असममा रोकिएन जातीय हिंसा

गुवाहटी, ११ साउन : भारतको उत्तरपूर्वी राज्य असममा मंगलबार सुरु भएको जातीय हिंसा अझै रोकिएको छैन । जातीय हिंसाका कारण मंगलबार राति नौजनाको ज्यान गएको छ । सुरक्षा अधिकारीले हिंसा थप बढ्नसक्ने आशंका व्यक्त गर्दै कडा सुरक्षा व्यवस्थाको तयारी गरेका छन् ।
असम राज्य र त्यसवरपर हिंसा भड्किएपछि यसले उग्र रूप लिएको हो । हिंसामा अहिलेसम्म ३५ को मृत्यु भइसकेको छ । स्थानीय बोडो आदिवासी र मुस्लिम समुदायका मानिसबीच हिंसा भड्किएको हो । उनीहरूले एकअर्काेमाथि आक्रमण थालेपछि थप सुरक्षाकर्मी तैनाथ गरी नियन्त्रणको प्रयास गरिएको छ । तैपनि, अवस्था नियन्त्रणमा आउन सकेको छैन । ‘यहाँको अवस्था निकै तनाबपूर्ण छ, एकपछि अर्काे गरी जातीय हिंसा मच्चिरहेको छ । त्यसैले हामीले थप सुरक्षाकर्मी मगाएका छौँ,’ असमका प्रहरी प्रमुख जेएन चौधरीले भने । मंगलबार राति हत्या गरेर फालिएको अवस्थामा नौ शव भेटिएको जानकारीसमेत उनले दिए । सो हिंसामा परी डेढ लाख ७० हजारभन्दा बढी विस्थापित भएका छन् । विस्थापितलाई सरकारले निर्माण गरेका स्थानीय स्तरका शिविरमा राखिएको उनले बताए ।
हिंसा नियन्त्रण गर्ने प्रहरीको प्रयासमा सघाउन सरकारले हजार सैनिक परिचालन गरेको छ । बन्दुक, छुरी र लाठी बोकेका समूह र प्रहरीबीच झडप जारी छ । प्रहरीसँगको झडपमा परी एक सर्वसाधारणको मृत्यु भएको छ । सैनिक स्रोतले चाहिँ अवस्था केही नियन्त्रणमा आएको जनाएको छ । विस्थापितमध्ये केही आ–आफ्नो घर फर्किएको बताइएको छ । चीन, म्यानमार, बंगलादेश र भुटानसँग सीमा जोडिएको भारतको उत्तरपूर्वी क्षेत्र जातीय हिसाबले संवेदनशील मानिन्छ । यहाँ दुई सय जातजातिका मानिस बसोबास गर्छन् । सन् २०४७ मा भारत स्वतन्त्र भएयता विभिन्न जातीय समूहले स्वतन्त्र राष्ट्र घोषणा गर्न माग गर्दै पृथक्तावादी अभियान जारी राख्दै आएका छन् । बोडो समुदायका मािनसले स्वतन्त्र बोडोल्यान्ड माग गर्दै सशस्त्र आन्दोलन जारी राखेका छन् । सो क्षेत्रमा रहेका हिन्दू तथा इसाई धर्मावलम्बीहरूले विगत केही समययता मुसलमान आप्रवासनको विरोध गर्दै आएका छन् । छिमेकी राष्ट्र बंगलादेशबाट मुसलमान आप्रवासी उत्तरपूर्वी भारत भित्रिने क्रम जारी रहेकामा हिन्दू तथा इसाई समुदायले यसको विरोध गर्दै
आएका छन् ।
असममा हालै गएको बाढीबाट सयको मृत्यु भएपछि र करिब चार लाख घरविहीन भएपछि जातीय हिंसा भड्किएको हो । सन् १९५० को दशकयता बंगलादेशबाट मुसलमान आप्रवासी भित्रिने क्रम जारी रहेकाले सो क्षेत्रका बोडो आदिवासीले आफूलाई सीमान्तीकृत भएको महसुस गरेका छन् । यसले बोडो आदिवासी र मुसलमान आप्रवासीबीचको सम्बन्धमा तीक्तता ल्याएको बताइन्छ । सन् १९८३ मा पनि सो क्षेत्रमा अहिलेजस्तै जातीय हिंसा मच्चिएको थियो । हिंसामा परी त्यतिबेला करिब दुई हजार बंगलादेशी आप्रवासीको मृत्यु भएको थियो । (एजेन्सी)

प्रतिक्रिया