एमाओवादीलाई सत्ताच्युत गर्ने तयारी

काभ्रे, १३ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीको सर्वसत्तावाद विरुद्द आन्दोलनको आँधीबेरी ल्याउने तयारी भईरहेको बताएका छन् ।
एमाले काभ्रे क्षेत्र नम्वर १ को दोश्रो क्षेत्रीय अधिबेशनको आज भकुण्डेमा उद्घाटन गर्दै नेता नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई सत्ताबाट च्युत गरे जस्तै एमाओवादीलाई पनि जनताले त्यसरी नै च्युत गर्ने चेतावनी दिए ।
जातीयताका नारा दिएर एकीकृत माओवादीले विष रोपेको आरोप लगाउँदै नेपालले एकल जातीयताका आधारमा कुनै पनि हालतमा संघीयता हुन नसक्ने स्पष्ट पारे ।
एमालेले अहिलेको राजनीतिक र संवैधानिक संकट टार्न सहमतिको सरकार गठन गरी स्थानीय निकाय र संसदको एकै पटक निर्वाचन गर्न प्रस्ताव गरेको नेपालले बताए ।
संसदलाई नै संविधान निर्माणको अधिकार दिएर संविधान निर्माणमा सहमति जुट्न नसकेका विवादित विषयहरुलाई जनमत संग्रहको माध्यमबाट टुङ्गयाउनु पर्ने नेपालको भनाई थियो ।
माओवादीलाई नेपाली आमाको धुन्धुकारी सन्तान भएको बताउँदै नेता नेपालले जनताका तमाम समस्यामा बेवास्ता गर्ने सरकार कुम्भकर्ण भएको आरोप लगाए ।

प्रतिक्रिया