काभ्रे, १० साउन । काभ्रेमा राजमार्गमा सवारी दुर्घटना बढेका छन् । सर्वसाधारण पैदलयात्रीदेखि शिक्षा कार्यालयका दुई स्रोतव्यक्तिसम्मको ज्यान गएका अप्रिय घटनासँगै काभ्रेमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको हो ।
काभ्रेमा आर्थिक वर्ष ०६८/६९ मा ५८ दुर्घटनामा भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ती दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका थिए भने ८६ वटा सवारीसाधनमा क्षति पुगेको थियो । दुर्घटनामा परेर साउन ०६८ मा मात्रै आठजनाले ज्यान गुमाएका थिए । असोज र जेठबाहेक बाँकी १० महिना काभ्रेमा सवारी दुर्घटनामा ज्यान नगुमेको महिना थिएन । पुसमा भएका सातवटा घटनामा ६ जनाले ज्यान गुमाएका थिए भने ११ सवारीसाधनमा क्षति पुगेको थियो । फागुनमा भएका पाँचवटा दुर्घटनामा पाँचजनाले ज्यान गुमाएका थिए भने नौवटा सवारीसाधनमा क्षति पुगेको थियो ।
जिल्लामा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले विद्यार्थी, समुदाय, व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख इन्स्पेक्टर धनबहादुर श्रेष्ठले बताए । प्रशिक्षणमा जिल्लाका पाँच सय ९३ विद्यार्थी, एक हजार तीन सय ९४ चालक, एकसय ६० व्यवसायी, एक हजार सात सय ५० सर्वसाधारणसहित तीन हजार पाँचसय सहभागी भएको ट्राफिक प्रहरीले उल्लेख गरेको छ ।
३० असारमा बनेपा–११ बुडोलमा बसको ठक्करबाट जिल्ला शिक्षा कार्यालय काभ्रेका स्रोतव्यक्तिद्वय नवराज तिमल्सिना र डेगराज भट्टराईको मृत्यु भएको थियो । ट्राफिक प्रहरीले सवारी दुर्घटना चालकको मात्रै लापरबाहीले नभई यात्रुका कारण पनि हुने गरेको निष्कर्षसहित तथ्यांक सार्वजनिक गरेको छ । दुर्घटना र अन्य कारणबाट जिल्लामा १२ पटकमा एकसय १० घन्टा ३० मिनेट चक्काजाम भएको छ ।
सिन्धुपाल्चोकको नाका चीनसम्म जोडिएको अरनिको राजमार्ग र सिन्धुलीसम्म जोडिएको बिपी राजमार्गमा दैनिक गुड्ने सवारीसाधन चेकजाँचका लागि जनशक्तिको अभाव भएको इन्स्पेक्टर श्रेष्ठले बताए । जनशक्ति आवश्यकताअनुसार परिचालन गर्नसके दुर्घटनामा न्यूनीकरणका साथै ट्राफिकसम्बन्धी जनचेतना बढाउन सहयोग पुग्नेछ । सहरी क्षेत्र बनेपा, पनौती र धुलिखेलमा सीमित प्रहरीले ट्राफिक प्रहरीको काम गरिरहे पनि पाँचखाल, भकुन्डे र दोलालघाटमा समेत ट्राफिक प्रहरी आवश्यक भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया