अब एमाओवादीसँग निर्णायक बार्ता

काठमाडौं, ९ साउन । विपक्षी दल कांग्रेस र एमालेले मुलुकको पछिल्लो राजनीतिक गतिरोधको अन्त्यका लागि एमाओवादीसँग निर्णायक बार्ता गर्ने सहमति गरेका छन् ।
एमाले पार्टी मुख्यालय बल्खुमा आज बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए ।
‘राष्ट्रिय सहमति र गतिरोधको अन्त्यका लागि एकीकृत माओवादीसँग निर्णायक बार्ता गर्ने सहमति भएको छ,’ पौडेलले भने, ‘मुलुकमा देखिएको समस्या समाधान सहमतिबाटै गर्नुपर्छ ।’
बैठकमा कांग्रेसले राष्ट्रिय सहमतिको सरकार आफूले नेतृत्व गर्नुपर्ने भन्दै सहयोगका लागि एमालेसँग आग्रह गरेको थियो । जवाफमा एमालेका नेताहरुले कांग्रेसलाई सहयोग गर्ने आश्वासन दिएका छन् ।
बैठकमा कांग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत तथा एमालेबाट अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया