“राजनीति लुच्चालफंगाको कामजस्तो भएको छ”

साठी वर्षअघि रामेछापको बेथानमा जन्मिएकी मीना (खड्का) पाण्डेले नियमित रूपमा विद्यालयमा अध्ययन गर्ने अवसर नपाए पनि प्रारम्भिक शिक्षा रामेछापमै लिएकी थिइन् । उनले काठमाडौंका विभिन्न विद्यालयको अध्ययनपछि प्राइभेट दिएर एसएलसी पास गरिन् र २३ वर्षको उमेरमा काठमाडौंको पद्मकन्या कलेजमा भर्ना भइन् । कलेज जीवनबाट संगठित राजनीतिमा लागेकी उनी ३६ सालमा उक्त कलेजको स्ववियु सभापति भइन् र पूर्णकालीन राजनीतिकर्मी बनिन् । पटकपटक संसद् सदस्य र मन्त्रीसमेत भएकी उनी हाल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य छन् । उनै मीना पाण्डेसँग भएको सौर्यको कुराकानी । 

राजनीतिमा कसरी लाग्नुभयो ?
सुरुमा लाग्छु भनेरै लागेकी होइन । पञ्चायतकालीन समाजमा मलाई जनतामाथि भएको अन्याय मन पर्दैनथ्यो । घरमा दाजुभाउजू
(शिवबहादुर र दुर्गा खड्का ) नेपाली कांग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो । उहाँहरूले सरकारबाट निकै यातना पाएको मलाई अनुभव भइरहेको थियो । यसले मलाई कांग्रेसको नजिक र पञ्चायतविरुद्ध लाग्न प्रेरणा दियो । साँच्चै भन्ने हो भने बुझ्दै नबुझी राजनीतिमा लागियो ।
कांग्रेसतिर प्रभावित हुनुको कारण ?
बिपी कोइरालाले देश र जनताका लागि गरेको योगदान र यसबापत उहाँहरूले पाएको यातनाबारे सुन्दा आफूलाई पनि त्यही पार्टीमा लाग्न मन लाग्यो । त्यति बेला अहिलेजस्तो स्वतन्त्रता थिएन । बनारसबाट निस्कने तरुण पत्रिका थियो, त्यो पढेबापत तीन हजार रुपियाँ जरिबाना तिर्नुपर्ने र तीन वर्ष कैद बस्नुपर्ने अवस्था थियो । ती पत्रिकामा स्वतन्त्रतासम्बन्धी लेखरचना थुप्रै हुन्थे । ती कुरा पढ्दै जाँदा र यहाँ बिपीहरूले देखाएको राष्ट्रभक्तिले मलाई कांग्रेस बनाए । पूर्वविद्यार्थी नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, मछिन्द्र पाठकहरूसँगको सामीप्यले पनि मलाई कांग्रेस बनाएको हो ।
राजनीतिमा लाग्दा कति वर्षकी हुनुहुन्थ्यो ?
स्कुलमा पढ्दा त खासै लागिएन, कलेज गएपछि लागेको हो । ३२–३३ सालबाट जिम्मेवारी साथ लागियो । भारतबाट बिपी कोइराला मेलमिलापको नीति लिएर फर्कंदा हामी उहाँको स्वागतमा गएका थियौँ । त्यसबापत हामीलाई दिइएको यातनाले जबर्जस्ती राजनीतिको जँघारमा होमिदिएको जस्तो लाग्छ ।
राजनीति छान्नुभित्रका सपना ?
आफ्ना लागि त केही सपना बनेको थिएन । परिवर्तन होला, लोकतन्त्र आउला, मन्त्री हुँला भन्दा पनि सबैले लेख्नपढ्न पाउने स्वतन्त्र खालको समाज बन्ला भन्ने लागेको थियो । खासमा युवा अवस्था भएकाले जोस र जाँगर थियो । मनमा एक प्रकारको परिवर्तनकारी भावना थियो ।
तपाईंले सोचेजस्तो भयो त मुलुक अहिले ?
