कैलाली : बझाङको विकट रिलु गाविस वडा नम्बर ५, ६, ७ र ८ मा फैलिएको झाडापखालाले प्रकोपको रूप लिएको छ । एक सातादेखि देखा परेको झाडापखालाबाट एक सय ५३ बिरामी परेका छन् ।
झाडापखालाबाट प्रभावित हुनेमा अधिकांश महिला र बालबालिका छन् । रिलु उपस्वास्थ्यचौकीमा उपचारका लागि ठाउँ अभाव भएकाले विद्यालयमा राखेर उपचार गरिएको इन्चार्ज गणेश कुँवरले बताए । कुँवरका अनुसार झाडापखालाबाट प्रभावितमध्ये २७ को अवस्था चिन्ताजनक छ । तीनजनालाई जिल्ला अस्पताल सिमखेतमा थप उपचारका लागि रिफर गरिएको छ ।
पानीको मुहानमा खच्चड मरेपछि पानी दूषित भएर झाडापखाला फैलिएको प्रारम्भिक अनुमान रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बझाङका प्रमुख डा. इन्द्रप्रसाद पौडेलले बताए ।
रिलुमा झाडापखाला फैलिएपछि आवश्यक औषधिसहित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डा. सारु देवकोटासहित आठ स्वास्थ्यकर्मीको समूह दुई दिनदेखि प्रभावित क्षेत्रमा उपचारमा संलग्न रहेको डा. पौडेलले जानकारी दिए ।
झाडापखालाका कारण रिलुका सम्पूर्ण शैक्षिक संस्था अनिश्चित कालका लागि बन्द गरिएको रिलु माविका शिक्षक प्यारीलाल जेठाराले बताए । (सौस)
प्रतिक्रिया