चीनलाई ओलम्पिकको पहिलो स्वर्ण

लन्डन, १४ साउन । लन्डन ओलम्पिक २०१२ को पहिलो स्वर्णपदक चीनको हातमा परेको छ । सुटिङको १० मिटर एयर राइफलको स्वर्णपदक चीनकी यी सिलिङले जितिन् । उनले पोल्यान्डकी सिल्भीया बोकाकालाई पराजित गरिन् । चीनकै डु वी तेस्रो भइन् । सन् २०१० मा भएको विश्व च्याम्पियनसीपमा स्वर्णपदक जितेकी सिलिङ उपाधि दाबेदारकै रुपमा ओलम्पिकमा सहभागी भएकी थिइन् । डिफेन्डिङ च्याम्पियन चेक गणतन्त्रकी क्याटरिना इमोन्स कुश्कीलले फइनलमा प्रवेश गरिन् । उनले चोथो स्थान पाइन् । आठौंपटकको सुटिङसम्म बोकाकाले अग्रता कायम गरेकी थिइन् ।
प्रतियोगितामा यीले ५०२.९ तथा बोकाकाले ५०२.२ स्कोर गरे । ‘यो सफलताले म एकदमै खसी छु ।’ जितपछि यीले भनिन् ।
यसैबीच अल्बानियाका हासेन पुलाकाउ ड्रग टेस्टमा असफल भएका छन् । उनले लन्डन ओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउने निश्चित भएको छ । ओलम्पिकको पूर्वसन्ध्यामा ५ हजार क्स्याम्पल टेस्ट भएको छ । पौडीमा भने अप्रत्यासित नतिजा देखिएको छ । ४ सय मिटर मड्लीमा माइकल फल्प्स मुस्किलले फाइनलमा छनोट भए । ४ सय मिटर फाइनलमा कोरियाका स्टार पार्क ते ह्वान अयोग्य घोषित भए ।
विश्व कीर्तिमानधारी पाउल विडरम्यान फाइनलमा प्रवेश गर्न असफल भए । फ्लेप्स आठौं हँुदै फाइनलमा प्रवेश गरे भने पार्कले हिटमा सबैभन्दा छिटो समयमा पौडिए पनि फाइनलमा फल्स स्टार्ट गरे । कोरियाली ओलम्पिक कमिटीले पार्कको पक्षमा फिना टेक्निकल कमिटीमा निवेदन दर्ता गराइसकेको छ ।
चार सय मिटर व्यक्तिगत मेड्लीमा जापानका कोसुके हगिनो सबैभन्दा छिटो समय तय गर्दै फाइनलमा प्रवेश गरे । दक्षिण अफ्रिकाका चाड ले क्लस दोस्रो तथा अमेरिकाका र्‍यान लोक्टे तेस्रो हँुदै फाइनल प्रवेश गरे ।
एउटै स्पर्धामा लगातार तीन ओलम्पिकमा स्वर्ण जित्ने अभियानमा रहेका जापानका काइसुके काइताजामा दोस्रो उत्कृष्ट समय पार गर्दै १ सय ब्रेस्टस्ट्रोकको फाइनलमा प्रवेश गरेका छन् । अस्ट्रेलियाका क्रिस्चियन स्प्रेन्जर छिटो समयका साथ फाइनलमा प्रवेश गरे । एक सय मिटर ब्रेस्टस्ट्रोकका वर्तमान विश्वविजेता अलेक्जेन्डर डालेको भने गत अप्रिलमा हृदयघात बन्द भई निधन भइसकेको छ ।
बेइजिङ ओलम्पिककी काश्यपदक विजेता अस्ट्रेलियाकी जेसे स्कीपर एक सय मिटर बटरफ्लाइमा २४ औं हँुदै सेमिफाइनल प्रवेश गर्नबाट बन्चित भएकी छिन् । महिलाहरुको चार सय व्यक्तिगत मेड्लीमा अमेरिकाकी विश्व च्याम्पियन एलिजाबेथ बासेल छिटो समयका साथ फाइनलमा प्रवेश गरिन् भने चीनकी ये सिवान दोस्रो हँुदै फाइनलमा प्रवेश गरिन् । महिलाहरुको चार गुणा सय मिटर रिलेमा अस्ट्रेलिया पहिलो, अमेरिका दोस्रो र नेदरल्यान्ड तेस्रो हँुदै फाइनलमा प्रवेश गरे ।

प्रतिक्रिया