चेतनाको हिसाबले हेर्ने हो भने केही भएको छ । तर, लोकतन्त्र आइसकेपछि त्यसलाई व्यवस्थापन गर्ने काम भएको छैन । हाम्रोमा सत्तापक्ष र प्रतिपक्षबीचमा गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने परिपाटीको विकास भएको छैन । यसले गर्दा पनि कतिपय हुनै पर्ने कुरा नभएजस्तो लाग्छ । सीप र क्षमतालाई लागु गर्ने काम भएन । पञ्चायत कालमा हामीलाई भन्दा बढी वामपन्थीलाई प्राथमिकता दिइयो, लोकतन्त्र मास्ने र बचाउनेबीच द्वन्द्व गराइयो ।
उति बेला महिलालाई राजनीति गर्न कत्तिको  सजिलो थियो ?
मैले पारिवारिक रूपमा त धैरै गाह्रो बेहोर्नुपरेन । परिवारको समर्थन भएपछि स्वाभाविक रूपमा सामाजिक रूपमा पनि सजिलै भयो । तर, आमरूपमा भन्ने हो भने त्यति बेला महिलाले राजनीति गर्दा पुरुषले राम्रो मान्दैनथे । पञ्चायतविरुद्ध बोल्दा यातना पाइन्थ्यो, जेल जानुपर्ने थियो । त्यस्तो अवस्थामा महिलालाई झनै गाह्रो थियो । अवस्था सहज थिएन तर त्यो
समयको पीडा पनि प्रेरणा हुँदो रहेछ । मैले सधैँ अगाडि हेरेँ, आलोचना वा समर्थनतिर पछाडि फर्केर हेर्दै हेरिनँ ।
बिहेपछि समस्या भएन ?
खासै समस्या भएन । किनकि, मैले जोसँग बिहे गरे उहाँ पनि नेपाली कांग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो र मलाई राम्ररी बुझ्नुभएको थियो । त्यसैले मेरो काममा पनि अवरोध, असहयोग
केही भएन ।
बिहे त ढिला गर्नुभएछ नि ?
हो, तीस वर्षको उमेरमा । म त बिहे नै नगर्ने सोचमा थिएँ । गरे पनि पञ्चायत फालेर मात्र गरौँला भन्ने थियो । त्यतिबेला जनमत संग्रह सफल भएको भए पनि म बिहे गर्दिनथेँ होला । जनमत संग्रह असफल हुनाले मेरो बिहेको संयोग पारिदियो । घरमा पनि सबैले कर गरे । मलाई बुझ्ने केटाको प्रस्ताव परिवारबाट आएकाले स्वीकार गरँे । उति बेला मजस्तो जेल बसेकी र राजनीति गर्ने केटीलाई स्वीकार गर्ने केटा पाउनु पनि ठूलो कुरा थियो ।
त्यति बेलाको बिर्सनै नसकिने घटना केही छ ?
जेजे भने पनि हामी महिलालाई कहीँ न कहीँ काम गर्न गाह्रो हुँदो रहेछ । प्राकृतिक रूपमा त हामी कमजोर नै छौँ नि, मलाई पनि गाह्रो भयो । ३९ सालको कुरो हो, मेरो नौ महिनाको छोरा थियो । वनकालीमा कार्यक्रम थियो, त्यहीँबाट म गिरफ्तार भएँ । पाँच/छ दिन हनुमान ढोकामा राख्यो । यता घरमा दूध खाने छोरा रातदिन रोएर हैरान भएछ । घरमा आएको त घरभेटीले बेस्सरी गाली गर्‍यो । मलाई त छोरा पनि नदिने भने । सबैले छोरा सानै छ, यसरी हिँड्नुहँदैन भने । जे होस्, आमा भएपछि गाह्रो नै हँुदो रहेछ । जति राजनीतिक चेतना भए पनि यस्तो कुराले समस्या बनाउँदो रहेछ । त्यही घटनाले होला, सत्याग्रहको बेलामा सबैले बच्चा छाडेर गिरफ्तारी दिने काम नगर्न भने र मैले गिरफ्तारी दिइनँ, पार्टीका अन्य काममा लागेँ ।
सुरुका दिनमा के हुँला भन्ने थियो ? जागिर खाऊँ जीवन व्यवस्थित बनाउँm भन्ने लागेन ?
