काठमाडौं, ९ साउन । सहकारी तथा गरिबी निवारण मन्त्रालयले वित्तीय कारोबार गर्ने सहकारीलाई कार्यविधि बनाई अनुगमन गर्ने भएको छ । विशेषगरी बचत तथा ऋण सहकारी संस्थामा समस्या आएका कारण तिनीहरूलाई नियन्त्रण गर्न ऐन, नियमन र मापदण्डअनुरूप कार्यविधि निर्माण गरी अनुगमन गर्ने मन्त्रालयले बताएको हो ।
मन्त्रालयले कार्यविधि निर्माणका लागि उपसचिव बाबुराम भुसालको संयोजकत्वमा सोमबार कार्यदलसमेत निर्माण गरेको मन्त्रालयका प्रवक्ता सुदर्शनप्रसाद ढकालले जानकारी दिए । कार्यदलमा राष्ट्रिय सहकारी संघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन), सहकारी विभागलगायतको प्रतिनिधित्व रहेको ढकालले बताए । कार्यदलले मन्त्रालयलाई दश दिनभित्र मस्यौदा पेस गर्ने पनि ढकालले बताए ।
‘सहकारी अनुगमनलाई चुस्त बनाउन कार्यविधि बनाउन लागेका हौँ,’ प्रवक्ता ढकालले भने, ‘कार्यविधिबाट अनुगमन गर्न सजिलो हुने भएकाले यसको निर्माण गर्न लागिएको हो ।’ कार्यविधि सहकारी ऐन, नियमन र मापदण्डभित्र रहेर निर्माण गरिने पनि उनले बताए ।
सहकारी विभागले अनुगमन आइटी प्रविधिबाट गर्ने तयारी गरेको भए पनि यसबाट चुस्त बनाउन नसकिने भएकाले कार्यविधिबाट जान लागेको हो । सहकारी विभागका अनुसार देशभर १२ हजार बचत तथा ऋण र चार हजारभन्दा बढी बहुउद्देश्यीय सहकारीले वित्तीय कारोबार गर्दै आएका छन् । कुल सहकारी संख्यामा बचत तथा ऋण सहकारीको संख्या करिब ४६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष ०६८/६९ मा विभाग र नेपाल राष्ट्र बैंकले एक सय २६ सहकारीको सघन अनुगमन गरेको विभागले जनाएको छ । अघिल्लो वर्षको बजेटमा पाँच करोड रुपियाँभन्दा बढी कारोबार भएका सहकारीको नेपाल राष्ट्र बैंकले अनुगमन गर्ने व्यवस्था गरिएको थियो । सहकारीमा विकृति बढेपछि ०६६ माघदेखि राष्ट्र बैंकसमेतको सहयोगमा ठूला सहकारीको सघन अनुगमन सुरु गरिएको हो । अनुगमन क्रममा सहकारी ऐन र मापदण्डविपरीत कारोबार गरेको, जोखिम कोष नराखेको, लगानी गर्दा पर्याप्त धितो नराखेको र पक्रिया नपुर्याएको, सञ्चालकले संस्थाको बचत र अन्य भौतिक सामग्रीको दुरुपयोग गरेलगायतका गल्ती भेटिएको प्रवक्ता ढकालले बताए ।
सहकारी विभागको तथ्यांकअनुसार देशभर २४ हजार नौ सयभन्दा बढी सहकारी दर्ता छन् । जसमा ३४ लाख ७२ हजार सदस्य, ७५ हजारले प्रत्यक्ष रोजगारी, पाँच लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् । त्यस्तै एक खर्ब २४ अर्बभन्दा बढी बचत परिचालन भई एक खर्ब ३२ अर्ब बराबरको लगानी छ । ती संस्थाको कुल सेयर पुँजी करिब २२ अर्ब रहेको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया