हाइवेमा खाल्टाखुल्टी धेरै

काठमाडौं, ८ साउन । हाइवेमा ‘जिन्दगी’ पनि गुडिरहेको हुन्छ । निश्चित समयमा गन्तव्यमा पुगिए मात्र ‘जिन्दगी’ सार्थक बन्छ । यसैले हतारो पनि हुन्छ यात्रामा । प्रदर्शनमा रहेको नेपाली चलचित्र हाइवे तीनै हतारमा रहेका जीन्दगी बोकेर कुदिरहेको एक गाडी र यात्रीहरूको कथा हो । ती यात्री नेपाली समाजका प्रतिनिधि पात्र हुन्, जसको शरीर गाडीभित्रै रहँदा पनि मनचाहिँ गन्तव्यमै पुगिरेहेको हुन्छ । यो वास्तविक स्थितिलाई लिएर अघि बढेको
फिल्म अन्त्यसम्म पुग्दा भने फिक्का लाग्छ । नुन नपुगेको तरकारीजस्तो ।
चलचित्र उत्कृष्ट बनाउन विभिन्न आइडिया लगाइन्छ । फाइट, रोमान्स, सस्पेन्स, म्युजिक आदिलाई कथामा चिटिक्क पारेर फूलबुट्टा भरियो भने दर्शकको ताली आउने ट्रेन्ड छ । तैपनि, यही फर्मुलालाई पच्छ्याउँदै बनाइएका कति फिल्म दर्शक नपाएर खिसिक्क परिरहेका हुन्छन् अनि नयाँ प्रयोगका फिल्म खोज्छन् दर्शक । हाइवे पनि आफैँमा नयाँ प्रयोग त लाग्छ तर योसँग दर्शकलाई भनेझैँ बाँधिराख्ने सामथ्र्य भने देखिँदैन । हाइवेको कमजोरी भनेकै कुनै विशिष्ट कथामा बग्न नसक्नु हो । विभिन्न मनोदशा बोकेर हिँडिरहेका समाजका सबैजसो पात्रका कथालाई फिल्मले समेट्न खोज्छ तर ती कथाप्रसंगबीच राम्रो लिंकअप देखिँदैन । प्रत्येक पात्रलाई जबर्जस्ती जोड्न खोज्दा प्रस्तुति भद्दा हुन पुगेको छ । कतिपय पात्र समाजको यथार्थ प्रतिनिधिझैँ लाग्छन् तर तिनीहरू चलचित्रको कथामा कहाँ र कसरी जोड्न खोजिएका हुन्, अत्तोपत्तो छैन ।
इलामबाट छुटेको बसको गन्तव्य हुन्छ काठमाडौं । बसमा अनेक उद्देश्यका यात्रीका अन्तर्कथा जोडिएको हुन्छ काठमाडौंसित । तर, हाइवे बन्द भइरहन्छ । त्यो बन्दबाट छुटकारा पाउन लाहुरेले आइडिया झिक्छ, गाडीलाई बिहेको गाडीमा रूपान्तरण गर्ने । आफ्नो गन्तव्यमा पुग्न हतारिएका यात्रु लाहुरेको आइडियामा सहमत हुन्छन् । तीनै यात्रुमध्ये कोही बेहुलाबेहुली बन्छन् त कोही बाजा बजाउन थाल्छन् । संयोगवश त्यो गाडीमा बिहेमा बाजा बजाउने टोली पनि हुन्छ । विभिन्न अवरोध छेल्दै गन्तव्यमा पुग्ने बेलासम्म यात्रुहरू एकआपसमा नजिकिन्छन् । इटहरीमै झर्नुपर्ने ब्यान्डबाजा टोलीलाई अनुरोधमा काठमाडौं ल्याइपुर्‍याइएको हुन्छ । ती यात्रीका काठमाडौंसँग जोडिएको कथालाई फिल्मले उठाउँदै लैजान्छ । यात्राका क्रममा लिइएका विभिन्न सट विम्बात्मक लाग्छन् । जस्तै– जब काठमाडौंमा आशा मगरातीलाई बसले ठक्कर दिन्छ तब बसमा बेहुलीका रूपमा यात्रा गरिरहेकी पात्रको सन्नाटालाई फोकस गरिन्छ । यसले नारी संवेदनालाई प्रस्तुत गर्न खोजेको भान हुन्छ । यस्ता विम्बहरूको थुप्रै प्रयोग छ फिल्ममा । तर, एउटा ट्रेन्डमा हिँडेर
विशुद्ध मनोरञ्जनका लागि टिकट काटेका दर्शकले यसको दार्शनिक पाटोलाई विश्लेषण पक्कै नगर्लान् ।
फिल्ममा नारी–पुरुषका सम्बन्धलाई मनोवैज्ञानिक रूपमा केलाइएको छ । यौनमनोविज्ञान र यथार्थ सामाजिक चित्रणका लागि यी कुरा उपयोगी छन् । लोग्नेलाई एक्लो बनाएर छाडेर जाने नारीदेखि हुनेवाला लोग्नेलाई थाहै नदिई बेपत्ता हुने नारीसम्म मनोविज्ञानको झलक पाइन्छ फिल्ममा । लाहुर गएको श्रीमान्लाई धोका दिँदै परपुरुषको गर्भधारण गर्ने नारीदेखि ड्राइभर प्रेमीको नाममा देहव्यापार छोड्ने नारीसम्मको मनोविज्ञानलाई उठान गरिएको छ । स्वास्नीले छाडेर गएपछि विक्षिप्त बनेको लोग्ने कपडा पसलमा राखिएको आइमाई मान्छेको डमी हेरेर यौनकुण्ठा बिसाइरहेको हुन्छ । यसले यौनमनोविज्ञानलाई सशक्त ढंगले प्रस्तुत गर्न खोजेको देखिन्छ । यद्यपि, सो पात्रले फिल्मको कथासँग लिंक राख्दैन । यस्ता बेमेलका दृश्य थुप्रै छन्, जसले हाइवेको ओज घटाएका छन् ।
फिल्ममा देखाइएको ‘क्राउड सिन’ सबल पक्ष हो । सुटिङ हेर्न झुम्मिएका दर्शकजस्तो लाग्दैन भिड । त्यसबाहेक लोकेसन, साउन्डको पर्फेक्सनमा पनि फिलिम सक्षम छ । नयाँ कलाकारका रूपमा इन्ट्री मारेका केही अनुहारको अभिनय राम्रो देखिन्छ । डकुमेन्ट्री फिल्म बनाइरहेका निर्देशक दीपक रौनियारको निर्देशकीय खुबी विशिष्ट छ । समग्रमा हाइवेले चलचित्रशैलीको विशुद्ध मनोरञ्जन लिन जाने दर्शकभन्दा दार्शनिक र कलात्मकताका अनुरागीलाई मात्रै केही सन्तुष्टि दिनसक्ने देखिन्छ ।

प्रतिक्रिया