सिरियामा संक्रमणकालीन सरकार गठन गर्न आह्वान


दोहा, ९ साउन । अरब राष्ट्रहरूले सिरियाली राष्ट्रपति बासर अल असदको शासनविरुद्ध संघर्षरत सिरियाका प्रतिपक्षी तथा फ्रि सिरियन आर्मीलाई संक्रमणकालीन सरकार गठन गर्न आह्वान गरेको छ । सिरियाका प्रतिपक्षीले राष्ट्रपति असदको शासन अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलन जारी राखेका छन् भने फ्रि सिरियन आर्मीले सरकारविरुद्ध सशस्त्र विद्रोह गर्दै आएको छ ।
अरब लिग र पश्चिमी राष्ट्रले राष्ट्रपति असदलाई राजीनामा दिई समस्याको निकास दिन गरेको आग्रह असदले अस्वीकार गरेपछि अरब राष्ट्रहरूको समूह अरब लिगले सोमबार संक्रमणकालीन सरकार गठनका लागि आग्रह गरेको हो ।
‘हामीले ‘फ्री सिरियन आर्मी’ र विपक्षीहरूलाई संक्रमणकालीन सरकार गठन गर्न आह्वान गरेका छौँ,’ लिगको बैठकमा कतारका प्रतिनिधि सेक हमद बिन खालिफा अल ताहनीले पत्रकारहरूसँग भने । सिरियामा विद्यमान अवस्थाबारे छलफल गर्न दोहामा भेला भएका अरब लिगमा आबद्ध राष्ट्रका विदेशमन्त्रीहरूबीच भएको सामूहिक भेटवार्तापछि उनले यस्तो जानकारी दिएका हुन् । त्यसैगरी, अरब लिगका विदेशमन्त्रीहरूले राष्ट्रपति असदलाई अविलम्ब राजीनामा गर्न पुन: आग्रह गरेका छन् । असदले सत्ता त्याग गरे उनको परिवारलाई सिरियाबाट सुरक्षित रूपमा बाहिर जाने माहोल मिलाउने ग्यारेन्टी बैठकले लिएको छ ।
अरब लिगबाट यस्तो दबाब आइरहँदा राष्ट्रपति असदले भने विद्रोहीहरूलाई कसरी तह लगाउने भन्ने विषयमा नवनियुक्त सेनापतिलगायत अन्य सैन्य अधिकारीसँग परामर्श गरेका छन् । आगामी दिनमा चाल्नुपर्ने कदमबारे उनले सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको सञ्चारमाध्यमले जनाएका छन् । केही दिनअघि विद्रोहीको आक्रमणमा परी सिरियाका रक्षामन्त्रीको मृत्यु भएपछि सिरियाको सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरिएको छ । आक्रमणमा परी रक्षामन्त्री र उपरक्षामन्त्रीसहित चार उच्च पदस्थ सुरक्षा अधिकारीको मृत्यु भएको थियो ।
सिरियामा करिब डेढ वर्षअघिदेखि राष्ट्रपति असदको शासनविरोधी आन्दोलन जारी छ । असदले निरंकुशता लादेको र उनको शासनशैली बर्बर किसिमको भएको आरोप लगाउँदै विद्रोहीले उनको राजीनामा मागिरहेका छन् । तर, राष्ट्रपति असदले भने विदेशी तत्त्वको उक्साहटमा सिरियामा आन्दोलन उठाइएको प्रत्यारोप लगाउँदै आएका छन् । अमेरिका, टर्की र अरब लिगले सिरियाविरुद्ध षड्यन्त्र गरिरहेको भन्दै उनले केही साताअघि सिरिया ‘वास्तविक युद्ध’को अवस्थामा रहेको घोषणा गरेका थिए । विदेशीको दबाबसामु लत्रिएर कुनै हालतमा पनि आफूले राजीनामा नदिने उनले प्रस्ट पारेका थिए ।
अमेरिका, युरोपेली महासंघ र अरब लिगले राष्ट्रपति असदलाई अविलम्ब राजीनामा दिन सुझाब दबाब दिइरहेका छन् । तर, रुस र चीनले भने असदको समर्थन गर्दै आएका छन् । राष्ट्रसंघ सुरक्षापरिषद्मा रुस र चीनको भिटो शक्तिका कारण राष्ट्रसंघले सिरियाविरुद्ध दबाबमूलक कार्यक्रम लागु गर्न सकेको छैन । (एजेन्सी)

प्रतिक्रिया