प्रहरीकै मिलेमतोमा भारतीय डिजेल तस्करी

रौतहट, १४ साउन । रौतहटको सदरमुकाम गौरबाट तीन किलोमिटर पूर्व रहेको बेलबिछवाबाट डिजेल तस्करी भइरहेको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बेलबिछवा तथा नेपाल प्रहरीको बेलबिछवा चौकीको समेत मिलेमतोमा तस्करले भारतबाट डिजेल भित्र्याइरहेका छन् ।
नाकाबाट दैनिक हजारौँ लिटर डिजेल तथा मट्टीतेल साइकलमा राखेर नेपालमा भित्र्याउने काम भइरहेको छ । भारतीय सीमासँग जोडिएको नाका हुँदै दैनिक साइकलमा राखेर भारतीय डिजेल ल्याउने गरिएको हो ।
नेपालमा भन्दा भारतमा डिजेल सस्तो भएकाले भारतीय डिजेल सदरमुकाम गौरका विभिन्न पेट्रोल पम्प तथा पसलमा तस्करले बिक्री गर्ने गरेका छन् । ‘दैनिक सातपटकसम्म साइकलमा जर्किन बोकेर तेल ओसार्छु, प्रत्येक पटक यहाँ बसेका सशस्त्र प्रहरीका जवानले प्रति साइकल दुई सय रुपियाँ लिन्छन्,’ साइकलमा तीनवटा ५० लिटरका जर्किनमा डिजेल तथा एक बोरा भारतीय मल बोकेर आउँदै गरेका दिनेश यादवले भने, ‘प्रहरीलाई पैसा खुवाएर काम गरिरहेका छौँ ।’
नेपाली बजारमा डिजेलको मूल्य ९३ रुपियाँ छ भने भारतीय बजारमा ७२ रुपियाँ छ । भारतीय बजारबाट ल्याइएको डिजेल तस्करले ८२ देखि ८५ रुपियाँका दरले सदरमुकाम गौरका पेट्रोल पम्प तथा पसललाई बिक्री गर्दै आएका छन् ।
दुई दर्जनभन्दा बढी साइकल दैनिक रूपमा तेलका ५० लिटरका जर्किन बोकेर नाका ओहोर–दोहोर गरिरहेका हुन्छन् ।

प्रतिक्रिया