एयरपोर्ट : निरन्तरको लज्जा दैनिकी

आफ्नो भूमिमा गरिएका कुकर्महरूको पापबाट मुक्तिका लागि फरार हुन एयरपोर्ट नै चाहियो, शोषणको महाजालबाट थिलथिलो जीवन गुजाराका लागि मुग्लानिन पनि एयरपोर्ट चाहियो । बाँझा खेतबाट बिहान उठ्दै गरेको बाफ पन्छाएर हरियाली भर्ने र मंसिरमा फाँटहरूलाई पहेँलपुर बनाउँछु भन्ने सपना टुटेपछि मानिसले अहिले एयरपोर्टमै आँखा लगाउँछ र मरुभूमिको यात्रा सुरु गर्छ । वि.सं. २०१२ मा तत्कालीन राजा महेन्द्रले यस विमानस्थलको आधिकारिक रूपमा उद्घाटन गरेर आफ्ना बाबुको बिर्तामा फेरिदिए – पिताश्री राजा त्रिभुवनको नामबाट यसलाई चिनाउने राजकीय प्रबन्ध मिलाएर । अघिल्लो वर्ष सिएनएनले गरेको अन्तर्राष्ट्रिय सर्वेक्षणको नतिजाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वका १० अति खराब विमानस्थलमध्ये एउटामा दर्ता भएको छ ।
कोटेश्वर चोकभित्रपट्टिको एउटा हिले सडकमा असार पहिलो साता उसलाई हिँडिरहेको देख्दा मैले फोटोग्राफर स्टिभ मक्करीको विख्यात तस्बिरकी पात्र ‘अफगान गर्ल’ सम्झिएको थिएँ । ‘नेसनल ज्योग्राफिक’ म्यागेजिनको आवरणमा सन् १९८५ मा छापिएको त्यो फोटोकी अफगान शरणार्थी युवती ‘सरबत’का आँखा र मुहारमा निकै पीडा र थकान झल्किन्छ । त्यस्तै, पीडा र थकान मैले कोटेश्वर चोकभित्रको एउटा पिच भत्केको सडकमा चप्पल लतार्दै हिँडिरहेको मानसिंह शाहीका मुहार र आँखामा देखेँ ।
मुग्लिनको कुनै छाप्रे होटलमा भाँडा माझेर वाक्क भएपछि घर फर्किएको त्यो १८ वर्षे किशोर घरबाट पुन: काठमान्डु लम्किएको रहेछ । ‘फिस’ लेखिएको चप्पल लगाएको, पहेँलो गन्जी र मैलो पाइन्टमा भेटिएको ऊ अब साउदी अरब जान चाहन्छ । ‘भाँडै माझ्नुपरेपछि बरु विदेशमै माझ्छु नि, किन नेपालमा माझ्नु ?’ भन्ने बोध उसलाई भएको रहेछ । म्यानपावर अफिसको दिनभरको दौडधुपले बेस्सरी थाकेको छ, फतक्क गलेको छ र जिउ लुतुक्क परेको छ ।
‘सर, मेरो दु:ख तपाईंलाई भनेर के गर्नु ? आफ्नो दु:ख र भाग्य आफैँसँग छ,’ उसले लामो कथाको पेटारो खोल्नुअघि भन्यो । साउदी अरब जाने निर्णयअघि उसले काठमान्डू आएर पनि एउटा निर्माण आयोजनामा बालुवाको भारी बोकेको थियो, एउटा कर्कश ठेकेदारको गाली सहेको थियो, साउदी जान आमाको कानको ढुंग्री बेचेर म्यानपावरलाई बुझाउन ल्याएको केही पैसाचाहिँ गेस्टहाउसमा बसेरै सिद्धिएको थियो । केही महिना निर्माण कम्पनीमा काम गरेपछि मात्रै उसले साउदी उड्ने चालीस हजार रुपियाँ जम्मा गर्न सफल भएको थियो (यो सफलता स्वरोजगारवादी डा. बाबुरामले प्रधानमन्त्रीको कुर्सी पाउन गरेकोभन्दा हजारौँ गुना बढी मिहिनेतको फल थियो) । साउदी उड्ने अघिल्लो यो साँझ कोटेश्वरमा भेटिएको ऊ त्यो सबै बिर्सन चाहन्छ । साउदी जान चाहन्छ र आमाको गालिएको ढुङ्ग्री फिर्ता गराउन चाहन्छ । उसको कथा बनाउने लोभमा त्यस किशोरलाई पछ्याउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा देखिएका अनेक कथाको जालमा परेर यो लोकेसन लेखियो ।
