मुटुमा देशको किला रोपिएपछि…


निस्लोट त्यो कालो हुरीले देशले ओढेको छाता उडाइलगेको छ । देशले शरीर ढाकेको दौरासुरुवाल र ढाका टोपी मात्र होइन, त्यो ढाकाको गुन्युचोलो पनि धुजाधुजा पारेर काडाका डोबहरू यसको शरीरभरि रगताम्मे गहिरा छन् । त्यो डाँफे र गाईहरू मारेर सुकुटी बनाएको छ तखतामाथि † अरू त के र ? बोल्ने कुनै भाषा र मानकको पनि सुकुटी चाम्रिइरहेको छ अचेल । सम्पूर्णमा देश त्यस्तै अव्यक्त पीडा भइरहेको बेला एउटा नागरिक के सोचिरहेको होला भन्ठानेर, देशको एउटा टेलिभिजनमा हरेक साता आधा घन्टा स्वाभिमानको इज्जत गरेर सुरु भएको कार्यक्रम हो– जय स्वाभिमान † र, त्यसले पाएको प्रशंसा अनि आलोचनाको उपज हो पुस्तक– जय स्वाभिमान †
त्यस क्रममा इतिहासका कतिपय पानाहरू च्यातेर मिल्काइदिएका छौँ र च्यातेर मिल्क्याइएका कतिपय पानाहरू टिपेर इतिहासको ढड्डामा जोड्ने प्रयास गरेका छौँ । यी दुवै अवस्थामा आलोचित र प्रशंसित हुनु स्वाभाविक छ । सीमित र निहित हितअनुकूल बग्दै आएको इतिहासको नदीमा दुवाली थुनेर माछा मारेको त होइन तर निश्चित समूह र वर्गअनुकूल मात्रको स्वाभिमान–परिभाषालाई साबित गरिदिएको हो कि, यो मुठ्ठीभर सम्भ्रान्तहरूको मात्र खेलिखाने परिभाषा होइन, दुवाली थुनेर इतिहास–नदीबाट केही पानी, केही पर धकेलिदिएर देखाइदिएका हौँ । यसले सधैँ– त्यही नदीमा, त्यसैगरी एउटै रफ्तार लिएर बगिआएको इतिहासलाई केही झड्का दिएको हुनुपर्छ । यसको अर्थ, इतिहासको अपव्याख्या गरेर वा इतिहासलाई बाघको खोल ओढाएर– बाघै हो भन्नेहरूको आलोचना भएको हुनुपर्छ । तर, यसको अर्थमा इतिहासको छाला तरेर त्यसलाई रक्तमुच्छेलचाहिँ पारिएको होइन । मात्र, इतिहासलाई ओढाइएको नक्कली खोल झिकेर त्यसको असली स्वरूप खिच्दै देखाएको हो– वर्तमानको अनुहार र संकेत गरिरहेका हो भविष्यको शिर ।
तर, यहाँ बांगो र अपांगो इतिहास वा खोल ओढाइएको इतिहास पढाइन्छ र त्यो मान्दै–मान्दैन नयाँ पुस्ता । खाली, कलपुर्जा मर्मत गरेको राष्ट्रियता सिकाइन्छ र उही खुकुरी, हाम्रो बहादुरी वाला कथा सुनाइन्छ, हुँदै–हुँदैन अब भन्छ– नयाँ पुस्ता । त्यो बूढेसकालको अड्डी र यो ऊर्जाकालको जिद्दीबीचको तानातानमा छ– नेपाली राष्ट्रियता र स्वाभिमानको परिभाषा ।
ठीक यही मोडमा वर्तमान खराब रह्यो । साँच्चै भन्दा देश देशजस्तो रहेन । विधि र व्यवस्था तिनैजस्तो रहेन । देश हुनका लागि आवश्यक आधारहरू नै भएनन् । नीति र मान्यताहरू भएनन् । मुटुमा राष्ट्रियता र स्वाभिमानको ढुकढुकी भएर पनि नागरिक असम्मान बढ्यो । अनि, देश भावनामा मात्र कसरी बाँच्न सक्छ ? त्यसपछि, नागरिक आफ्नो असम्मानमा त्यही भावना नामको राष्ट्रियता र स्वाभिमानको पोको बोकेर लाग्यो– परदेशतिर । आजै, देश त मर्दैन होला † तर, नागरिक मर्दा गाउँमा मलामी छैनन् ।
यस्तो अवस्थामा असाध्यै देश दुखेपछि भन्न थालिएको हो– जय स्वाभिमान † हामीलाई थाहा थियो– यी गौरवमा, गौरवका साथ भन्नुपर्ने शब्दहरू थिए । तर, जुन देशमा गौरब नै मरणासन्न छ, त्यहाँ कसरी भन्नु गौरवको जिन्दावाद ? र, पनि हामीलाई गौरवकै इतिहास निर्माण गर्नु छ । जहाँ गौरव मरणासन्न छ र फेरि गौरवकै निर्माण गर्नु छ । यी दुवै अवस्थाको बीचमा फेरि हामीले भन्नु छ– जय स्वाभिमान । यही भनिआएका छौँ ।
