अस्तु सेलाउन आएका परिवारै दुर्घटनामा

बुटवल, १४ साउन । भारतको दिल्लीमा मृत्यु भएका आफन्तको अस्तु रिडीमा सेलाउन आएका गुल्मी थानपतिको एक परिवारका सबै सदस्यको पाल्पामा दुर्घटनामा मृत्यु भएको छ ।

शुक्रबार मध्यरातमा भएको गाडी दुर्घटनामा एकै परिवारका ६ सदस्य र नातेदारसहित १५ जनाको मृत्यु भएको हो । दिल्लीदेखि बी एल वान वाइ ए ४६७८ नम्बरको भारतीय जिप रिजर्भ गरेर आएको परिवार पाल्पाको बौघा पोखराथोक–१ स्थित जोर्ते भिरमा दुर्घटनामा परेको हो । जिप सडकबाट सय मिटर तल खस्दा जिपमा सवार १६ मध्ये १५ जनाको ज्यान गएको हो ।
मध्यरातमा दुर्घटना भएका कारण समयमै उद्धार हुन नसक्दा धेरैको ज्यान गएको प्रहरीको अनुमान छ । भिरबाट खसेको जिप शनिबार बिहान जोर्तेका स्थानीयले बाख्रा चराउन गएका बेला देखेका थिए । गुल्मीको थानापति गाविसस्थित थोग्रामा रहेका आफन्त र पुख्र्यौली घर आएका उनीहरू घर पुग्न करिब एक घन्टा बाँकी हुँदा दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा ज्यान गुमाउने १५ मध्ये १० जनाको शनिबार बेलुकासम्म सनाखत भएको छ । गुल्मीको थानपतिस्थित थोग्रामा पुख्र्यौली घर ३० वर्षदेखि सपरिवार भारतमा रहेका धनबहादुर रानाको परिवार दुर्घटनामा परेको हो । राना भारतको पञ्जाव एन्ड सिन्ध बैंकमा म्यानेजर थिए । उनैको अस्तु लिएर आएका परिवार दुर्घटनामा परेका हुन् ।
रानाको पाँच दिनअघि भारतमै ज्यान गएको थियो । रिडीमा अस्तु सेलाउन र गाउँमा काजकिरियाका लागि आएका परिवार नै दुर्घटनामा परेको उनका आफन्तले बताए । रानाको परिवार ३० वर्षदेखि भारतमा बस्दै आएको थियो । दुर्घटनामा धनबहादुरकी पत्नी २७ वर्षीया गंगा रानासहित १८ वर्षीया काबेरी राना, २२ वर्षीया तिर्सना राना, १५ वर्षीया भावना राना, पाँच वर्षीया सानु राना, ४८ वर्षीया खगिसरा राना, ३० वर्षीया रीता राना र उनको ९ महिनाकी छोरी कोशिका रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, १८ वर्षीया स्याली राना, ३० वर्षीया नरबहादुर राना र चालक अशोक कुमारको पनि मृत्यु भएको छ । प्रहरीले चारजनाको सनाखत हुन नसकेको जनाएको छ । दुर्घटनामा घाइते सचेन्द्र राना र निलेस रानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । प्रहरीका अनुसार धनबहादुरका दुईवटी पत्नी, उनीहरूका छोराबुहारी, छोरी र नातिनातिना एउटै जिपमा नेपाल आएका थिए ।

प्रतिक्रिया