मजदुरी साउदी अरबमा पनि पक्कै सजिलो छैन । ‘लेबरको पैसा मार्दैन होला त †’ साउदी उड्नुअघि उसले बोलेको अन्तिम वाक्य यही थियो, ‘हेरौँ, भाग्यले कता लैजान्छ †’ ऊ त गयो तर ऊजस्ता धेरै मानसिंह छन् उड्न तरखर गरिरहेका । यस विमानस्थलमा प्रत्येकका हलचल, प्रत्येकका पीडा अंकित छन् । ओहो, कति धेरै मानसिहरू † उही साउदीबाट प्रत्येक साताजसो कफिनमा मगमग भएर बूढा बाबुआमालाई उपहारस्वरूप आउने मुढोजस्तो लासको कथा विमानस्थललाई थाहा छ । यो मृत्यु र शोकहरूको साक्षी †

अरब मरुभूमिको तातो हावामा देह बिसाएका कैयन खटिया फर्कने द्वार यही हो र युरोप अमेरिकामा डिनर–लन्च गरेर फर्कने सम्भ्रान्तहरू ओहोरदोहोर गर्ने आकाशगंगाको बाटो पनि यहीँबाट सुरु हुन्छ । सैयौँ रोपनी ओगटेको यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको प्रमुख र हालसम्म चालु एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो, जसको गर्भमा अनेक कथा छन् । जीवनबाट पलायन हुनेहरूका र उल्लासका उपकथा छन् जीवन बनाउनेहरूका । गोरेटोहरू नै अल्मलिने जंगलजस्तो यो लोकेसनमा म गोरेटो पहिल्याउने कोसिसमा छु । मलाई नै थाहा छैन, कुनै एउटा मात्र पाइला सार्न सक्छु कि सक्दिनँ ?
समाजमा शोषक सामन्त छन् र शोषितहरू पनि छन् । शासकहरू छन् र शासितहरू पनि छन् । हत्यारा, चोर, डाँका लपंmगा र पीडितहरू पनि उत्तिकै छन् । आफ्नो भूमिमा गरिएका कुकर्महरूको पापबाट मुक्तिका लागि फरार हुन एयरपोर्ट नै चाहियो, शोषणको महाजालबाट थिलथिलो जीवन गुजाराका लागि मुग्लानिन एयरपोर्ट चाहियो । बाँझा खेतबाट बिहान उठ्दै गरेको वाफ पन्छाएर हरियाली भर्ने र मंसिरमा फाँटहरूलाई पहेँलपुर बनाउँछु भन्ने सपना टुटेपछि मानिसले अहिले एयरपोर्टमै आँखा लगाउँछ र मरुभूमिको यात्रातिर अघि बढ्छ । वारदातबाट हतियारमा लागेको रगत पखाल्दै अपराधी एयरपोर्ट हानिन्छ । सत्ता जोगाउन र सत्ता प्राप्त गर्न स्वप्नहीन राजनीतिक नेतृत्व सधैँजसो एयरपोर्टको विशिष्ट कक्ष प्रवेश गर्छ । यस्तो एयरपोर्टका भने आफ्नै दारुण कथा छन्, आफ्नै अस्तव्यस्त व्यवस्थापनका जीर्ण व्यथा छन् । जसलाई हेर्न यसको स्थापना कालदेखिको ऐतिहासिकतामा प्रवेश गर्नैपर्छ ।
यस विमानस्थलले ‘गौचरन विमानस्थल’को नामबाट विसं २००६ देखि नागरिक उड्डयन सेवा सुरु गरेको थियो । विसं २०१२ मा तात्कालीन राजा महेन्द्रले यो विमानस्थलको आधिकारिक रूपमा उद्घाटन गरेर आफ्ना बाबुको बिर्तामा फेरिदिए– पिताश्री राजा त्रिभुवनको नामबाट यसलाई चिनाउने राजकीय प्रबन्ध मिलाएर । काठमाडौं महानगरपालिकाको पूर्वीक्षेत्रको चक्रपथभन्दा बाहिर मनहरा नदीको पश्चिममा अवस्थित यस विमानस्थलको दक्षिणपट्टि कोटेश्वर, उत्तरमा गौरीघाट र पश्चिममा चक्रपथ पर्छन् । अघिल्लो वर्ष सिएनएनले गरेको अन्तर्राष्ट्रिय सर्वेक्षणले भन्छ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वका १० खराब विमानस्थलमध्ये एउटामा दर्ता भएको छ ।

