काठमाडौं, १२ साउन । चिनियाँ कम्युनिस्ट पार्टीले नवगठित नेकपा–माओवादीसित सुमधुर सम्बन्ध राख्ने बताएको छ । दसदिने चीन भ्रमणपछि बिहीबार स्वदेश फर्किएका माओवादी अध्यक्ष मोहन वैद्यले आºनो पार्टीलाई चीनले राष्ट्रवादी शक्तिका रूपमा लिँदै मित्रवत् सम्बन्ध राख्ने बताएको जानकारी दिए ।
‘हाम्रो पार्टीलाई राष्ट्रिय स्वाधीनताको रक्षाका लागि लड्ने राष्ट्रवादी शक्तिका रूपमा चिनियाँ कम्युनिस्ट पार्टीले लिएको छ,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा वैद्यले भने । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा अध्यक्ष वैद्य गत ३१ असारमा चीन गएका थिए । उनी बुधबार राति स्वदेश फर्किएका हुन् । भ्रमणका क्रममा उनले चिनियाँ नेताहरूसित भेटवार्ता गरेका थिए ।
नेपालको शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रिया असफल हुने त होइन भनेर चिनियाँ नेताले चिन्ता व्यक्त गरेको अध्यक्ष वैद्यले बताए । संघीयतामा जाँदा सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा असर नपर्ने गरी काम गर्न चिनियाँ नेताले सुझाव दिएको उनले बताए । माओवादी विभाजित भएकामा पनि चिनियाँ नेताहरूले चिन्ता व्यक्त गरेको वैद्यले उल्लेख गरे । ‘सकभर पार्टी नफुटेको भए हुन्थ्यो भन्ने उहाँहरूको भनाइ थियो,’ उनले भने । सबै वाम शक्ति मिलेर अगाडि बढुन् भन्ने चाहना चीनको रहेको वैद्यले बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा.बाबुराम भट्टराई सच्चिएर आए दुई माओवादीबीच अझै पनि एकता सम्भव रहेको अध्यक्ष वैद्यले बताए ।
प्रतिक्रिया