साँढे तीन वर्षअगाडि यसको परिकल्पना गर्दा यो एक टेलिभिजन कार्यक्रम मात्र थियो । आमनेपालीमा जब्बर बनेर रहेको पुरानो र खिया लागिसकेको राष्ट्रियता र नागरिक–स्वाभिमानको परिभाषा बदल्ने यो एउटा अभियान थियो । नेपाली टेलिभिजनमा राष्ट्रियता र स्वाभिमान केन्द्रित अरू कुनै टिभी कार्यक्रम खासै नभएका र नचलेका उद्योगमा यस्तो प्रयोग एक प्रकारको चुनौतीपूर्ण थियो । यी अवस्थाहरूबीच नेपाली आकाशमा न्युज २४ टेलिभिजनको उदय भएसँगै हामीले सुरु गरेको राष्ट्रियतालाई नयाँ परिभाषा दिने अभियान नै हो– जय स्वाभिमान ।
हरेक शनिबार राति ढाकाटोपी र दौरासुरुवालको पहिरनमा स्वाभिमान र राष्ट्रिय पहिचानका विषयहरूमा यो कार्यक्रम सञ्चालन भइरहेकै बीच नेपालको सरकारले त्यो पहिरन
(ढाकाटोपी र दौरासुरुवाल) थुतेर भन्यो– यो पोसाक अब राष्ट्रिय पोसाक होइन । अर्थात् सरकारले राष्ट्रिय पोसाकका रूपमा ढाकाटोपी र दौरासुरुवाललाई खारेज गरिदियो । कुनै समयको नेपालको राष्ट्रिय पोसाक त्यही ढाकाटोपी र दौरासुरुवालकै पहिरनमा ‘जय स्वाभिमान’ जारी राख्यौँ ।
खासगरी विभिन्न बाध्यता र चाहनामा देश छाडेर परदेसिएका नेपालीबीच यसले फरक र सकारात्मक छाप छोडेको हामीले महसुस गरेका छौँ । कारण, जन्मभूमिदेखि टाढा भएपछि यसका यादहरूले झनै पिरोल्ने रहेछ नेपालीलाई । यसको अनभूति जय स्वाभिमान यात्राका क्रममा विभिन्न देशहरूमा हामीले गरेका छौँ ।
देशभित्र झन् प्रशस्त यस्ता सन्तानहरू छन्, जसले आफ्नो जन्मभूमिलाई अगाध आदर, सम्मान र प्रेम गर्छन् । जन्मिनासाथ पेटबाट काटेर गाडिएको नाभीको माटोलाई उठाएर ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनिरहेछन् । ती हरेकको मुटुमा देश छ । आफ्नै जीवन असुरक्षामा राखेर तिनीहरू आज यो देशमा छन् भन्दा अलिकति डर लागेर आउँछ । तर, सत्य भएर आउँछ ।
तैपनि, देशको पहिचान र नागरिकको स्वाभिमान बलियो छैन वा यो एकदमै पुरानो परिभाषामा कैद छ । किताबमा पढिने राष्ट्रियता पनि उस्तै जीर्ण छ र व्यवहारमा गरिने राष्ट्रियता पनि उस्तै बूढो र कमजोर भइसकेको छ । देश पहिचान र उन्नतिको एक बाधक नै यही हो जस्तो लाग्छ हामीलाई । जसले स्वाभिमानलाई कमजोर बनाइरहेको छ । राष्ट्रियता परिभाषाको मामिलामा त यस्तो भइसकेको छ कि, संसार न्युक्लियर बमहरू बनाउँदै छ, हामी वीर गोर्खाली भएर भाला, खुकुरी र तरबारको बहादुरीकथाको आत्मरतिमा लीन छौँ । संसार हिमालहरू पखाल्ने आणविक भट्टी र विकिरणको खेती गरिरहेछ, हामी हिमाल रहेसम्म रहने राष्ट्रियताको भजन गाइरहेका छौँ । वर्षौंदेखि नेपाली हुनुको पहिचानमा यो देशमा भौगोलिक संयोगले हिमाल पर्नु, खुकुरी र तरबार लिएर वर्षौं पहिले पुर्खाले युद्ध लड्नु र त्यही खुकुरीवीर हुनु, घरेलु हिमालका चुचुरा चढेर विश्व रेकर्ड राख्नु, देशमा जन्मिएका बुद्धभन्दा बुद्धको देशमा जन्मिएका नेपाली हुनु । यस्तैयस्तै परिचयहरूको दाम्लोमा बाँधिएका छौँ हामी । मानौँ यसबाट कहिल्यै फुत्किन नसक्नेगरी ।
तर, यस कार्यक्रममार्फत हामीले देशलाई स्वत: प्राप्त र संयोगमा प्राप्त यस्ता केही परिचयहरूभन्दा राष्ट्रियतालाई माथि उठेर र उठाएर हेर्ने कोसिस गर्‍यौँ । यसले राष्ट्रियताको परिभाषा अब नयाँ कोणबाट हुनुपर्छ भन्ने मान्यता राख्दछ ।
एक टेलिभिजन कार्यक्रमका रूपमा प्रस्तुत भइरहँदा ‘जय स्वाभिमान’को हाम्रो समूह साँच्चै राष्ट्रियतालाई अलगै आँखाले हेर्छ । त्यही कार्यक्रमको सार रूप नै मेरो नयाँ किताब ‘जय स्वाभिमान’ हो । मलाई लाग्छ, यस किताबले नयाँ पुस्तामाझ राष्ट्रियतालाई अलग आँखाले हेर्न सहयोग गर्छ नै ।

प्रतिक्रिया