सरकारले अन्य केही संस्थानलाई समय–समयमा अर्बौं रुपियाँको ऋण सहयोग गर्ने गरेको छ तर राष्ट्रिय ध्वजावाहकलाई विमान किन्न आर्थिक सहायता गर्ने नामै लिँदैन । हवाई इन्धनमै पनि संसारकै सबभन्दा महँगो मूल्य नेपालकै हो । बैंकक, हङकङ, क्वालालम्पुरमा हवाई इन्धनको दर क्रमश: अमेरिकन डलर आठ सय ६१, आठ सय ५४, आठ सय ४८ प्रतिकिलोलिटर छ भने नेपालमा एक हजार दुई सय १५ छ, जुन लगभग अमेरिकन डलर तीन सय ५० भन्दा बढी हुन आउँछ । उपर्युक्त स्थानहरूमा हवाई इन्धनको दर समयसमयमा अमेरिकन डलर आठ सयदेखि सात सय ५० सम्म झर्दा पनि नेपालमा चाहिँ अमेरिकन डलर १२१५ नै । प्राधिकरणले लिने शुल्क पनि विदेशमा भन्दा नेपालमै बढी छ । विमान अवतरण, पार्किङ दर पनि विदेशभन्दा नेपालमै बढी छ । त्यस्तै यात्रुलाई चेक–इन गर्न प्रयोग गरिने क्युट व्यवस्था पनि अन्य देशमा भन्दा बढी छ । नेपालमा क्युटको दर प्रतियात्रु अमेरिकन डलर १ का दरले २ सयजना यात्रु बोक्ने क्षमता भएको विमानका लागि करिब १८ हजार रुपियाँ हुन आउँछ । विदेशमा सरदर एकमुष्ट रकम ४ हजारदेखि ६ हजारका बीचमा मात्र छ । कहीँ नि:शुल्क छ । नेपालमा मौका पाउनासाथ सातपुस्ताका लागि जोहो गर्ने प्रवृत्ति छ । त्यसैको परिणाम वर्ष २०६८ मा नेपालले भ्रष्टाचारमा कीर्तिमान हासिल गरेको छ । विमानस्थलमा पनि भ्रष्टाचार बढेको कुरा लुकेको छैन ।
अन्तर्राष्ट्रिय उडानमा सिट क्षमताका आधारमा नेपाल ९१औँ स्थानमा भएको सेन्टर फर एभिएसन (कापा) को तथ्यांकले बताउँछ । साताको ६८ हजार ६ सय २७ सिट क्षमतामा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालबाट उडान गरिरहेका छन् । नेपालले पुराना हवाई सेवा सम्झौता संशोधन गर्दै उडान गर्न सक्ने सिट क्षमता बढाएपछि विश्वका २ सय ३१ मुलुकमध्येमा ९१औँ स्थानमा पुगेको हो ।
ििि
विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने सरकारको तयारीको कुराले बजार निकै ततायो । राष्ट्रिय हित एवं सुरक्षा संवेदनशीलतालाई उपेक्षा गर्दै अपारदर्शी तरिकाले देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्थापन जिम्मा विदेशी कम्पनीलाई दिने कामचलाउ सरकारको तयारीप्रति धेरै दल र नागरिकले चर्को विरोध गरेका थिए । व्यवस्थापनको जिम्मा भारतीय कम्पनी ‘इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सभिर्सेज’लाई दिने तयारीको खबरले नेपाली मिडिया ततायो । यस्तो लाग्छ, भारत विभिन्न रणनीति अपनाएर नेपालको विमानस्थल कब्जा गर्ने षड्यन्त्रमा छ । यस्तो भयो भने बाबुराम भट्टराई इतिहासकै सबैभन्दा बढी राष्ट्रघाती ठहरिनेछन् । विमानस्थल व्यवस्थापनको जिम्मा लिने भारतको योजना नेपाली आकाश कब्जा गर्ने रणनीति हुनसक्छ । व्यवस्थापन भारतलाई जिम्मा दिने प्रसंगमा नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष प्रधानमन्त्री बाबुराम भट्टराई नयाँ लेन्डुप दोर्जेको बाटोमा हिँडेको आरोपसमेत लगाए ।

एउटा मुसा थियो, विमानमा छिरेछ, विमान उडेछ, मुसोले देशविदेश डुलेछ, लास्टमा मुसो भेटिएछ † विमानस्थलको त मुसो पनि भाग्यमानी हुँदोरहेछ । त्यहाँको मुसोले प्लेन चढेर विदेश सयर गर्नेे मात्र होइन, देशका अखबारदेखि फेसबुकसम्म ठाउँ पाउँछ । मौका मिल्दा आक्कलझुक्कल टेलिभिजनमा पनि देखिन्छ । मुसा विमानभित्र हुँदा विमानको तार काट्न सक्थ्यो र तार काट्न भ्याएको भए विमान दुर्घटनामा पर्न सक्थ्यो ।
