काभ्रे, १२ साउन । तपाईं मोटरसाइकल हराएर चिन्तामा हुनुहुन्छ ? या नभेटिएर हैरान हुनुहुन्छ । अब मोटरसाइकल नभेटिन पनि सक्छ । मोटरसाइकल चोरले नयाँ तरिका अपनाएकाले अधिकांश चोरीका मोटरसाइकल भेटिन छाडेको खुलासा भएको छ ।
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । पहिले मोटरसाइकल चोरेर विकट गाउँ विकास समितिमा पुर्याएर बेच्ने गिरोहले अहिले मोटरसाइकलको पार्टपुर्जा वर्कसपमा बेच्ने गरेका छन् । प्रहरीले केही दिनअघि गिरोहले चोरी गरेर ल्याएको मोटरसाइकलको पार्टपुर्जा बेच्दै गरेको अवस्थामा गिरोहका सदस्यलाई पक्राउ गरेपछि यो रहस्य खुलासा भएको हो ।
नम्बर नखुलेको पल्सर मोटरसाइकल धुलिखेल–४ स्थित अस्पताल चोकमा रहेको फूलबारी मोटरसाइकल वर्कसपमा ल्याएर खोल्दै गरेको अवस्थामा प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरी पुगेलगत्तै चोरी गिरोहका नाइके श्याम तामाङ भागेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले पार्टपुर्जा खोल्दै गरेको अवस्थामा वर्कसपबाट कोलाँती भुमेडाँडा–५ का २० वर्षीय रवि तामाङ, फूलबारी–१ का २४ वर्षीय तेजबहादुर तामाङ र धुलिखेल–१ का २४ वर्षीय सुनील तामाङलाई पक्राउ गरेर चोरीको मुद्दा चलाएको छ ।
काभ्रेबाट यो वर्ष मात्रै आधा दर्जनभन्दा बढी मोटरसाइकल चोरीका उजुरी प्रहरीमा दर्ता भएका छन् । ट्राफिक प्रहरीले लामो समयदेखि हराइरहेका तीनवटा मोटरसाइकल सम्बन्धित धनीलाई नै फिर्ता गर्न सफल भए पनि अरू मोटरसाइकल भेटिएका छैनन् । काभ्रेका अनैकोट, रविओपी, देवीटार, महादेवस्थान, नयाँगाउँ, देउपुर, भकुन्डे, मंगलटार, रयाले, कुशादेवीका सडकमा चोरीका मोटरसाइकल गुडिरहेको प्रहरीले नै बताउँदै आएको छ । काठमाडौंमा चोरी भएका मोटरसाइकल यही बोटो हुँदै काभ्रे र आसपासका जिल्लामा भित्रिने गरेका छन् ।
लामो समयसम्म मोटरसाइकल बिक्री नभएपछि चोरीका गिरोहले पार्टपुर्जा खोलेर बेच्ने गरेका छन् । गाउँमै पनि गिरोहले घरभित्रका मोटरसाइकल राति चोर्ने गरेको उजुरी प्रहरीमा आएका छन् । तर, प्रहरीले त्यसरी हराएका मोटरसाइकल फेला पार्न सकेको छैन ।
प्रतिक्रिया