सडक बन्द भएपछि मूल्य अकासियो

रुकुम, १२ साउन । अविरल वर्षपछि आएको पहिरोले रुकुमका एक दर्जनभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् ।

मुसिकोट–चौरजहारी, सोलावाङ–धाउने, रुकुमकोट–काँक्री, चौरजहारी–आठविसकोट, गाराघाट–आठबिसकोट, रिम्ना–चौरजहारी सडक अवरुद्ध भएका हुन् । यस्तै, झुल्नेटा–मुरु, छिन्खेत–स्यार्पुदह, सिम्ली–चौरजहारी, साँख–रुकुमकोट, सिम्ली–रिम्ना, खलंगा–डिग्रेलगायत ग्रामीण सडक पनि अवरुद्ध भएपछि स्थानीयले सास्ती पाएका छन् ।
सडकमा खसेको पहिरो र खाल्डाखुल्डीका कारण यातायात सेवा बन्द रहेको रुकुम जिप यातायात समितिका अध्यक्ष श्याम बुढाले बताए । बन्द सडक आगामी असोजदेखि मात्र सञ्चालनमा आउन सक्ने यातायात व्यवसायीले बताएका छन् । दुर्गम पहाडी जिल्लाका स्थानीय सडक अवरुद्ध भएपछि समस्यामा परेका छन् । यातायात सञ्चालन हुँदा एक दिनमा सजिलै सदरमुकाम खलंगा पुग्ने जिल्लाका पूर्वीगाविसका सर्वसाधारण अहिले तीन दिनमा मात्र आइपुग्ने गरेका छन् ।
तीन दिनमा खलंगा आइपुगेका मैकोटका रणजित विकले भने, ‘मंसिरसम्म गाउँमा यातायात सञ्चालन हुने छाँट छैन ।’ ग्रामीण सडक बन्द भएपछि व्यापारीले उपभोग्यवस्तुमा २५ प्रतिशतसम्म मूल्यवृद्धि गरेका छन् । ‘घोडा खच्चडबाट सामान ढुवानी गर्नुपरेकाले मूल्य बढेको हो,’ प्वाङ नायगाडका व्यापारी सुमन बुढाले भने, ‘खच्चडबाट ढुवानी गर्दा दोब्बर महँगो पर्न जान्छ ।’

प्रतिक्रिया