अत: मुसा विमानभित्रै भएको बखत उडान नगर्नू भन्ने गरिन्छ । तर, यति थाहा हुँदाहुँदै पनि विमान उड्यो । ‘माथि’को दबाबमा क्याप्टेनले प्लेन उडाए रे † मुसाले १.३२ करोड घाटा लगायो रे । त्यो घाटा पूर्ति गर्न माथिकाले कति घोटाला गरे भन्ने त थाहा छैन तर यति थाहा छ– एउटा मुसा विमान चढेका कारण घाटा लाग्यो । निगमभित्रकाले भ्रष्टाचारमार्फत बर्सेनि कति करोड घाटा लगाइरहेका छन्, थाहा छैन । जे होस्, मुसा बोकेरै फकिर्यो जहाज मलेसियाबाट ।
त्यसो त विमानस्थललले मुसाको मात्र कहाँ हो र, बाँदर र पन्छीको पनि आतंक झेल्दै आएको छ । त्यसमा अहिले भुस्याहा कुकुर पनि थपिएका छन् । विमानस्थलको आगमन होस् या प्रस्थान सबैतिर भुस्याहा कुकुरले अड्डा जमाएका छन् । विमानस्थलको सुरक्षा जिम्मा पाएका ‘डग स्क्वाड’का तालिमप्राप्त कुकुर हिँड्दा भुस्याहाहरू सामूहिक रूपमा भेला भएर धावा बोल्छन् । सुरक्षाकर्मीलाई आफ्ना कुकुर सम्हाल्न धौधौ हुन्छ ।

एक समय अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले नेपालको सुरक्षा प्रशासनको आँखा छलेर त्रिभुवन विमानस्थलबाट हात्तीसमेत छिराइदिने चुनौती दिएका थिए । विमानस्थलको अव्यवस्थाका कारण मुलुक बदनाम भइरहेको छ भने सुरक्षा चुनौती कायमै छ । केही समयअघि तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरको भिसा प्रकरणपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अर्काे पाटो उदांगो भयो । भिसा नै नभएको पासपोर्टमा मन्त्री विष्टलाई विदेश जाने अनुमति दिने विमानस्थलबाट अब के आशा गर्नु ? परिणामस्वरूप मन्त्री विष्ट अबुधाबी अध्यागमन प्रशासनको नियन्त्रणमा बस्नुपर्‍यो । त्यस घटनाले अन्तर्राष्ट्रिय स्तरमै नेपालको बेइज्जती भयो ।
यसका दैनिकीहरूले बताउँछन् एयरपोर्टको व्यवस्थापनका कयौँ लज्जाहरू छन्, एयरपोर्टसँग नागरिकहरूको गरिबी र मृत्युका कैयौँ शोकहरू छन्, सत्ता प्राप्ति र समाप्तिका कैयौँ उत्साह र निराशा छन् । चाहे सात सालमा त्रिभुवनको नेपाल फिर्ती र प्रजातन्त्रको बहाली होस् वा नवनेपालको कृत्रिम मन्त्र लिएर आजका दिनमा एयरपोर्ट भित्रिने गोरेहरूका चमकपूर्ण अनुहार, ती उड्ने यहीँबाट हुन् । नेपालको सक्कली अनुहार देखाउने साँचो यसै विमानस्थलसँग छ । र, त्यसलाई भजाउन जानेका छन्, नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवाका हन्तकालीहरूले । देशलाई कंगाल बनाउन सार्‍है ठूलो योगदान गरेबापत तिनले कदरपत्र र पुरस्कार पाउँछन् ।
विमानस्थलभित्र दुर्दमनीय अव्यवस्था कायम गरिदिएबापत हाम्रा महान् राजनीतिकर्मीहरूले तिनलाई अभयदान दिएका छन् । यस देशका महान् तस्करहरूलाई तस्करीमा सघाएबापत हाम्रो महान् भ्रष्टाचारविरोधी सरकारले तिनलाई बेलाबेला बढुवासमेत गर्छ । मानसिंहहरूलाई मुग्लान जाने बाटो खोलिदिएको छ, यस विमानस्थलले । यहाँ देखिन्छन् अनेक रंग– विदेश जाने अनि अरबमा पसिनाको खोलो बगाएर आफ्नो भाग्य खोज्न फेरि नेपाल पस्नेहरूको लर्को…। लाग्छ, यो एउटा एब्स्ट्रयाक्ट पेन्टिङ हो । र, हो एउटा रोचक लोकेसन ।

प्रतिक्रिया