विदेश जानेमा झापाका धेरै

काठमाडौं, १४ साउन । वैदेशिक रोजगारीका लागि झापाका युवा सबैभन्दा बढी बिदेसिएका छन् । गत आर्थिक वर्ष ०६८/६९ मा संस्थागत रूपमा सबैभन्दा बढी विदेश जानेमा जिल्लागत आधारमा झापा पहिलो नम्बरमा आएको हो । वैदेशिक रोजगार विभागका अनुसार सो आवमा झापाबाट मात्र ११ हजार सात सय ७६ युवा बिदेसिएका छन् ।

यस्तै, सबैभन्दा कम बिदेसिने जिल्ला डोल्पा रहेको छ । सो अवधिमा डोल्पाबाट नौ युवा मात्र बिदेसिएको विभागले जनाएको छ । गत आवमा तीन लाख ८४ हजार दुई सय १० मध्ये संस्थागत रूपमा (म्यानपावर एजेन्सी) मार्फत दुई लाख ६४ हजार तीन सय ३१ युवा बिदेसिएका थिए ।
विभागका अनुसार १७ जिल्लाबाट पाँच हजारभन्दा बढी युवा बिदेसिएका छन् । सो आवमा रोजगारीका लागि बिदेसिनेमा तराई क्षेत्रकै जिल्लाका युवा बढी छन् । विगत तराई क्षेत्रका अधिकांश युवा रोजगारीका लागि भारत जाने गरेका थिए । अहिले ती युवा खाडी र मलेसियालगायत मुलुकमा जाने क्रम बढ्दै गएको वैदेशिक रोजगार व्यवसायीको भनाइ छ ।
विदेश बढी जाने १० जिल्लाको सूचीमा एक मात्र पहाडको जिल्ला तनहँु रहेको छ । रोजगारीका लागि कम विदेश जाने जिल्लामा दुर्गम क्षेत्रका छन् । यस क्षेत्रबाट नौदेखि बढीमा ६९ युवा मात्र बिदेसिएका छन् । दुर्गम क्षेत्रमा वैदेशिक रोजगारसम्बन्धी जानकारी नहुँदा न्यून मात्र बिदेसिएको व्यवसायीको भनाइ छ । विभागका अनुसार जिल्लागत आधारमा बढी युवा विदेश जानेको सूचीमा धनुषा दोस्रो हो । गत आवमा त्यहाँबाट ११ हजार ६ सय ३६ बिदेसिएका छन् । मोरङ १० हजार सय ९४, महोत्तरी नौ हजार चार सय ७४, सिराहा नौ हजार दुई सय २०, नवलपरासी आठ हजार पाँच सय एक, सुनसरी सात हजार ६ सय २६, सप्तरी सात हजार तीन सय २८, कैलाली सात हजार तीन सय ११ र तनहु ६ हजार दुई सय ७५ युवा बिदेसिएका छन् ।
महिलामा सबैभन्दा बढी मोरङबाट सात सय ४९ बिदेसिएका छन् । गत आवमा झापा ६ सय ४७, सुनसरी दुई सय ९८, सिन्धुली एक सय ७३, चितवन एक सय ७२ र नवलपरासी एक सय ६२ महिला बिदेसिएका छन् । डोल्पा र जुम्लाबाट भने महिला बिदेसिएका छैनन् । वैदेशिक रोजगार कार्यदल अध्यक्ष तथा श्रम विज्ञ डा. गणेश गुरुङका अनुसार तुलनात्मक हिसाबले झापा बढी जनसंख्या भएकाले त्यहाँबाट बिदेसिने संख्या बढी गएको हो । त्यहाँ विगत पहाडबाट बसाइसराइ भएर आएका छन् । त्यसैले उनीहरू विदेश जान खोज्छन् ।
पछिल्लो ५/६ वर्षमा तराई क्षेत्रका युवा भारत छाडेर खाडी र मलेसियालगायत मुलुकमा जान थालेको डा. गुरुङको भनाइ छ । एक सय ९० वर्षदेखि पहाडका युवाहरू भारतबाहेक मुलुकमा रोजगारीमा जान थालको गुरुङ बताउँछन् । गुरुङका अनुसार तराई क्षेत्रबाट कम बिदेसिएकाले पहाडको महिलाको तुलानामा कम स्वतन्त्र र आर्थिक सम्पन्न रहेको छ ।

गत आवमा बढी विदेश जाने जिल्ला
जिल्ला         पुरुष      महिला

झापा        १११२९          ६४७
धनुषा             ११६१५               २१
मोरङ १०३५५            ७४९
महोत्तरी ९४५०              २४
सिराहा ९२०९         ११
नवलपरासी ८३३९             १६२
सुनसरी ७३२८              २९८
सप्तरी ७३१०               १८
कैलाली ७२४२             ७१
तनहुा ६२१३                ६२
रूपन्देही ५८०५                 ११९
चितवन ५६६३                १७२
सर्लाही ५६५७               ६८
धादिङ ५३३७               १३९
सिन्धुली ४९०८                   १७३
दाङ ५०२८             ५२
इलाम ४७६७                २६३

प्रतिक्रिया