“काबुल, आई लभ यु”

काबुल, १२ साउन । सधैँजसो हत्या, हिंसा र अपराधका घटनाको चर्चा हुने अफगानिस्तानको राजधानी काबुलमा शान्ति र प्रेमको चर्चा चलाउन खोजिएको छ । ‘काबुल आई लभ यु’ (काबुल म तिमीलाई माया गर्छु) नामक फिल्म प्रदर्शनमा ल्याएर काबुलमा शान्ति र प्रेमबारे चर्चा चलाउन खोजिएको हो ।
काबुललाई सम्बोधन गरी लेखिएको एउटा चिठीमाथि फिल्म आधारित छ । अफगानिस्तानका फिल्म निर्माताको सहयोगमा ‘काबुल आई लभ यु’ निर्माण गरिएको हो । अफगानिस्तान हत्या, हिंसा र आतंकवादमा व्यस्तजस्तो देखिन्छ । शासनमा हुँदा अफगानी जनताको सातो लिने तालिबानीले सत्ताबाहिर रहँदा पनि यसलाई जारी राखेका छन् । यसको प्रभाव त्यहाँको फिल्म क्षेत्रमा पनि परेको छ । यस्तो अवस्थामा अनेक चुनौती मोल्दै अफगानिस्तानका फिल्म निर्माताले ‘काबुल, आई लभ यु’ बनाएका हुन् । काबुललाई अफगानीहरू किन माया गर्छन् र उनीहरूको भावनात्मक सम्बन्ध काबुलसँग कति मात्रामा रहेको छ भन्ने देखाइएको छ । सन् १९७९ मा अफगानिस्तानमा सोभियत संघले आक्रमण गरेयता त्यहाँ फिल्म चरमपन्थीहरूको तारो बनेको हो । त्यसयता अफगानिस्तानमा करिब सयवटा फिल्म मात्र निर्माण भएका छन् । तर, यी फिल्म अफगानी जनताले निर्धक्कसँग हेर्न पाएका छैनन् ।
अफगानिस्तानका तालिबानी अतिवादीहरू चलचित्रविरोधी हुन् । आफ्नो शासनकालमा तालिबानीहरूको फिल्म क्षेत्रलाई आक्रमणको निसाना बनाएका थिए । सन् १९९६ देखि २००१ सम्म तालिबान शासन रहँदा अफगानिस्तानका अधिकांश सिनेमा हलमा आक्रमण भएका थिए । सानो पर्दाका फिल्म देखाउनसमेत नपाउने गरी प्रतिबन्ध लगाइएको थियो । हाल अफगानिस्तानमा रहेको राष्ट्रसंघीय मिसनको आर्थिक तथा प्राविधिक सहयोगमा ‘काबुल, आई लभ यु’ निर्माण गरिएको हो । अफगानिस्तानमा चलचित्र क्षेत्रको विकासलाई गति दिने उद्देश्यले सो फिल्म निर्माण गरिएको हो । शान्ति र विकासको सकारात्मक सन्देश दिने उद्देश्यले फिल्म निर्माण गरिएको राष्ट्रसंघीय मिसनमा कार्यरत आरियो सोल्तानीले बताए । उनले भने, ‘अफगानिस्तानका फिल्म निर्मातालाई उत्साही बनाउन सकियोस् भनेर फिल्म निर्माण गरिएको हो ।’ (एएफपी)

प्रतिक्रिया