बालिका भ्रूण हत्या बढ्दो

राजविराज, ११ साउन । गर्भमा छोरी भएको थाहा पाएपछि गर्भपतन गराउने र गर्भपतन गर्ने मौका नमिले जन्मिएलगत्तै फालिदिने चलन सप्तरीमा तीव्र रूपमा बढिरहेको छ । तराईका जिल्लामा दाइजो प्रथा व्याप्त रहेकाले बालिका भ्रूण हत्याले भयावह रूप लिइरहेको छ ।
विगत एक महिनाभित्र जिल्लाका विभिन्न स्थानमा चार नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । फेला परेका नवजात शिशुमध्ये सबै बालिका छन् । फेला परेका शिशुमध्ये महिना दिनकी एक बालिकाको जीवितै उद्धार गरिएको छ । प्रहरीद्वारा उद्धार गरिएकी बालिकालाई राजविराजस्थित पोषण पुन:स्थापन केन्द्रमा राखी उपचार तथा स्याहारसुसारको व्यवस्था मिलाइएको छ ।
छोरीलाई विवाह गरिदिँदा दाइजो दिनुपर्ने भएकाले तराईका ग्रामीण क्षेत्रमा बालिका भ्रूण हत्याको क्रम बढिरहेको अनुमान गरिएको छ । नगर क्षेत्रमा समेत भ्रूणहत्याको क्रम बढ्न थालेको बताइन्छ । राजविराज नगरपालिकाको जन्म दर्ता फाँटमा पुरुषको तुलनामा महिलाको जन्म दर्ता कम देखिनुलाई कतिपयले बालिका भ्रूण हत्यासँग सम्बन्धित गराएका छन् । जन्मदर्ता फाँटका पन्जिकाधिकारी देवराज चौधरीका अनुसार नगरक्षेत्रमा दुईतीन वर्षयता बालिका जन्मदर ह्वात्तै घटेको छ । कार्यालयको रेकर्डअनुसार आर्थिक वर्ष ०६७/६८ मा चार सय ४५ बालिका तथा ६ सय ३० बालकको जन्मदर्ता भएको थियो भने आव ०६८/६९ मा दुई सय ६८ बालिका तथा चार सय ७३ बालकको जन्मदर्ता भएको छ ।
इन्सेककर्मी प्रकाश खतिवडाका अनुसार बालिका भ्रूणहत्या मानवताविरुद्धको गम्भीर अपराध भएकाले यसमा संलग्नको पहिचान गरी कडा कारबाही गरिनु आवश्यक छ । तराईका जिल्लामा प्रचलित दाइजो प्रथा र भ्रूण हत्यामा चिकित्सक र स्वास्थ्यकर्मीको संलग्नताले समस्यालाई विकराल बनाइरहको उनको भनाइ छ ।
गर्भमा भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी भए पनि प्रभावकारी अनुगमनको अभावमा यसको कार्यान्वयन हुन सकेको छैन । गर्भ परीक्षण गर्ने जाँचघर, क्लिनिक तथा अस्पतालमा अनुगमन बढाई यस्ता अवैध कार्यमा संलग्नलाई कारबाही गरिए मात्र समस्या कम हुने नागरिक सञ्जाल, सप्तरीका पूर्वअध्यक्ष सुखराम यादवले बताए ।

प्रतिक्रिया