बैंक लुट्न खोज्ने गिरोहका सदस्य पक्राउ

कैलाली, १५ साउन । ३० असारमा कैलालीको अत्तरियास्थित एनसिसी बैंक लुट्न बम विस्फोट गराउने समूहका एकलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुरा जोगबुढा–१, तुलावाडी घर भई कैलाली मालाखेती–२ बनखेतमा डेरामा बस्दै आएका २२ वर्षीय वीरबहादुर धामी छन् । दुई पेस्तोल र ६ बम तथा अन्य सामग्रीसहित नौजनाको लुटेरा समूह बैंक लुट्न आएको प्रहरीले जनाएको छ । बैंकका सुरक्षागार्डले च्यानल गेटको ताला काटेरभित्र आउन लागेको थाहा पाएर नजिकैको प्रहरी चौकीमा खबर गरेपछि लुटेरा भागेका थिए ।
प्रहरीले बैंक लुटपाट गर्न खोज्ने समूहका नौजनाकै पहिचान भइसकेको र पक्राउका लागि प्रहरी परिचालन गरिएको जनाएको छ । कैलालीका एसपी घनश्याम अर्यालले अन्य आठको खोजी कार्य भइरहेको बताए । जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका बोहराले बैंक लुट्ने र बम राख्ने कार्यमा संलग्न रहेको स्विकारेका छन् । उनले बैंक लुट्ने योजना बनाउने मुख्य योजनाकार अरू नै भएको बताए ।
‘दुई पेस्तोल र ६ बम बोकेर दुईजनाले बैंक गार्डलाई समात्ने, चारजनाले ताला काट्ने र सटर फोड्ने र तीनजनाले बाहिर हेर्ने जिम्मेवारी बाँडफाँड गरिएको थियो,’ धामीले भने, ‘बैंकमा रहेको पैसा लुटपाट गरिसकेपछि पश्चिमतर्फ महेन्द्रनगर जाने बाटोको पुलमा जम्मा भएर भाग्ने योजना बनाइएको थियो तर ताला काट्दाकाट्दै प्रहरी आएपछि सबै योजना भताभुंग भयो ।’
पक्राउ परेका धामी जनमुक्ति सेनाका पूर्वलडाकु रहेको प्रहरीले जनाएको छ । यसअघि पनि यो समूह विभिन्न ठाउँमा हातहतियार देखाएर लुटपाटमा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ । बैंक लुट्न आएका उनीहरूले प्रहरीलाई रोक्न तथा तर्साउन बीचबाटोमा दुईवटा क्यान बम पनि राखेका थिए । त्यसमध्ये एउटा बम विस्फोट भएको थियो भने अर्कोलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।
उनीहरूले बैंकमा रहेको तीन करोड रुपियाँ लुटेर दामासाहीले बाँड्ने योजना बनाएका थिए । ताला काट्न दुईवटा अक्सिजन सिलिन्डर, एउटा ग्यास सिलिन्डर र ताला काट्ने वेल्डिङ मेसिन लिएर बैंक पुगेका थिए । लुट्ने काममा प्रयोग गरिएका सामान प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया