डाक्टर अभावमा रक्तसञ्चार सेवा सञ्चालनमा आएन

धनकुटा, १४ साउन । जिल्ला अस्पताल धनकुटामा स्थापना गरिएको रक्तसञ्चार सेवा केन्द्र डाक्टरको अभावले सञ्चालनमा आउन सकेको छैन ।

१० महिनाअघि केन्द्र स्थापना गरिए पनि डाक्टर अभावका कारण सञ्चालनमा आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका वरिष्ठ जनस्वास्थ्य अधिकृत भानु याङदेनले बताए । रक्त संकलन क्रेन्द्र स्थापना भएसँगै सुरुका केही समय रगत संकलन गरिएको भए पनि पछि डाक्टर नभएका कारण बन्द भएको हो । सेवा केन्द्र सञ्चालन हुँदा प्रसूति र दुर्घटनामा परेका बिरामीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगर लैजानु पर्ने बाध्यता हटेको थियो ।
जिल्ला अस्पतालमा शल्यक्रिया सेवा नभएका कारण पनि सेवा केन्द्र प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको हो । स्वास्थ्य मन्त्रालयको सहयोगमा ४० पिन्ट रगत मौज्दात राख्न सकिने क्षमताको सेवा केन्द्र स्थापना भएको हो । इमरजेन्सी र ओपिडी सेवा सञ्चालन हुँदै आएको जिल्ला अस्पतालमा केन्द्र स्थापना भएपछि छिमेकी जिल्ला तेह्रथुम, संखुवासभा, भोजपुरका सेवाग्राहीलाई समेत सुविधा पुग्ने बताइएको थियो ।

प्रतिक्रिया