामाथि हुने सबैखाले विदेशी हस्तक्षेपलाई इरानले स्वीकार नगर्ने प्रस्ट पारेका थिए ।
सिरियाली संकट गहिरिँदै जाँदा मध्यपूर्वका सिया मुसलमान संगठनहरू सिरियाको पक्षमा उभिन थालेका छन् । गत महिना प्यालेस्टाइनका मुक्तियोद्धा अहमद जिब्रिलले सिरियाविरुद्ध युद्ध छेडिए इरान र लेबाननको सशस्त्र समूह हिजबुल्लाहले सिरियाको पक्ष लिई युद्धमा सहभागी हुने बताएका थिए । टर्की–युरोपेली गठबन्धन अथवा नेटोले सिरियामा हमला गरे प्यालेस्टाइनका मुक्तियोद्धाले इरान–सिरिया–हिजबुल्लाह गठबन्धनको पक्षमा आफूलाई उभ्याउने उनले दाबी गरेका थिए ।
सिरियामा १७ महिनादेखि जारी राष्ट्रपति बासर अल असदविरुद्धको विद्रोहमा करिब २० हजारको ज्यान गइसकेको छ । विद्रोहीहरूले राष्ट्रपति असदको राजीनामा माग गर्दै आएका छन् भने असदले सत्ता त्याग्न अस्वीकार गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया