कैलाली, १२ साउन । हुलाकी राजमार्गअन्तर्गत कनरी नदीमा बनेको पुल निर्माण नसकिँदै जोखिममा परेको छ ।
कनरी नदीमा पानीको बहाव बढेपछि पुलको वारिपारिको जग कटानमा परेर पुल जोखिममा परेको हो । पुल निर्माण कम्पनीले पुलको दुवै किनारामा तटबन्ध नगरेका कारण नदीले कटान गर्दै गएकाले पुल जोखिममा परेको स्थानीयले बताए ।
धनगढी–८ मा रहेको पुल रसुवा–एलाइट जेभी निर्माण कम्पनीले निर्माण कार्यको जिम्मा लिएको हो । आर्थिक वर्ष ०६४/६५ मा पुल बनाउने सम्झौता भएपछि अढाई वर्षमा पुलको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भए पनि पाँच वर्ष बितिसक्दा पनि पुलको निर्माण २० प्रतिशत बाँकी छ । निर्माण सम्पन्न नहुँदै तत्कालीन निर्माण तथा भौतिक योजना राज्यमन्त्री देवी खड्काले पुलको उद्घाटन गरिसकेकी छन् ।
राज्यमन्त्री खड्काले पुल निर्माण सम्पन्न नहुँदै उद्घाटन नगर्न स्थानीयले गरेको आग्रह बेवास्ता गर्दै उद्घाटन गरेकी हुन् । उद्घाटन भएपछि पुल निर्माण कार्य जिम्मा लिएको कम्पनी सम्पर्कविहीन छ भने डिभिजन कार्यालयबाट सम्पूर्ण रकम भुक्तानी लिइसकेको पाइएको छ ।
‘पूरा नभएको योजना मन्त्रीले नै उद्घाटन गरेपछि निर्माण सम्पन्न नहुँदै पुल जोखिममा परेको हो,’ स्थानीयवासी तथा पूर्वसभासद् नारदमुनि रानाले भने, ‘पुल निर्माणको काम अधुरो छाडेकाले पनि कटान बढ्दै गएको छ ।’
वर्षौंदेखि कनरी नदीमा पुल नहुँदा कैलालीका फूलबारी, हसुलिया, उर्मा, पवेरा गाविसलगायतका मानिसले समस्या झेल्नुपरेको थियो । वर्षायाममा सो क्षेत्रका बासिन्दा सदरमुकाम धनगढी आउन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
‘सदरमुकाम धनगढीसँग जोड्ने पुल निर्माण हुन थालेपछि खुसी भएका थियौँ,’ स्थानीय रतनलाल चौधरीले भने, ‘ठेकेदारले पुल निर्माण कार्य अधुरो छाडेर गएपछि पुल भत्किने अवस्थासँगै बस्ती बगाउला भन्ने डर पो भयो ।’
पुलको काम अधुरो रहेको र दायाँ–बायाँतिर नदीले कटान गर्न थालेपछि निर्माण कम्पनीलाई १ साउनमा डिभिजन कार्यालयले पत्र काटेको छ । नौ पिलर र एक सय १४ मिटर लामो रहेको पुल ६ करोड रुपियाँ लागतमा बनाइएको हो ।
प्रतिक्रिया