निजी जीवनमा यसो गरौँला, उसो गरौँला भन्ने विचार कहिले पनि आएन । जब राजनीतिक चेतना भयो त्यसपछि यसबाहेक केही पनि सोचिएन । जागिर खाऊँ, पैसा कमाउँm भनेर लागेको भए सकिन्थ्यो, कुनै महाभारत थिएन । पिकेकै स्ववियु सभापति हुँदा पनि पञ्चायतका मान्छेले धैरै लोभलालच दिएका थिए । पढाइको अफर थियो, पैसाको अफर थियो तर मैले आफ्नो स्वाभिमानलाई बचाएँ । हुन त त्यति बेला पैसा ठूलै कुरो थियो । कमल राणा अहिले त छैनन्, उनले क्याम्पसभित्र एउटा कार्यक्रम गर्न देऊ भनेर कति प्रलोभन दिँदा पनि म यताउता भइन् । पञ्चायत फाल्न लागेको मान्छे, उसैलाई कसरी प्रोत्साहित गर्थें म ? कसैसँग सम्झौता गर्ने विचार नै भएन ।
लोकतन्त्र त नेतालाई मात्र आएजस्तो हुँदै छ नि ? जनताले त्यसको अनुभूति कहिले पाउँलान्, जनताका अगाडि धेरै झुट बोलेजस्तो लाग्दैन ?
झुट बोलेको होइन, दलहरूले आफ्नो लक्ष्य पूरा गर्न नसकेको हो । अलिकति त राजनीतिक अस्थिरताले पनि हो । एकाउन्न सालको सरकारपछि त झनै विकृति बढेर गयो । एकाउन्न सालको सरकारले गरेको राजनीतिक नियुक्ति र गाउँमा बजेट गएको देखेपछि सबैले पछ्याउँदै गए । हामी पनि त्यो धरातलमा फस्यौँ । यो फस्ने क्रम बढ्दै गयो, घट्ने काम भएन । फेरि हाम्रोमा काम राम्रो/नराम्रो भन्दा पनि मान्छे मन परेको वा नपरेको हेरेर मूल्यांकन गर्ने चलन छ । प्रतिपक्षले पनि राम्रो कुरालाई सहयोग र नराम्रो कुरालाई आलोचना गर्नुपर्ने हो नि, त्यस्तो छैन । यो सबै राजनीतिक स्थायित्व नभएकाले गर्दा भएको हो । एउटा सरकारले बनाएको योजना उसले पूरै नगरी छोडेर जानुपर्ने जुन परिपाटी छ, त्यसैले यो भएको हो जस्तो मलाई लाग्छ ।
कांग्रेसभित्रको कलह कहिलेसम्म जारी रहन्छ ?
नीतिगत कुरामा हाम्रो झगडा होइन । व्यक्तिगत महत्त्वाकांक्षाको टकराव हो । यो कांग्रेसमा मात्र होइन, सबैतिर छ । अवसर कसले लिने भन्ने लडाइँ हो यो । यो अन्त्य हुनुपर्छ । नेतृत्वमा जो गए पनि पार्टी चलाउने हो, राम्ररी चलाउनुपर्छ भन्नुभन्दा पनि म गएपछि राम्रो हुन्छ, म नै राम्रो छु भन्ने मानसिकताले कुरो बिगारेको छ । कांग्रेसले सबै जनताको भावना बुझ्नुपर्छ, सानातिना मतभेदमा अल्झिनुहँुदैन ।
मुलुक र जनताका लागि दिनुपर्नेजति सकिएन जस्तो लाग्दैन ?
लाग्छ नि, किन नलाग्नु ? हिजो जनताको लागि केके गरौँला भन्ने थियो । सकिएको छैन । आज राजनीति भनेको लुच्चालपंmगाले गर्ने कामजस्तो भएको छ । जनतामा वितृष्णा र अविश्वास छ । दु:ख लाग्छ, हिजोको जत्ति पनि सामाजिक सुरक्षा छैन । लुट्नु, मार्नु, काट्नु सामान्यजस्तै भएको छ । प्रतिबन्धित कालमा म भोटेबहालबाट बाह्र बजे राति एक्लै मेरो बत्तीसपुतलीको कोठामा जान्थँे, पुलिसबाहेक अरू केहीको डर लाग्दैनथ्यो । हिजो मान्छे ढुक्क हुने अवस्था थियो तर आज छैन ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया