नेपालगन्ज, ११ साउन । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रमा तीन वर्षदेखि अवैध रूपमा क्रसर उद्योग सञ्चालित छ । तर, क्रसर उद्योग बन्द गराउन कसैले चासो देखाएको छैन ।
बाँकेको महादेवपुरी–२, बुच्चापुरस्थित निकुञ्जको मध्यवर्ती क्षेत्रमा दीपक क्रसर उद्योग अवैध रूपमा सञ्चालित छ । क्रसर उद्योग महासंघ, बाँकेका एक पदाधिकारीका अनुसार तीन वर्षदेखि अवैध ढंगले निकुञ्जभित्र उद्योग सञ्चालन भइरहेको बन्द गराउन कुनै निकायले कदम चालेको छैन ।
ढुंगा–गिट्टी निकासीमा पूर्णप्रतिबन्ध लागेको समयमा समेत सो क्रसर उद्योग सञ्चालनमा रहेको थियो । क्रसर उद्योगले करोडौँ मूल्यको ढुंगा र गिट्टी निकासी गरेर भारत तथा नेपालमा बिक्रीवितरण गरेको पत्ता लागेको छ ।
‘बाँके राष्ट्रिय निकुञ्जका वार्डेन तुलसीप्रसाद शर्माको संरक्षणमा उद्योग सञ्चालन हँदै आएको छ,’ महासंघका एक पदाधिकारीले सौर्यसँग भने । यति लामो समयसम्म निकुञ्जभित्र अवैध रूपमा उद्योग सञ्चालन भए पनि निकुञ्जले थाहा नपाएभैँm गर्नुले यसमा वार्डेन शर्माको सहमति रहेको पुष्टि भएको ती पदाधिकारीले बताए ।
वन ऐन–२०४९ तथा राष्ट्रिय निकुञ्ज नियमावलीअनुसार मध्यवर्ती वन क्षेत्रभन्दा पाँच किलोमिटर बाहिर उद्योग स्थापना गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, दीपक क्रसर उद्योगले वन कार्यालय, बाँके तथा बाँके राष्ट्रिय निकुञ्जसँग सञ्चालन अनुमति नलिई उद्योग सञ्चालन गर्दै आएको वन कर्मचारीको भनाइ छ । बाँकेको महादेवपुरी–२, बुच्चापुरको भिँmझरी खोलाछेउमा क्रसर उद्योग सञ्चालन भइरहेको छ ।
तर, उद्योगका प्रोपाइटर दीपक खड्काले उद्योग निकुञ्ज क्षेत्रभित्र रहे पनि अवैध नभएको जिकिर गरेका छन् । अवैध भएको भए निकुञ्ज प्रशासन उद्योग बन्द गराइसक्ने उनको जिकिर छ ।
त्यसैगरी, जिल्लामा निकुञ्जबाहिर पनि करिब आधा दर्जन क्रसर उद्योग अनुमति नलिई सञ्चालनमा रहेको आशंकामा छानबिन जारी राखिएको महासंघले जनाएको छ । महादेवपुरी, कोहलपुर र शमशेरगन्जमा त्यस्ता उद्योग सञ्चालनमा रहेको बताइएको छ । यस्ता अवैध क्रसर उद्योग नेपाल–भारत सीमा क्षेत्रमा समेत सञ्चालनमा रहेको पाइएको छ । ती उद्योगले प्रतिबन्धित नेपाली ढुंगा गिट्टी र बालुवा भारततर्फ निकासी गर्दै आएका छन् ।
प्रतिक्रिया