काठमाडौं : उच्च माध्यमिक शिक्षा परिषद्को अनुगमन टोलीले डिएभी सुशील केडिया विश्वभारती उच्च माध्यमिक विद्यालयमा अनुगमन गरेको छ । सौर्य दैनिकमा मंगलबार ‘ठूला उमाविमा अनुगमन गर्नै डरायो परिषद्को टोली’ शीर्षकमा समाचार प्रकाशन भएपछि मंगलबारै अनुगमन टोली डिएभीमा पुगेको हो ।
टोली संयोजक रहेका परिषद्का अनुगमन महाशाखा प्रमुख नारायण कोइराला सदस्यलाई सम्पर्क गरेर ११ बजेतिर उच्च माविमा पुगेका थिए । टोलीले विद्यार्थी, शिक्षक र व्यवस्थापनसँग अन्तरक्रिया गरेको थियो । सोही उमाविका अनिल केडिया परिषद्का सभासदस्य भएकाले एक्कासी जान आँट नगरी केही दिनअघि अनुगमनको सूचीमा परेको भए पनि सो उच्च माविमा टोली नपुगी अन्यत्रै लागेको थियो ।
परिषद्ले उच्च माविमा देखिएका विकृतिबारे अध्ययन गर्न ‘उच्च माध्यमिक विद्यालय अध्ययन अनुसन्धान र अनुगमन कार्यदल’ गठन गरेको छ । सो कार्यदलले दुइटा टोली बनाएर २४ उच्च माविको अनुगमन गर्ने तयारी गरेको थियो । दुई टोलीले १०/१० वटा छुट्टाछुट्टै र चारवटा संयुक्त रूपमा अनुगमन गर्ने कार्यक्रम बनाएको थियो । बुधबारदेखि संयुक्त अनुगमनमा जाने कार्यक्रम तय भएको परिषद्ले जनाएको छ । (सौस)
प्रतिक्रिया