लुजा स्किन केयर सेन्टर बन्द

काठमाडौं, १२ साउन । काठमाडौं नक्सालस्थित लुजा मेक अप स्टुडियो एन्ड स्किन केयर सेन्टरले गैरकानुनी रूपमा स्वास्थ्योपचार सेवा सञ्चालन गरेको पाइएको छ । सेन्टरले स्वास्थ्य मन्त्रालयको स्वीकृतिविना स्पर्श थेरापी सेवा सञ्चालन गरेको पाइएको हो ।
सरकारी नियमानुसार कुनै पनि स्वास्थ्योपचार सेवा सञ्चालन गर्नुपर्दा अनिवार्य रूपमा स्वास्थ्य मन्त्रालयसँग सञ्चालन स्वीकृति लिनुपर्ने हुन्छ । तर, सेन्टरले मन्त्रालयको स्वीकृतिबेगर नै सेवा सञ्चालन गरेको पाइएपछि वाणिज्य विभाग र औषधि व्यवस्था विभागको अनुगमन टोलीले सेन्टर बन्द गरेको छ । सेन्टरका सञ्चालकलाई तीन दिनभित्र वाणिज्य विभागमा स्पष्टीकरण पेस गर्नसमेत निर्देशन दिइएको छ ।
अनुगमन टोलीमा सहभागी औषधि व्यवस्था विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीका अनुसार बिरामी जाँच्ने सेवा सञ्चालनका लागि अनिवार्य रूपमा स्वास्थ्य मन्त्रालयमा सञ्चालन स्वीकृति लिनुपर्ने हुन्छ । ‘मानिसको उपचारसँग जोडिएकाले स्वीकृति नलिई सेवा सञ्चालन गर्न सरासर गलत हो,’ उनले भने, ‘त्यसकारण लुजाको सो सेवा बन्द गरिएको हो ।’
अनुगमनका क्रममा टोलीले सेन्टरमा तीन सय एक थान फेस प्याकमा टिपेक्स लगाई पुन: लेबलिङ गरेको समेत फेला पारेको छ । टोलीले ती सम्पूर्ण फेस प्याकको बिक्रीमा रोक लगाएको अधिकारीले बताए । उनका अनुसार टोलीले खरिद बिलको प्रतिलिपि थान १ र मूल्यसूची पाना ८ समेत बरामद गरिएको छ ।
यसैगरी, टोलीले कीर्तिपुरको तनुजा खाद्यस्टोरमा मूल्यसूचीमा उल्लेख हुनुपर्ने कुरा स्पष्टसँग खुलाई राख्न, खाद्य र अखाद्य वस्तु छुट्टयाएर राख्न, आस्था स्टोर्सलाई व्यवसाय दर्ता प्रमाणपत्र, मूल्यसूची राखेको प्रमाण, लेबलमा खुलाउनुपर्ने कुरा खुलाएको प्रमाणसहित ७ दिनभित्र विभागमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । यस्तै, मीना सेन्टर स्टोर्सलाई मूल्यसूचीमा उल्लेख हुनुपर्ने कुरा स्पष्टसँग खुलाई राख्न, कीर्तिपुर मार्केटलाई नापतौलको प्रमाणपत्र र सामानमा उचित तरिकाले लेबल गरेको प्रमाणसहित ७ दिनभित्र विभागमा उपस्थित हुन र विन्ध्यावासिनी स्टोरलाई लेबल नभएका र म्याद नाघेका सामान बिक्री–वितरण नगर्न निर्देशन दिइएको अनुगमनमा सहभागी टीकाबहादुर थापाले बताए ।

प्रतिक्रिया